Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमहिलाको उपस्थिति राज्यको शक्ति

महिलाको उपस्थिति राज्यको शक्ति


काठमाडौं । जति धेरै महिला शिक्षित हुन्छन्, त्यति धेरै परिवार शिक्षित हुन्छन् । जति धेरै शिक्षित महिला राज्य सम्बद्ध निकायहरूमा प्रवेश गर्छन्, त्यति नै राज्यको शक्ति बलियो हुन्छ । महिला राज्यको शक्ति मात्रै होइन परिवारको शक्ति पनि हो । परिवारको शक्ति मात्रै होइन समाजको शक्ति पनि हो । परिवारको शक्ति, समाजको शक्ति, राज्यको शक्ति मात्रै नभएर सिर्जनाको शक्ति पनि महिला भएकाले नै पूर्वीय सभ्यताको आदि अनादि कालदेखि नै महिलालाई देवी, भगवती, काली, महाकाली, देवी सरस्वती, लक्ष्मी आदिले सम्बोधन गर्ने र पुज्ने ग्रन्थ तयार गरिएका र चलन चलाइएको रहेछन् ।

जुन घरमा महिला पुजिन्छन् त्यो घरमा ईश्वर पनि रमाउँछन् भन्ने हिन्दू ग्रन्थमा पाइन्छ । पञ्चकन्यालाई पुज्ने चलन पनि यही सन्देशको लागि चलाएको हुनुपर्छ । घरमा मात्रै नभएर राज्यमा नै महिला पूजनीय हुनुपर्छ भनेर सन्देश दिन जीवित देवी कुमारीलाई पुज्ने चलन नेपालको राजधानी काठमाडौंमा परम्पराको रूपमा स्थापित र विकसित भएको हुनुपर्छ । कतै महत्वपूर्ण भ्रमणमा विदाइ र स्वागतमा पञ्चकन्यालाई उभ्याउने परम्परालाई पनि नारी शक्तिलाई महत्वलाई जाहेर गर्ने कडीको रूपमा पनि बुझ्नुपर्छ । तर व्यवहारमा यसो भएन । महिलालार्ई घरमा, समाजमा, राज्यमा कानुनमा व्यवहारमा पूजनीय बनाइएन । नारी शक्तिको महत्व बुझिएन । महिला उत्पीडन र भेदभावका कुरा राज्यमा, समाजमा, परिवारमा जतात्यतै कहालीलाग्दा छन् । यस्ता सबैखाले भेदभाव र उत्पीडनहरू क्रमशः घटाउँदै सबै हटाउनु नै पर्छ ।

‘हरेक घरमा शिक्षित महिला राज्यका हरेक निकायमा हरेक क्षेत्रका आय उत्पादन सिप र अनुसन्धानमा महिला’को नारालाई महिला सशक्तीकरणको रणनीतिको सेवा गर्ने अभियानको रूपमा व्यवहारमा लैजानुपर्ने आजको अनिवार्य राष्ट्रिय आवश्यकता हो । हरेक क्षेत्रमा महिलाको सशक्त उपस्थिति आफैँमा राज्यको शक्ति हो भन्ने यथार्थ सबैले बुझ्नु पनि त्यतिकै राष्ट्रिय आवश्यकता हो । यो नारालाई व्यवहारमा नलगेसम्म कुनै पनि राष्ट्रले न गति लिन्छ न शक्ति नै प्राप्त गर्छ । नारी र पुरुषलाई समान तर नारीलाई थप प्राथमिकता र महत्व नीति र व्यवहारमा दिएर अघि बढेमा मात्र एकैपल्ट बहु क्षेत्रले शक्ति प्राप्त गर्छ । किनभने नारी आमा हुन सक्छिन् तर पुरुष कहिल्यै आमा हुन सक्तैनन् । हरेक आमा हरेक घरकी प्रथम पाठशाला हुन् । त्यसैले प्रथम पाठशालालाई थप प्राथमिकता र महत्व दिनुपर्छ भन्ने माग न यो पक्षपाति हो न विभेदकारी हो न नारीवादी हो । बरु यो मानवतावादी हो नारी, पुरुष, समाज, राष्ट्र सबैवादी हो । नारी सबै किसिमले शक्तिशाली हुनुपर्छ र पुरुषको सामथ्र्यले पार लगाउन नसक्ने काम पनि नारीले पार लगाउन सक्छन् । नारीहरू हर क्षेत्रमा पूजनीय बनून् र भइरहनुपर्छ भन्ने मान्यता नै पूर्वीय दर्शनको सार हो । माथि भनिएजस्तै युद्ध मोर्चाको नेतृत्व दुर्गा, चण्डी, महाकाली, भवानीको रूपमा प्रस्तुत गरिएको छ । बौद्धिक क्षेत्रको नेतृत्व सरस्वतीको रूपमा अघि सारिएको छ । आर्थिक र समृद्धिको नेतृत्व लक्ष्मीको रूपमा अघि सारिएको छ । प्रेम समर्पण त्यागको रुपमा सतिदेवी, पार्वती, सीताका कथाहरू अघि सरेका छन् । बौद्धिक क्षेत्रमा नेतृत्व दिने र क्षमता प्रदर्शन गर्ने प्राचीन विदूषी गार्गीको नाम जहिल्यै अग्रपङ्तिमा आइरहेको हुन्छ । धार्मिक दूतको रूपमा र विचार सम्प्रेषण प्रचार प्रसारको क्षमताको सम्मानित नाम भृकुटीको आइरहन्छ । यस्ता केही प्रतिनिधि नामहरू हुन् जसले महिलाले सबै क्षेत्र हाक्न सक्छन् सबै क्षेत्रमा क्षमता प्रदर्शन गर्न सक्छन् भन्ने पुरानो उदाहरण हामीसँग छ । आधुनिक नेपालमा पनि पृथ्वीनारायण शाहकी जेठी बुहारी राजा प्रतापसिंहकी विदुवा र बालक राजा रणबहादुरकी आमा राजमाता राजेन्द्रलक्ष्मीले राज्यको नेतृत्व लिएको र नेपाल एकीकरणमा योगदान दिएको उदाहरण हामीसँगै छ ।

तुलनात्मकरूपमा वर्तमान नेपालका अनेक क्षेत्रका तथ्याङ्कहरू केलाएर हेर्ने हो भने धेरै क्षेत्रमा महिलाहरूको समावेशी र उपस्थिति व्यापक मात्रमा सुधार भएको देखिन्छ । मेरा श्रीमान्ले सुनाएको सम्झन्छु– उहाँहरू आठ कक्षामा पढ्दा जम्मा २२ जना विद्यार्थी थिए अरे । जसमा २१ जना केटा र एक जना केटी । पछि ती केटी फेल भइछन् । ९ र १० मा केटी नै थिएनन् अरे । त्यो तेह्रथुम आठराई चुहान्डाँडाको तत्कालीन शारदा हाई स्कुलको सम्झना हो । त्यो गाउँ शिक्षामा धेरै अगाडि बढेको गाउँ मानिन्छ । जहाँ विक्रम संवत् २००० सालदेखि नै पाठशाला सुरु भएको थियो । हाई स्कुल २००७ सालको आसपासमा स्थापना भएको थियो भने वीरेन्द्र इन्टर कलेज २०१७ सालमा स्थापना भएको थियो । यद्यपि त्यो कक्षाबाहेक अन्य कक्षामा र नियमित पढ्ने स्कुलभरिमा त छात्राहरू उल्लेख्य नै रहेछन् । मेरी दिदी हरिलक्ष्मी ंिसंह बाहिनी माध्यमिक विद्यालयमा पढ्दा ९ र १० कक्षामा ७०जनाभन्दा बढी छात्रहरू थिए । तर छात्राहरूमा उनी एकजना मात्रै । यो २०३४–३५ सालतिरको सम्झना हो । सबै कक्षामा यस्तै नभए पनि त्यसबेला छात्र धेरै र छात्रा धेरै भएको अवस्थाको जाहेर हुन्छ । उक्त विद्यालय तेह्रथुम जिल्लाको सदरमुकाम म्याङलुङ बजारमा छ । अहिले समग्र विद्यार्थीको उपस्थितिमा केलाउने हो भने सहरी क्षेत्रमा छात्र र छात्रा बराबरी भेटिन्छन् । कतै त छात्रा नै बढी भएको पनि पाइन्छन् । ग्रामीण क्षेत्रमा पनि छात्राहरूको उपस्थिति यस्तै बलियो देखिन्छ ।

यस्तो उपस्थिति एकै दिनको क्रान्तिले सम्भव भएको होइन । क्रमशः चेतना, आवाज, अभियान, नीति र जागरणले महिला उपस्थितिमा सुधार भएको हो । २००७ सालको राजनीतिक परिवर्तनपछि महिला शिक्षामा क्रमशः सुधार भएको हो । पञ्चायतकालमा विद्यार्थीमा मात्रै होइन शिक्षक, कर्मचारीमा र केही राजनीतिमा पनि महिलाको उपस्थिति देखिन थालेको थियो । २०४६ सालको बहुदलीय व्यवस्थाको स्थापनापछि यो क्षेत्रमा झनै उल्लेख्य सुधार भएको हरेक क्षेत्रको तथ्याङ्कले देखाउँछ । २०५२ सालदेखि हिंसात्मक राजनीतिमा उदाएको माओवादीले त युद्ध मोर्चामा पनि धेरै युवा महिलाहरूलाई सामेल गरायो । त्यसको प्रभावले पनि हुनुपर्छ नेपालका तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा युवा महिलाहरूको उल्लेख्य उपस्थिति बढेको पाइएको छ । त्यसरी नै राजनीतिमा आएको जागरण हस्तक्षेप र नीतिको कारणले राजनीतिको नीति निर्माण तहदेखि प्रशासन क्षेत्रको माथिल्लो तहदेखि तल्लो तहसम्मका तथ्याङ्क हेर्ने हो भने विगतको तुलनामा आमूल परिवर्तन भएको मान्नुपर्छ । यसो हुनुमा समावेशीको राजनीति र हर क्षेत्रमा ३३ प्रतिशत महिला नीतिको महत्वपूर्ण योगदान छ ।

नेपालमा पछिल्लो संविधान बनेपछि महिलाले देशको सर्वाेच्च पद राष्ट्राध्यक्ष समेत पाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी यो पदमा दुई पटक कायम रहनु आफैँमा महिलाको इतिहास हो । त्यस्तै, सोही समयमा एकजना महिलाले सर्वोच्च अदालतको नेतृत्व गर्न पाउनु पनि महिलाको लागि गर्व गर्ने संयोग मान्नुपर्छ । तर वियोग के हो भने राम्रो काम गर्दागर्दै फोहरी राजनीतिको शिकार एक जना प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्की न्याय दिने सर्वोच्च निकायको सर्वाेच्च पदमा रहेको अवस्थामा नै अन्यायमा परेर समय नपुगी पद त्याग गर्नुपरेको तीतो महिला इतिहास पनि छ । कार्यकारिणी तह सरकारको नेतृत्व अर्थात् प्रधानमन्त्री भने नेपाली महिलाले पाउन अझै कति पर्खनुपर्ने हो । प्रदेश सरकारमा पनि सबै पुरुष नै मुख्यमन्त्री र प्रदेश प्रमुख भएका छन् ।

शिक्षामा आएको चेतना जागरण संख्या र गुणात्मक अवस्थामा आएको फेरबदल रूचि, नीति र अवसर समेतले गर्दा राज्यका अनेक तहका सानादेखि ठूला तहका पदमा महिलाहरू पुगेका धेरै उदाहरणहरू भेटिन्छन् । धेरै महिलाहरू शिक्षिका भएको पाइन्छ । त्यसपछि कर्मचारी, सेना, प्रहरी, बैंक, गैरसरकारी क्षेत्र सबैतिर संख्यात्मकरूपमा बढिरहेको पाइन्छ ।

िवश्वविद्यालयहरूमा पनि महिलाहरूको उपस्थिति राम्रै देखिन्छ । स्वास्थ्यको क्षेत्रमा लामो समयदेखि नर्स त महिलाहरूको एकाधिकारजस्तै थियो वा छभन्दा अत्युक्ति नहोला । पछिल्लो कालमा त डाक्टरहरूमा पनि महिलाहरूको उल्लेख्य मात्रामा उपस्थिति बढेको पाइएको छ । आकाशमा उड्ने महिला पाइलटहरूको संख्या पनि बढिरहेको छ । विमान परिचारिका त पहिलादेखि नै महिलाको एकाधिकार थियो । अर्को क्षेत्र खेलकुदको हो । यो क्षेत्रमा पनि महिलाहरूको उल्लेख्य सहभागिता बढिरहेको छ । अन्तराष्ट्रिय क्षेत्रमा पनि उपस्थिति दिन थालेका छन् । फुटबलकी सावित्रा भण्डारी माल्दिभ्स, भारत, इजरायल हुँदै युरोपका क्लबमा खेल्न पुग्नु आफैँमा सकारात्मक उदाहरण हो ।

पछिल्लो कालमा निजामती याने कर्मचारी क्षेत्रको उच्च तहमा धेरै महिलाहरू पुगेको समाचारले महिला जगत् उत्साहित हुनु स्वाभाविक हो । यसले निरन्तरता पाउनुपर्छ । पुरुष कर्मचारीको तुलनामा महिला कर्मचारीहरू भ्रष्टाचारमा कम मुछिएको समाचार आफैँमा सकारात्मक उदाहरण हो । यसले हरेक क्षेत्रमा महिला पहिलाको अभियानलाई बल दिन्छ । हर क्षेत्रमा महिला उपस्थिति आफैँमा महिला शक्ति हो । यो महिलाको मात्र शक्ति नभएर परिवार, समाज, राज्य र सिङ्गो मानव समुदायको नै शक्ति हो भन्ने सबैमा चेत आओस् ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया