Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्वका आधा आर्थिक गतिविधि प्रकृतिमा निर्भर : विश्व आर्थिक मञ्च

विश्वका आधा आर्थिक गतिविधि प्रकृतिमा निर्भर : विश्व आर्थिक मञ्च


एजेन्सी डावोस, माघ ७

विश्वको आधाजसो आर्थिक गतिविधि प्रकृतिमा निर्भर रहेको पछिल्लो एक अध्ययनले देखाएको छ । विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ)ले आइतबार जारी गरेको ‘नेचर रिस्क राइजिङ रिपोर्ट’ले उक्त तथ्य बाहिर ल्याएको हो । संसारको जैविक विविधतामा पुग्ने नोक्सान र जलवायु परिवर्तनले विश्वको अर्थव्यवस्था खतरामा पर्ने पनि उक्त अध्ययनले देखाएको छ । रिपोर्टअनुसार प्रकृतिमा विश्वको ४४ हजार अर्ब डलरको अर्थव्यवस्था निर्भर छ । यो विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को करिब आधा हो । मञ्चको ५०औँ वार्षिक बैठकअघि जारी गरिएको यो अध्ययनमा भनिएको छ, ‘मानवीय गतिविधिबाट विश्वको करिब २५ प्रतिशत वनस्पति र जीव प्रजातिलाई खतरामा तानेको छ । लाखौँ प्रजातिहरु विनाशको बाटोमा छन् ।’

चीन, युरोपेली संघ र अमेरिकामा आर्थिक हिसाबले प्रकृतिमा निर्भर उद्योगको संख्या सबैभन्दा धेरै छ । अध्ययनमा १ सय ६३ उद्योग क्षेत्र र तिनको आपूर्ति शृंखलाको विश्लेषण गरिएको छ । उक्त विश्लेषणबाट विश्वको लगभग आधा जीडीपी प्रकृतिमा वा त्यसबाट मिल्ने सेवामा निर्भर रहेको पाइएको छ । रिपोर्टअनुसार ४ सय ४० खर्ब अमेरिकी डलर बराबरको जीडीपी प्रकृति र यसको सेवामा आधारित छ । यस्तो अवस्थामा प्रकृतिमा हुने नोक्सानीले विश्व अर्थव्यवस्थामा पनि हानि पुग्ने देखिएको हो । करिब ४ हजार अर्ब डलरको निर्माण उद्योग, २ हजार ५ सय अर्ब डलरको कृषि उद्योग र १ हजार ४ सय अर्ब डलरको खाद्य तथा पेय उद्योग प्रकृतिमा निर्भर रहेको पाइएको छ । यसको कुल मिलाउँदा जर्मनीको अर्थव्यवस्थाको करिब दुई गुणासँग बराबर हुने अध्ययनमा उल्लेख छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया