Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकृषि विकासका लागि उन्नत बीउविजन

कृषि विकासका लागि उन्नत बीउविजन


काठमाडौं । आज विश्वभरि जनसंख्या वृद्धि भई आठ अर्ब नाघेको छ । यो जनभारलाई भरणपोषण गर्नका लागि कृषि विकासबाहेक अर्को विकल्प छैन । वस्तुतः मानव जीवनमा प्रत्यक्ष सरोकार राख्ने व्यवसाय कृषि हो । नेपालको झन्डै दुईतिहाइ जनता हालसम्म पनि उक्त व्यवसायमा आश्रित छन् । भौगोलिक बनोटको कारण नेपाल कृषि विकासको लागि पर्याप्त सम्भावना भएको देश हो । परन्तु, हाल यो देशलाई कृषिप्रधान देश भन्न पनि लाजमर्दो भएको छ । किनभने केही वर्षयता यहाँको कृषि उत्पादन नपुग भएकाले आयात बढिरहेको छ । एकातिर यहाँको कृषियोग्य जमिन प्रत्येक वर्ष मासिँदै र बाझिँदै गएको छ भने अर्कोतिर यहाँका ग्रामीण जनताको सहरतिर बसाइँसराइको कारण कृषि उत्पादन घट्दै गएको छ । आगामी दिनहरूमा पनि यस्तो अवस्था विद्यमान रहनेछ । आज जलवायु परिवर्तनले संसारका विभिन्न क्षेत्रमा गहिरो प्रभाव परेको छ । यसको सबैभन्दा बढी नकारात्मक प्रभाव कृषि क्षेत्रमा परेको छ । यस्तो परिवर्तनको कारण नेपाललगायत विश्वको सबैजसो देशहरूमा मौसम अनुकूलको खेती गर्ने अवस्था छैन । फलतः यी देशहरूमा कृषि उत्पादन घट्नु स्वाभाविक हो ।

हालसालै विश्व बैंकद्वारा प्रकाशित नेपाल विकास प्रतिवेदनअनुसार आगामी दिनहरूमा नेपालको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान घट्नेछ । वास्तवमा यहाँका ग्रामीण जनताको बढ्दो बसाइँसराइ, युवाहरूको विदेश पलायन, भू–क्षय, पानीको मुहान सुक्ने बढ्दो क्रम, जङ्गली जनावरहरूको बढ्दो प्रकोप, तराईमा सडक सिर्जित डुबानको समस्या आदि कारणहरूले यस्तो अवस्था भएको हो ।

विसं १९९४ मा नेपालमा कृषि विकास परिषद्को स्थापना गरिएको थियो । जसको प्रमुख उद्देश्य कृषि विकास गर्नु थियो । कृषिको समसामयिक सुधारको लागि विसं २०२१ पुस १ गते यहाँ भूमि सुधार ऐन लागू गरियो । जसबाट आशा गरेअनुरूप फाइदा हुन सकेन । विसं २०५२ मा यहाँ दीर्घकालीन कृषि नीति अपनाइयो । तर यसलाई व्यवहारमा उतार्न नसक्नाले कृषिमा ठोस विकास भएन ।

पछिल्लो समय यहाँ २० वर्षे (२०७२–२०९२) कृषि नीति अवलम्बन गरिएको छ । खाद्यान्नमा आत्मनिर्भर हुने, रोजगारी सिर्जना गर्ने, खाद्य तथा पोषण सुरक्षा गर्ने उक्त नीतिको प्रमुख उद्देश्य रहेको छ । परन्तु, यहाँको खेतीयोग्य जमिनमा उन्नत बीउविजनको प्रयोगविना उक्त उद्देश्य परिपूर्ति गर्न सहज छैन । किनभने उक्त बीउविजनको प्रयोगले कृषि उत्पादन तीन गुणासम्म वृद्धि गर्न सकिने कुरा एक अध्ययनले देखाएको छ । हालसम्म पनि नेपालका अधिकांश कृषकहरूले आफ्ना खेतीयोग्य जमिनमा रैथाने बीउबिजन प्रयोग गर्दै आएका छन् । यदि भविष्यमा यहाँको कृषि उत्पादन उल्लेख्यरूपमा बढाउने हो भने उनीहरूलाई उन्नत बीउविजनको व्यवस्था गरी प्रयोग गर्न उत्प्रेरित गर्न आवश्यक छ । तर कुनै पनि खेतीयोग्य जग्गामा लामो अवधिसम्म एकै किसिमका उन्नत बीउविजन प्रयोग गर्दा त्यहाँको उत्पादन क्षमतामा ह्रास आउने हुँदा किसानहरूलाई नयाँ बीउबिजन प्रयोग गर्न सचेत गराउन आवश्यक छ । यसो गर्न नसकेमा उन्नत बीउविजनको प्रयोगबाट ठोस फाइदा प्राप्त गर्न सकिँदैन । वस्तुतः नेपालमा आजसम्म पनि कुन जग्गामा कस्ता बीउविजन प्रयोग गर्न उपयुक्त हुन्छ भन्ने कुराको अध्ययन अनुसन्धान गर्न सकिएको छैन । त्यसैले, भविष्यमा यस सम्बन्धमा अध्ययन अनुसन्धान गरी यथोचित ठाउँमा यथोचित बीउविजन सिफारिस गरी किसानहरूलाई प्रयोग गर्न प्रोत्साहित गर्नुपरेको छ । यसो गर्न सकेमा भविष्यमा यहाँको कृषि उत्पादन वृद्धि भई देश खाद्यान्नका लागि आत्मनिर्भर हुनेछ र यहाँको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ । पर्याप्त सिँचाइविना उन्नत बीउविजन प्रयोग गरे पनि अपेक्षाअनुसार फाइदा लिन सकिँदैन । तसर्थ, सिँचाइ सुविधा नपुगेका यहाँका जग्गाजमिनमा लघु सिँचाइ, स्यालो टयुबबेल, लिफ्ट सिँचाइ र थोपा सिँचाइ आवश्यकताअनुरूप उपलब्ध गराउन जरुरी छ । यसैगरी, चन्द्र, गण्डक र जुद्धजस्ता पुराना नहरको मर्मतसम्भार गरी परिचालन गर्न नित्तान्त आवश्यक छ । नेपाली किसानहरूको आवश्यकताअनुसार सिँचाइ सुविधाहरू प्रदान गर्न ठूला सिँचाइ आयोजनाहरूले महत्वपूर्ण भूमिका खेल्छन् । परन्तु हालसम्म पनि यहाँ उक्त आयोजनाहरू सरकारले मात्र निर्माण गर्न सक्छ भन्ने गलत सोच छ । तसर्थ, यस्ता आयोजनाहरू आवश्यकताअनुरूप सम्पन्न गर्न सकिएको छैन । वास्तवमा यस्ता आयोजनाहरू आवश्यकताअनुसार यथाशीघ्र सम्पन्न गर्न निजी क्षेत्रको सक्रिय सहभागिताको आवश्यकता पर्छ । जसका लागि सरकारले उक्त क्षेत्रलाई आवश्यकताअनुसार सुविधा प्रदान गर्नु जरुरी छ । उन्नत बीउविजनहरू उपयुक्त किसिमबाट प्रयोग गरी अधिकतम प्रतिफल प्राप्त गर्न गाउँगाउँमा कृषि विकास कार्यालय खोली कृषकहरूको आवश्यकताअनुसार परामर्श दिन नित्तान्त आवश्यक छ । यसका लागि स्थानीय निकायहरूको भूमिका महत्वपूर्ण छ ।

नेपालको निर्यात व्यापारमा कृषिजन्य वस्तुहरूले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । भविष्यमा उन्नत बीउविजनको प्रयोग बढाउन सके कृषि उत्पादन वृद्धि भई उक्त व्यापार प्रवद्र्धनमा थप सघाउ हुनेछ । यद्यपि, यी वस्तुहरू निर्यात गर्न सहज छैन । त्यसैले समय र लागतको विश्लेषण गरी क्वारेन्टाइन चेकपोस्टहरू सम्बन्धित भन्सार कार्यालयहरू नजिक निर्माण गर्न नित्तान्त आवश्यक छ । यसो गर्न सकेमा भविष्यमा कृषिजन्य वस्तुहरूको निर्यात व्यापार अभिवृद्धि गर्न सहज हुनेछ र यहाँको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्नेछ । पर्याप्त लगानीविना नेपालको खेतीयोग्य जमिनमा उन्नत बीउविजन व्यापकरूपमा प्रयोग गर्न सम्भव छैन । किनकि उन्नत बीउविजनको परीक्षण गरी किसानहरूलाई सुपथ मूल्यमा वितरण गर्नका लागि विपुल धनराशी खर्च गर्न जरुरी छ । परन्तु, हालसम्म पनि यहाँ कृषि विकासको लागि छुट्याइएको रकम पर्याप्त नभएकाले भविष्यमा उक्त रकम कुल वार्षिक बजेटको न्यूनतम बीस प्रतिशत हुन नित्तान्त आवश्यक छ । यसका लागि सम्बन्धित पक्षको ध्यान यथाशीघ्र आकृष्ट हुन आवश्यक छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया