कोरिया–नेपाल मोडेल डेरी भिलेज उद्घाटन, होलिस्टाइन जातको बाच्छी हस्तान्तरण
सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–५ मा कोरिया–नेपाल मोडेल डेरी भिलेजको उद्घाटन गरिएको छ । नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क तेइ योङ, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेल र कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले संयुक्तरुपमा उक्त भिलेजको मंगलबार उद्घाटन गरे ।
राससका अनुसार भिलेज उद्घाटनको अवसरमा किसानलाई नेपालमा पहिलोपटक जन्मिएको होलिस्टाइन जातको बाच्छी हस्तान्तरण गरिएको छ । गत वर्ष पुसमा हेफर इन्टरनेशनल नेपालको सहयोगमा यहाँका ५० परिवारलाई होलिस्टाइन जातका गाई वितरण गरिएको थियो । सोहीमध्ये गुणकुमारी घिमिरेले पालेको होलिस्टाइन जातको गाईले जन्म दिएको ‘गाम्सा’ नामक बाच्छी कोरियाली राजदूत योङ, मन्त्रालयका सचिव पौडेललगायतको उपस्थितिमा किसान उमा सुवेदीलाई हस्तान्तरण गरिएको हो । सो अभियानअन्तर्गत होलिस्टाइन जातका गाई प्राप्त गर्ने किसानले पहिलो बेतको बाच्छी उपहारस्वरुप अन्य किसानलाई दिनुपर्ने नियम छ ।
कोरियाली राजदूत योङले होलिस्टाइन जातको बाच्छी हस्तान्तरण र मोडेल डेरी भिलेज उद्घाटनका अवसरमा सहभागी हुन पाउँदा खुसी लागेको भन्दै सफलताको कामना गरे । “नेपाल र गणतन्त्र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवका अवसरमा बाच्छी हस्तान्तरण र मोडेल डेरी भिलेजको शुभारम्भ ऐतिहासिक र दुई देशबीचको सुमधुर सम्बन्धको सङ्केत हो”, उनले भन, “मोेडेल डेरी भिलेजले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउन सहयोगी भूमिका खेल्ने विश्वास छ ।”
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. पौडेलले मोडेल डेरी भिलेज एक वर्षको मेहनतको फल भएको उल्लेख गर्दै आगामी दिनमा सामूहिक सहकार्यमा जोड दिएर अघि बढ्न सुझाव दिए । होलिस्टाइन गाईबाट उत्पादन हुने दूधको बजारीकरण लगायतका लागि मन्त्रालय सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।
“कमलामाई नगरपालिकाका–४ र ५ मा जस्तै होलिस्टाइन जातका गाई अन्य स्थानमा पनि विस्तार गर्नुपर्छ । यसका लागि मन्त्रालय सहयोग गर्न तयार छ”, सचिव डा. पौडेलले भने, “दूधको बिक्री र दुग्घजन्य वस्तुको उत्पादन गर्नेगरी आवश्यक तयारी सुरु गर्नुपर्छ ।”
कमलामाई नगरपालिकाका प्रमुख पोखरेलले होलिस्टाइन जातको गाईपालन विस्तार गर्दै लैजाने र उत्पादित दूधलाई बजारीकरणका लागि नगरपालिकाले सहजीकरण गर्ने बताए । “कोरिया सरकार, हेफर इन्टरनेशनललगायत सङ्घसंस्था र स्थानीय किसानको प्रयासबाट मोडेल डेरी भिलेजको अवधारणाले मूर्तरुप लिएको हो”, उनले भने, “होलिस्टाइनजस्ता उन्नत जातका गाईपालनबाट यहाँका किसानको जीवनस्तर उकास्ने अपेक्षा गरिएको छ ।”
कमलामाई–४ र ५ मा हेफर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा सिन्धुली एकीकृत विकास सेवा नेपाल र लाभान्वित समुदायको सहकार्यमा दुग्ध क्षेत्र रुपान्तरण परियोजना सञ्चालन गरिएको हो । नेपाल सरकार र हेफरको माग तथा सक्रियता, कोरिया सरकार तथा हेफर कोरियाबाट नेपालको दुग्ध क्षेत्र रुपान्तरण गर्ने उक्त परियोजना गत आर्थिक वर्ष २०७९/८० देखि सुरु भएको हो ।
दुग्ध क्षेत्र रुपान्तरणका लागि कोरियाले नेपाल सरकारलाई प्रतिबेत १० हजार लिटरसम्म दूध उत्पादन क्षमता भएका गाईबाट जन्मेका एक सय शुद्ध होलिस्टाइन कोरली बाच्छी र आठ उच्च प्रजननमान भएका होलिस्टिन बहर उपलब्ध गराएको थियो । सोमध्ये कमलामाई नगरपालिकाका ५० किसानलाई ८० गाई वितरण गरिएका थिए ।
हाल ५० परिवारमा ती गाई वितरण गरिए पनि आगामी पाँच वर्षमा पाँच सय किसानलाई ती कोरली गाई वितरण गरिने छन् । कोरिया सरकारले गत वर्ष पुसमा एक सय बाच्छी र आठ बाच्छा उपलब्ध गराएको थियो । कृषि मन्त्रालयले बाच्छालाई चितवन, लहान, पोखरालगायत बिर्य उत्पादन केन्द्रमा पठाएको थियो भने ८० गाई किसानलाई वितरण गर्न सिन्धुली पठाएको थियो ।
क्याटेगोरी : पालिका समाचार, नगरपालिका
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया