Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारहराउँदै गए काठका ठेकी

हराउँदै गए काठका ठेकी


मन्थली (रामेछाप) । काठको ठेकी बनाएर रामेछापको मन्थली नगरपालिका–१३ फुलासीका धनबहादुर विश्वकर्माले जीविकोपार्जन गर्दै आएका छन् । उनी धेरै मेहनतका साथ रामेछाप र दोलखाको सिमानाबाट बग्ने मिल्ती खोलाको पानीलाई डोहो-याएर उच्च स्थानमा ल्याई त्यहाँबाट झरेको पानीको साहाराले काठमा जीवन्त कला भरेर काँचो काठलाई आकारमा ढाली पानीको सहायताले काठका ठेकी बनाउँछन् ।

उनले यो पेशामा धेरै दुःख गर्नुपर्ने भएकाले नयाँ पुस्ताले यो पेसाप्रति चासो दिनै छाडे । दिनभर काम गर्दा पनि राम्रो आयआर्जन नहुने भएपछि यो पेसा युवा पुस्ताले सम्हालेनन् र गर्ने अरुले पनि सबैले छोड्दै गएको बताए ।

धनबहादुरका अनुसार “हामीले बलकै भरमा परम्परागतरूपमा काम गरिरहेका छौँ । बाउबाजेले जसरी गरे, हामीले पनि त्यसरी नै काम गर्दै आएका छौँ । आधुनिक उपकरण खरिद गर्नका लागि स्थानीय सरकार तथा सरोकारवाला पक्षबाट सहयोग आवश्यक छ तर यो पेसा संरक्षणमा कसैको पनि सहयोग छैन ।”

परम्परागतरूपमा काठबाट बनेका ठेकी, पाथी र मानालगायत वस्तु लोप हुने अवस्थामा पुगेका छन् । काठबाट निर्मित कलात्मक तरिकाले कँुदिएका दूध दुहुने ढुङ्ग्रो, दही जमाउने ठेकी, अन्न भर्ने पाथी र माना तथा घ्यू जमाउने हर्पे, मोही पार्ने घुर्रोजस्ता वस्तु उत्पादन भएर त्यतिकै मात्रामा गाउँमा बिक्री हुने गरेको थियो । अहिले गाउँमा ती वस्तु लोप हुने अवस्थामा पुगेका छन् ।

पहिला प्लास्टिक, सिलाबर र स्टिलबाट बनेका ठेकीजस्ता भाँडा भेट्न मुस्किल हुन्थ्यो । तर अहिले जताततै प्लास्टिकका वस्तु प्रयोग भएकाले काठबाट बनेका वस्तु लोप हुन थालेको मन्थली नगरपालिका–१३ का ओमकार अधिकारी बताउँछन् ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश

तपाईको प्रतिक्रिया