Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधहर्क साम्पाङ: खानेपानी आपूर्तिपछि ‘राजनीतिको परिभाषा बदल्ने’ धरानका मेयरको सङ्कल्प

हर्क साम्पाङ: खानेपानी आपूर्तिपछि ‘राजनीतिको परिभाषा बदल्ने’ धरानका मेयरको सङ्कल्प


काठमाडौं,स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरपालिकाको प्रमुख बनेका हर्क साम्पाङ राई आफ्ना अभिव्यक्ति र गतिविधिका कारण चर्चा र विवादमा आइरहने जनप्रतिनिधिमध्ये पर्छन्।

धरान बजार क्षेत्रबाट करिब ४५ किलोमिटर पश्चिम उत्तरमा रहेको कोकाहा खोलाको पानी धरानमा झारेपछि उनी यति बेला फेरि चर्चामा छन्। धरानमा पानी पुर्‍याएपछि आँसु झार्दै त्यही पानीले मुख धोएको उनको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्न पुग्यो।

कोकाहाको पानीबाट धरानमा खानेपानीको समस्या ३० प्रतिशत सम्बोधन हुने बताउँदै उनले स्थायी समाधानको निम्ति कोशी नदीको पानी ल्याउने योजना सुनाए।

धरानलाई खानेपानी खुवाउने चुनावी वाचा गरेका साम्पाङले खानेपानीका लागि श्रमदान अभियान मात्रै चलाएका छैनन्, आफैँ पनि श्रमदानमा सक्रिय छन्।

उनको अभियानलाई समर्थन गर्न धरानवासी मात्रै नभएर छिमेकी स्थानीय तह र जिल्लाका मानिसहरू पनि श्रमदानका लागि पुग्ने गर्छन्।
साम्पाङका अनुसार धरानवासीको खानेपानीको आवश्यकता पूरा गर्न दैनिक झन्डै दुई करोड लिटर पानी चाहिन्छ। खानेपानीको समस्या हिउँदमा बढी हुन्छ। उनका अनुसार हिउँदमा ५० लाख लिटर हाराहारी मात्रै खानेपानी आपूर्ति हुन्छ।

बीबीसी नेपालीका विराटनगर संवाददाता बिक्रम निरौलाले मेयर साम्पाङसँग कोकाहा खोलाको पानी धरान ल्याइपुर्‍याउँदाको अनुभूतिबारे सोधेका थिए।

पानी ल्याउन जङ्गलमै बास
बीबीसीसँगको कुराकानीमा साम्पाङले पानी ल्याउने अभियानका लागि आफू दुई रात जङ्गलमै बास बसेको अनुभव सुनाए।

“पानी लिएर मात्रै आउनुपर्‍यो भनेर दुई रात बसियो। पानी आइपुगेपछि बल्ल घर आइयो। नआएको भए म अहिले उतै हुन्थेँ,” उनले हाँस्दै भने।

एक वर्षको अवधिमा आफूले धेरै ढुङ्गामाटो बोकेको उनले सुनाए।

“हामी भात खाँदा मात्रै बलियो हुन्छौँ भन्ने छैन नि। बगरमा एक दिन सुत्नू त, तपाईँलाई भोकै लाग्दैन,” उनी फेरि हाँसे।
कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेका साम्पाङलाई आफ्ना निर्णयमा राजनीतिक दलहरूबाट निर्वाचित भएका जनप्रतिनिधिहरूको समर्थन जुटाउन चुनौती हुने गरेको छ। साम्पाङका कतिपय निर्णयहरूमा नगर कार्यपालिकाका सदस्यहरू नै विरोधमा देखिने गरेका छन्।

बीबीसीसँगको कुराकानीमा पनि उनले आफूलाई दलहरूबाट सहयोग नभएको गुनासो गरे।

“पब्लिक (सर्वसाधारण)बाट मलाई धेरै सहयोग छ, दलहरूबाट त मलाई शून्य सहयोग छ,” उनले भने।

धरानको तिर्खा मेट्न कोशीको पानी
साम्पाङका अनुसार कोकाहा नदी सुक्खायाममा सुक्ने किसिमको खोला नभए पनि त्यसले मात्रै धरानको तिर्खा मेट्दैन।

कोकाहाको पानी ल्याउन धरान पुर्‍याउन सहरबाहिरबाट पनि श्रमदानमार्फत् धेरै सहयोग भएको उनी सुनाउँछन्।

तर यस काममा सङ्घ र प्रदेशका सरकारबाट सहयोग नभएको साम्पाङले दाबी गरे।

यद्यपि कोशी नदीको पानी ल्याउने परियोजनामा सङ्घीय सरकारबाट बजेट विनियोजन भएको र माटो परीक्षणको काम भइरहेको उनले जानकारी दिए।
कोशीको पानी धरान पुर्‍याउन अझै केही वर्ष लाग्ने र करिब दुई अर्ब रुपैयाँ लागत लाग्ने आकलन छ।

“अरू पनि हेर्दैछु। कतै छेउछाउतिर छ भने अर्को सालतिर गर्नुपर्छ,” कोशी नदीको पानी आउनुअघि पनि आफू स्रोतहरूको खोजीमै रहेको उनी सुनाउँछन्।

‘म भावुक मान्छे हुँ’
कोकाहाको पानी धरान झर्दा साम्पाङको आँखामा आँसु बहेकोबारे जिज्ञासामा उनले धेरै जनाले असम्भव भनेको काम सफल हुँदा आफू भावुक बनेको बताए।

भिरको बाटो र टाढाको दूरी भएका कारण कोकाहाको पानी ल्याउन असम्भव हुने धेरै जनाले साम्पाङलाई सुनाएका थिए।

“धेरैले असम्भव भन्थे, त्यसलाई सम्भव बनाइयो। ती कुराहरू हेर्दा म त भावुक मान्छे हो नि । म त गीतकार मान्छे हो नि, तपाईँलाई थाहा छ कि छैन,” आफ्नो आँखाबाट आँसु झरेको प्रसङ्ग सुनाउँदा साम्पाङ हाँसे।
“म चाहिँ भावना धेरै भएको मान्छे हो क्या। त्यो हुँदाखेरी कहिले हाँसिन्छ कहिले रोइन्छ पनि, त्यसको पनि एउटा अर्थ हुन्छ। बिनाकाममा हाँस्नु पनि भएन रुनु पनि भएन,” उनी भन्छन्।

कोकाहाको पानी ल्याउँदा आफ्नो हातको औँलामा हथौडाले लागेर गितार बजाउन केही दिन रोकिएको साम्पाङले सुनाए।

“नत्र यो मुद्दाको विरुद्ध पनि एउटा गीत आइसक्थ्यो,” धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष रहेका साम्पाङले आफू विरुद्ध बोर्डका सदस्यहरूले उच्च अदालत विराटनगरमा दर्ता गरेको मुद्दाको प्रसङ्गमा भने।

हालै अदालतमा दर्ता भएको मुद्दामा सदस्यहरूले धरानमा खानेपानी आपूर्ति र वितरण गर्ने धरान खानेपानी बोर्डका अध्यक्ष साम्पाङले एकलौटी निर्णय गरेको आरोप लगाएका छन्।

अरू प्राथमिकता के छन्?
साम्पाङले खानेपानीपछि धरानको फोहोर व्यवस्थापनलाई आफ्नो प्राथमिकतामा राखेका छन्।“खानेपानी नम्बर एकको मेरो प्राथमिकता हो। दोस्रोमा फोहोर व्यवस्थापन, तेस्रोमा स्वास्थ्यलाई राख्छु, चौथोमा शिक्षालाई,” उनले भने।

धरान उपमहानगरपालिकामा उत्पादन हुने आधाजसो फोहोरलाई प्रशोधन गरेर ग्याँस र जैविक मल उत्पादन गर्ने कारखाना सञ्चालनमा छ।

तर बाँकी फोहोरका लागि व्यवस्थित ल्यान्डफिल साइट नहुँदा खोला र जङ्गल क्षेत्रमा फाल्ने गरिएको भन्दै उपमहानगरको आलोचना हुने गरेको छ।

नेताको परिभाषा बदल्ने अठोट
साधारण पोसाक र जीवनशैलीलाई आफ्नो परिभाषा बनाएका साम्पाङ सामाजिक सञ्जालमा आफ्ना अभिव्यक्तिलाई लिएर समय समयमा विवादमा पनि आइरहन्छन्।तर आफ्नोजस्तो साधारण जीवनशैलीलाई नै नेताको परिभाषा बनाउने आफ्नो अठोट रहेको उनले सुनाए।“यो देशको राजनीति र नेताको परिभाषा परिवर्तन गर्नका लागि म आएको हुँ।

त्यत्तिकै कार्यकाल गुजार्ने, यसो हिँड्ने, सुकिलोमुकिलो म होइन,” उनी भन्छन्।“म नेताको परिभाषा र राजनीतिको परिभाषा दुइटै परिवर्तन गरिछाड्छु। एक दुई वर्ष हेर्नुहोस्। नेता भन्नेबित्तिकै धुस्रैफुस्रे र असिनपसिन हिँड्नुपर्छ।”“चिल्लो चाप्लोलाई नेतै भन्दैनन्। माटो नछुने र ढुङ्गा नबोक्नेलाई त भोटै दिँदैनन्, अब एकदुई वर्ष पर्खिनू नि,” उनले हाँस्दै भने। (बीबीसी)


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया