Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारनगरपालिकाघाट पुग्ने सडक नबन्दा समस्या

घाट पुग्ने सडक नबन्दा समस्या


दोलखा । सदरमुकाम चरिकोटदेखि करिब ७ किलोमिटर दूरीमा रहेको भीमेश्वर नगरपालिका वडा नम्बर–२ र ३ पर्ने देउघाट पुग्ने पुरानो सडक अलपत्र परेको छ । सडक निर्माणको बारेमा भीमेश्वर नगरपालिकालाई पटक–पटक ध्यानकर्षण गराउँदा समेत चासो नदिएको स्थानीयको गुनासो छ ।

दोलखा बजारदेखि तीन किलोमिटरको छोटो पर्ने सडक मर्मतमा नगरपालिकासँग पटक–पटक बजेट माग गरे पनि नपाएको भीमेश्वर नगरपालिका–३ का स्थानीय सन्तोष थापाले बताए । ‘हिउँदमा समेत बाटो हिलाम्मे हुन्छ’, थापाले भने, ‘अन्य स्थानीय तहमा गाउँघरमा मान्छे हिँड्ने बाटो समेत ढलान भइरहँदा यहाँ भने सडक स्तरोन्नति गरेर घाट आवतजावत गर्न सहज बनाइदेऊ न भन्दा समेत नगरका जनप्रतिनिधिले सुन्दैनन् ।’ उनका अनुसार वर्षात्को समयमा झरेको पहिरोले चारैतिर बाटो अवरुद्ध बनेको छ । शव बोकेर जाने सवारीबीच बाटोमै रोकिन्छन्, पहिरो पन्छाउन थोरै रकम विनियोजन गर्न समेत स्थानीय सरकारले चासो नदिएको भीमेश्वर नगरपालिका–२ दोलखा बजारका स्थानीय राम श्रेष्ठले बताए । यहाँको देउघाटमा वडा नम्बर–३ सदरमुकाम चरिकोटको पुरानो बजार र वडा नम्बर–२ दोलखा बजारका स्थानीयको साझाघाट हो ।

हिजोआज घाटमा शव लिएर जाने सडक हिलाम्मे छ । घाटसम्म पैदल जान समेत समस्या रहेको श्रेष्ठले सुनाए । आफूहरूले स्थानीय, प्रदेश र संघका प्रतिनिधिलाई समेत घाटजाने बाटोको बारेमा सुनाए पनि कुनै सुनुवाई हुन नसकेको उनको गुनासो छ । करिब १० लाख बजेट भए घाट आवतजावत गर्ने सडक मर्मतसँगै सडक सरसफाइ र घाटलाई थप व्यवस्थापन गर्न सकिने स्थानीय राजेश श्रेष्ठले बताए ।


क्याटेगोरी : नगरपालिका
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया