Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारविश्व बैंकको सहयोगमा शिशुवा–सातमुहाने सडक स्तरोन्नति हुने

विश्व बैंकको सहयोगमा शिशुवा–सातमुहाने सडक स्तरोन्नति हुने


पोखरा । पोखरा महानगरपालिका वडा नं. ३० को शिशुवादेखि सातमुहानेसम्मको सडक स्तरोन्नति हुने भएको छ । सडक स्तरोन्नति गर्नका लागि विश्व बैंकले एक अर्ब रुपैयाँ सहयोग गर्ने भएको हो । सडक स्तरोन्नतिका लागि विश्व बैंकका अधिकारीहरूले गत मंगलबार सो रकम स्वीकृत गरेका थिए ।

सडक स्तरोन्नति गर्न पोखरा महानगरपालिकाको दुई महिनाअघि सम्पन्न कार्यपालिका बैठकले सहयोग माग्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम महानगरले विश्व बैंकसँग सहयोग मागेको थियो । त्यसपछि विश्व बैंकका प्रतिनिधिले सो सडकको अनुगमन गर्दै स्थानीय र सरोकारवालासँग छलफल गरेका थिए । पोखरा ३० का वडाध्यक्ष दुर्गा सुवेदीले मंगलबार सहयोग रकम स्वीकृत भएको विश्व बैंकका प्रतिनिधिले टेलिफोनमार्फत जानकारी गराएको बताए । अब छिट्टै सडक स्तरोन्नतिको प्रक्रिया अघि बढ्ने र बढीमा एक वर्षभित्रमा काम सम्पन्न गरिने वडाध्यक्ष सुवेदीले बताए । यस सडकका लागि आफ्नै पहलमा महानगरको कार्यपालिका बैठकले निर्णय गरेको र विश्व बैंकसम्म प्रस्ताव पुगेको उनले बताए ।

स्तरोन्नति गर्ने भनिएको सडकको अधिकांश भाग वडा नं. ३० मा पर्छ भने केही भाग वडा नं. ३२ पनि पर्छ । यस सडकखण्ड अहिले निकै जीर्ण छ । सातमुहानेसम्म सडक स्तरोन्नति भएपछि रुपा गाउँपालिका हुँदै लमजुङ जानेलाई निकै सजिलो पर्नेछ । यसले पृथ्वी राजमार्गको चापलाई कम गर्नेछ । रुपा गाउँपालिकातर्फको सडक यसअघि नै कालोपत्र र स्तरोन्नति भइसकेको छ । गण्डकी प्रदेश सरकारले रुपा गाउँपालिकाको पहलमा रुपा हुँदै लमजुङ जोड्ने सडकको स्तरोन्नति तथा कालोपत्र गरेको थियो । गाउँपालिकापट्टिको सडक स्तरोन्नति र कालोपत्र भएपछि शिशुवादेखि सातमुहानेसम्मको सडक पनि स्तरोन्नति गर्नका लागि स्थानीयले दबाब दिँदै आएका थिए ।


क्याटेगोरी : पालिका समाचार, महानगर
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया