Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारनयाँ सवारी साधन वीरगञ्ज भन्सारमै थन्किए

नयाँ सवारी साधन वीरगञ्ज भन्सारमै थन्किए


वीरगञ्ज । एक हजारभन्दा बढी सवारी साधन आयातकर्ताले जाँचपास गराएर नलगेपछि वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा थन्किएका छन् । बजारमा सवारी साधनको माग घटेको र बैंकले समेत विलासिताकोे वस्तुमा पर्ने सवारी साधन खरिदमा ऋण लगानी रोकेसँगै आयातकर्ताले नलग्दा सवारी साधन थन्किएका हुन् ।

भारतबाट आयात भएर आएका साना र ठूला गरी एक हजार नौ सय नौ सवारी साधन भन्सारमै थन्किएका छन् । आयात भएका कार/जीप छ सय २९, बस ३४, ट्रकका चेचिस आठ सय ४४, नयाँ चेचिस तीन सय ८६ र ट्र्याक्टर १० भन्सारमा थन्किएका छन् । आयात गरेका सवारी साधन व्यवसायीको शोरुम वा गोदममा हुनुपर्नेमा यसरी लामो समयसम्म थन्किँदा समस्या भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख डिल्लीराम पन्थीले जानकारी दिए ।

यसरी सवारी साधन थन्किनु राष्ट्रिय अर्थतन्त्रमा देखिएको मन्दीको प्रमुख कारण भएको प्रमुख पन्थीको भनाइ छ । आयातकर्तालाई गाडी छिटो लैजान र आइसीपीमा ठाउँ खाली गरिदिन आग्रह गर्दै आए पनि थोरै थोरै गरेर मात्र गाडी भन्सार जाँचपास गरेर लगिरहेको प्रमुख पन्थीले बताए ।

सरकारले विलासिताको वस्तु आयातमा रोक लगाएपछि वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलनसमेत प्रभावित भएको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० को हालसम्ममा लक्ष्यको ५९ दशमलव ८२ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

चालु आवको हालसम्ममा रु. दुई खर्ब चार अर्ब ९१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ५९ दशमलव ८२ प्रतिशत अर्थात् रु. एक खर्ब २२ अर्ब ५७ करोड राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिए ।

कार्यालयले गत आव २०७८/७९ मा लक्ष्यको ९३ प्रतिशत र आव २०७७/७८ मा लक्ष्यको ९७ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । चालु आवमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुने सम्भावना कम रहेको ढकालको भनाइ छ । समग्रमा आयात घट्नु, राजस्वमा बढी योगदान गर्ने वस्तुको आयातमा प्रतिबन्ध तथा एलसी खोल्नमा कडाइ पनि गरिएकाले राजस्व सङ्कलन घटेको जनाएको छ ।

“अहिलेको अवस्थामा सवारी साधन मात्रै नभई अधिकांश समानको बिक्री घटेको छ”, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य डा. सुबोध गुप्ताले भने । जति रकम तिरेर सवारी साधन आयात गरिएको छ, त्योभन्दा बढी राजस्व भन्सारमा तिर्नुपर्ने भएकाले पनि व्यवसायीले भन्सारमै सवारी साधन थन्क्याएको उनले बताए ।


क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश

तपाईको प्रतिक्रिया