Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयप्रतिनिधिसभामा राजीनामा र फिर्ता प्रकरण

प्रतिनिधिसभामा राजीनामा र फिर्ता प्रकरण


काठमाडौं । धेरै उतारचढावबाट गुज्रिरहेको जननिर्वाचित थलो प्रतिनिधिसभामा यतिबेला एउटा अस्वस्थ अभ्यास सुरु भएको छ । सदस्यता पदबाट राजीनामा दिने र आफैँले दिएको राजीनामा फेरि फिर्ता लिने । पाँच महिनामा दुई पटक विघटनमा परेको प्रतिनिधिसभा दुवै पटक पुनर्स्थापना भयो । पछिल्लो पटक पुनर्स्थापना भएपछिको समयमा त यो सभाले देशमा कम्तीमा पहिलो आवधिक निर्वाचनको पूरा समय उपभोग गर्ने अवसर निर्माण ग-यो । यो सभा आफैँमा एउटा ऐतिहासिक थियो ।

करिब दुई तिहाइको नेतृत्वले त्यसलाई टिकाउन नसकेर गम्भीर संकटमा पर्नथालेको बेला नयाँ परिस्थिति देखापरेको थियो । स्थिरतातर्फको त्यही बेला विघटनबाट जोगिएका सांसदहरूले सभाबाटै राजीनामा दिनेक्रम चलेको देखियो । त्यसो किन गरिँदै छ भन्ने प्रश्नले उत्तर पाउँदा नपाउँदै फेरि आफैँले दिएको राजीनामा आफैँ फिर्ता गर्न थालियो । यो भनेको जननिर्वाचित संस्थामा खेलबाड नै हो ।

एकजना सांसदले साउनको पहिलो साता राजनीतिक दलका शीर्ष नेतामा स्वेच्छाचारिता बढेको भन्ने आरोप लगाएर त्यसको प्रतिकात्मक विरोध गर्न भनी कारण देखाएर राजीनामा दिए । व्यक्ति जो हुन्, उनको यो राजीनामाको चर्चापरिचर्चा चलिरहेकै बेला अर्का पनि सांसद राजीनामा लिएर प्रकट भए ।

यो दोस्रो राजीनामाको चर्चा चलिरहेका बेला पहिलोेले भने आफ्नो राजीनामा नै फिर्ता लिए । यता राजीनामा दिँदाको समयमा उनले देखाएको कारण भने यथावत नै छ । उनले त्यसबेला भनेका थिए, ‘राजनीतिक नेतृत्वबाट देश र जनतालाई अनेकौँ पीडा र अनिश्चयको दिशातर्फ धकेल्ने किर्ते काम हुँदै गयो, नेपाल र नेपालीहरूको शिर निहुरिँदै गएको छ, राजनीतिक वृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पदलिप्सा तथा विधि र पद्धतिलाई आफ्नो उचित एवं निहित स्वार्थका लागि मिच्दै अत्यन्त स्वेच्छाचारी र निरंकुश तरिकाले काम गर्ने अनैतिक चरित्रको घृणित अभ्यास भइरहेको छ, पछिल्लो समय प्रतिनिधिसभाको विघटनदेखि पुनर्स्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश जनता र पार्टीको हितभन्दा निजी स्वार्थ अहम्, प्रतिशोध चरित्र रहेको स्थितिमा अनैतिक राजनीतिक तथा देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा यसबाट अलग हुनु श्रेयस्कर भएकाले उक्त प्रकारको दूषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको छु ।’

उनको यो राजीनामा जुन परिस्थितिमा जो–जसमाथि जे–जस्तो परिस्थितिमा आयो त्यो यथावत नै रहेको बेला यो राजीनामाको हप्तादिन पनि नबित्दै फेरि त्यसलाई फिर्ता लिने काम भयो । एक पटक दिइसकेको राजीनामा फिर्ता हुन्छ कि हुँदैन भन्ने कानुनी सवालहरू आफ्नो ठाउँमा होलान् तर जे कारणले यस्तो राजीनामा दिइएको थियो त्यो स्थिति बदलियो त ? भन्ने प्रश्न उठ्छ नै । यो पद कुनै व्यक्तिको लहडबाट चल्ने हेइन । त्यसरी चलाउन खोजियो भने त्यो दुरुपयोग हुन्छ । राजीनामा दिँदा र त्यसलाई फिर्ता लिँदाको यो पाँच दिनमा कुनै ठूलै कुराको लेनदेन भएको छ भन्ने त यो घटनाले नै बुझाउँछ ।

जनताले निर्वार्चित गरेका पदहरूमा यस्तो कुनै पनि प्रकारको लेनदेन गर्न मिल्दैन । यो ठाउँमा राजीनामाको नाटक गर्ने सदस्यले मात्र होइन सार्वजनिक आरोप लागेको नेतृत्वले पनि जवाफ दिनुपर्छ । माथि उल्लिखित आरोप धेरै गम्भीर छन् । राजीनामा गर्दासम्म तिनको एउटा अवस्था बन्थ्यो भने फिर्ता लिँदा त्यो लेनदेनको विषय भइसकेको छ । त्यसकारण पनि यो निरुत्तरित रहन हुँदैन ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया