Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिसत्ता गठबन्धन परिवर्तनको भित्री रहस्य !

सत्ता गठबन्धन परिवर्तनको भित्री रहस्य !


काठमाडौं । प्रधानमन्त्री प्रचण्डले बाध्य भएर कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ सत्ता गठबन्धन गरेका छन् । तर, प्रचण्डलाई त्यस्तो के बाध्यता प¥यो भन्नेचाहिँ खुलाएका छैनन् । आम निर्वाचनअघिदेखि नै सँगै हेलिकोप्टरमा उडेर माओवादीसँग मिलेर सरकार बनाउनुपर्ने पक्षको वकालत गर्ने र आम निर्वाचनपछि प्रचण्डले एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त हुँदा असाध्यै दुःखी हुने कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले समेत प्रचण्डले आफूहरूको कुनै पनि प्रस्ताव नमानेको गुनासो सार्वजनिक गरेका छन् ।

कोशी विद्रोहका नाइके डा. शेखर कोइरालाले चाहिँ प्रचण्डको यो कदमलाई असामान्य भनी टिप्पणी गरेका छन् । राष्ट्रियसभाको अध्यक्षको लागि धोतीपाटा फेरेर तयार भएका प्रचण्डलाई आदर्श पुरुष, दृढ विश्वासी एवं भरपर्दो नेता भनी सार्वजनिकरूपमा घोषणा गर्ने कांग्रेस नेता कृष्ण सिटौलाले घटना भएको चौबीस घण्टा बितिसक्दा पनि कुनै प्रतिक्रिया दिएका छैनन् तर सिटौला गुटका उत्तराधीकारी मानिएका प्रदीप पौडेलले चाहिँ पार्टी सभापति शेरबहादुर देउवाले सजगता नदेखाउँदा समीकरण फेरिएको प्रारम्भिक प्रतिक्रिया सार्वजनिक गरेका छन् ।
उनै प्रचण्ड नेतृत्वको सरकारले समातेर थुन्न प्रहरीलाई आदेश दिइसकेको अवस्थामा सौभाग्यवश पक्राउ पर्नबाट जोगिँदा पनि प्रचण्डप्रति सिटौलाको विश्वास डगमगाएको देखिँदैन ।

प्रधानमन्त्री प्रचण्डलाई गठबन्धन तोड्न लिस्नो लगाइदिने कांग्रेसका आलाकाँचा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि प्रचण्डको कदमप्रति मौन समर्थन गरेका छन् । यही फागुन ७ देखि १० सम्म गोदावारीमा सम्पन्न कांग्रेस महासमिति बैंठकमा महामन्त्री थापाले अगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने प्रस्ताव पेस गरेका थिए र त्यही प्रस्ताव सर्वसम्मतरूपमा पारित भएपछि १० महिनापछि सत्ता हस्तान्तरण गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डले चार वर्षपछिको निर्वाचनका लागि साझेदार हुनेगरी सत्ता समीकरण परिवर्तन गर्नुपर्ने अवस्था आएको थियो ।

महामन्त्रीद्वय थापा र शर्माले सभापति देउवालाई सत्तामा आउन नदिन हानेको जालमा अहिले सिंगो कांग्रेस परेको छ । प्रधानमन्त्री प्रचण्डले पनि किन सत्ता समीकरण बदल्नु परेको हो भन्ने कुरो खोलेका छैनन् । तर, कोशीमा कांग्रेसको शेखर समूहको विद्रोह, राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसको असहयोग, महासमिति बैठकमा माओवादीविरुद्ध लक्षित प्रस्ताव पारितबाट प्रचण्डले कांग्रेसको भर गर्न नसकेको आफूखुसी निष्कर्षले अहिले सामाजिक सञ्जाल भरिएको छ ।

स्वयम् प्रचण्डले चाहिँ आफूविरुद्ध लाग्ने प्रतिक्रियावादीलाई जुनसुकै बेला लात्ताले हान्ने प्रतिक्रिया दिएका छन् । आफू बाँचुन्जेल यस्ता अघिपछि कदम चाल्ने अमूर्त प्रतिक्रिया दिए पनि ठोस रूपमा यसै भएको हो भनेर केही बताएका छैनन् ।

अड्कलबाजहरूले चाहिँ अर्थमन्त्री डा. प्रकाश शरण महतले आफूलाई काम गर्न अफ्ठ्यारो पारेको, उनलाई हटाउन देउवाले रोकेको, मन्त्रिपरिषद् पुनर्गठन गर्न कांग्रेसले नदिएको, क्याबिनेटबाट यसो गर उसो गर भनेर देउवा दम्पतीले उठौतीपुठौती मात्र गर्न दबाब दिएको, कुनै पनि काण्डमा छानबिन गर्न नदिएको जस्ता आफूखुसी हल्ला पनि चलाइएका छन् । अर्थमन्त्री महत र प्रधानमन्त्री प्रचण्डबीच घ्यू बेचुवा र तरबार बेचुवाको सम्बन्ध रहँदै आएको थियो ।

चाइनिजले समीकरण फेरेको बजारीया हल्ला पनि चलेको छ । बूढानीलकण्ठतिर डेरा जमाएर बसेका एक चाइनिज सक्रिय भएको, राजदूत बोकेर रातभर दौडिएको, बाम एकता गराएको, चिनियाँ सुन तस्करको समूहले सत्तासमीकरण फेर्न लगानी गरेको हल्ला पनि उत्तिकै चलेको छ ।

योसँगै भारतीय पक्ष असफल भएको, अमेरिकी र युरोपेली पक्षले चिनियाँ पक्षलाई सघाएको जस्ता अपरिपक्व विश्लेषण पनि सार्वजनिक भएका छन् । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले चाहिँ सत्ता गठबन्धन परिवर्तनले प्रतिगमनको खतरा बढको बताएका छन् ।
सत्ता गठबन्धन फेर्दा माओवादी पक्षले थप सुविधा पाउने केही देखिएको छैन । संघीय सरकारमा गृह मन्त्रालय गुमाउँदै छ । कर्णाली प्रदेशबाहेक अरु सबै प्रदेशमा नेतृत्व गुमाउने अवस्था छ । सुन तस्करीमा जोडिएका वर्षामान पुनको हित रक्षाका लागि अर्थ मन्त्रालय पाउने कोसिस रहेको छ र सबैभन्दा ठूलो दलका कारण स्वाभाविक दाबी रहेको राष्ट्रियसभाको अध्यक्ष पाउने भएको छ ।

जब कि ती सबै दिन कांग्रेसले गरेको प्रस्ताव लत्याएर प्रचण्डले कसको आडमा सत्ता गठबन्धन परिर्वतन गरे भन्ने नै रहस्यको गर्भमा रहेको छ । कांग्रेस महामन्त्री गगन थापाले गतपुसमा भारतबाट फर्केपछि आगामी निर्वाचनमा गठबन्धन नगर्ने प्रस्ताव तयार पारेका थिए ।
प्रचण्डले सत्तासमीकरण परिवर्तन गर्दा पनि महामन्त्री थापाले भारतीय पक्षसँग बाक्लै उठबस गरिरहेका छन् । यहाँसम्म कि चिनियाँ पक्षले वाम एकताका लागि नयाँ सत्ता समीकरण बनाइदिएको बजारहल्ला चलिरहँदा सत्ता समीकरण बद(ल्नुभन्दा अघिल्लो रात प्रधानमन्त्री प्रचण्डले भारतीय गुप्तचारसँग लामो गोप्य वार्ता गरेको बताइएको छ । यसबारेमा दिल्ली सूत्रले कमान्डर पुरानै सिपाही परिवर्तन भन्ने जवाफ फर्काएको छ ।

ओलीसँगको सहकार्य छाडेर भारतलाई ‘कम्फर्टेबल’ सरकार दिन गठन भएको सत्ता गठबन्धन एक्कासि छाडेर प्रचण्डले किन सत्तासमीकरण परिवर्तन गरे भन्नेबारेमा कांग्रेस सभापति देउवाले सोमबार आफ्नै निवास बूढानीलकण्ठमा बोलाएका पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको संयुक्त बैठकमा यी सबै तर्क कुतर्कहरूको बिट मार्दै प्रचण्डले सत्ता गठबन्धन परिवर्तन गर्नुको कारण अर्कै रहेको बताएका छन् । तर, त्यो अर्कै कारणचाहिँ केही खुलाएका छैनन् ।

सोही दिन बसेको नयाँ सत्ता गठबन्धनको चार शीर्ष नेताहरूको बैठकले आठबँुदे सहमति सार्वजनिक गरेको छ तर सरकारको नेतृत्व प्रचण्डले गर्ने मात्र उल्लेख गरिएको छ । भद्र सहमति आधा–आधा भए पनि लिखितमा त्यस्तो केही उल्लेख छैन । माओवादीले दुई–दुई वर्षभन्दा पनि एमालेले नमानेको कुरा बाहिर आएको छ ।

यसले पनि देउवाको त्यो अर्कै कारणतर्फ संकेत गरेको छ । त्यो अर्कै कारण सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक (टीआरपी) पारित गराउन घुमाएर एमालेको कान समातिएको हो कि भन्ने आशंका गर्न थालिएको छ ।

अपारदर्शीरूपमा रहस्यमय ढंगले कांग्रेससँगको गठबन्धन तोडेर माओवादीले एमालेसँग किन नयाँ गठबन्धन ग¥यो र यो कहिलेसम्म टिक्ला भन्ने अहिले आम जिज्ञासा रहेको छ । टीआरसी विधेयक पारित नहुँदा माओवादी नेतृत्व कुनै पनि बेला जेल जाने सम्भावना जीवित रहन्छ । राजनीतिकरूपमा माओवादी स्खलित हुँदै गएको छ र सामाजिकरूपमा हत्या, लुटपाटबाट तस्करी र भ्रष्टाचारीमा रूपान्तरण हुँदै गएको छ ।
जनताले पत्याउने अथवा नरहेको देखेर कांग्रेसले चुनावमा नबोक्ने घोषणा गर्दा एमालेले टीआरसी विधेयक पास गर्न नदिँदा माओवादी नेतृत्व दोहोरो संकटको घेरामा परेको सहजै देखिन्छ । त्यसबाट उम्कन घुमाएर एमालेसँग कान समाउन पुगेको हो कि भन्ने मत प्रबल रहेको छ । जतिबेला विधेयक पारित भएर माओवादी उम्कन्छ, त्यसपछि उसले एमालेको कान समाउन छाडिदिन्छ । त्य(ितबेला यो प्रसङ्गको जालसाजी र बेइमानी छर्लङ्ग हुनेछ । त्यतिबेला पनि माओवादीसँग एउटै विकल्प बाँकी रहनेछ कि, ‘एमालेमा विलय कि एमालेसँग विद्रोह ।’


क्याटेगोरी : राजनिति
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया