Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधसाइबर सुरक्षाअर्बौको हुन्डी कारोबार गर्ने श्रेष्ठसँगै थप तीन जना पक्राउ

अर्बौको हुन्डी कारोबार गर्ने श्रेष्ठसँगै थप तीन जना पक्राउ


काठमाडौं । हुन्डी, अनलाइन जुवा, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबारमा संलग्न भएको आरोपमा काठमाडौं बागबजारका रूपेश श्रेष्ठ पक्राउ परेपछि थप तीनजना पक्राउ परेका छन् । यही मंसिर ६ गते पक्राउ परेका श्रेष्ठमाथि अनुसन्धान गर्ने क्रममा थप तीनजना पक्राउ परेका हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मीनबहादुर जिसी, आशिष अग्रवाल र कुमार परियारलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरूले श्रेष्ठसँग मिलेर अवैध कारोबार गर्दै आएका थिए । श्रेष्ठलाई ब्युरोले ९९ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । उनको घरबाट ८९ लाख ६९ हजार नेपाली रुपैयाँ र अमेरिकी डलर सात हजार २६ बरामद भएको थियो । पैसा गन्ने मेसिनसमेत घरमा फेला पारेको प्रहरीले अनुसन्धानका क्रममा श्रेष्ठले करिब दुई अर्बको हुन्डी कारोबार गरेको पुष्टि भएको जानकारी गराएको छ । उनको धेरैजसो कारोबार अमेरिकामा हुने गरेको छ ।

श्रेष्ठसँग मिलेर काम गर्ने गिरोहमाथि नै अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । प्रहरीका अनुसार सो कारोबारमा रूपेशकी श्रीमतीको पनि संलग्नता देखिएको छ तर हाल उनी फरार छिन् । प्रहरीका अनुसार श्रेष्ठले हुन्डीको कारोबार क्रिप्टोमार्फत मिलाउने गर्दै आएका थिए । धेरै आफन्त अमेरिका भएकाले उनको त्यहाँ धेरै कारोबार रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : साइबर सुरक्षा

तपाईको प्रतिक्रिया