Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारओपेकको निर्णयले विश्व अर्थतन्त्रलाई मन्दीमा लैजाने आईईएको चेतावनी

ओपेकको निर्णयले विश्व अर्थतन्त्रलाई मन्दीमा लैजाने आईईएको चेतावनी


अमेरिका । पश्चिमा देशहरु कच्चा तेल निर्यात गर्ने देशको समूह (ओपेक प्लस)सँग चिढिएका छन् । गत हप्ता कच्चा तेल उत्पादन कटौती गर्ने निर्णय गरेका कारण पश्चिमा देश ओपेक प्लससँग रुष्ट बनेका हुन् ।

अन्तर्राष्ट्रिय ऊर्जा संस्था (आईईए)ले भने मूल्य बढाउन गरिनलागेको कटौतीले विश्व अर्थतन्त्रलाई मन्दीमा डो-याउने चेतावनी दिएको छ । यसअघि नै बढेको महंगी, ब्याजदरमा भएको वृद्धिसँगै तेलको मूल्य बढ्दा त्यसले धराशायी बनिरहेको विश्व अर्थतन्त्रलाई मन्दीमा लैजाने आईईएको भनाइ छ । बिहीबार संस्थाले तेल बजारसम्बन्धी मासिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

अर्को वर्ष तेलको मागमा २० प्रतिशतभन्दा धेरैले कमी आउने पनि उसले जनाएको छ । अन्तर्राष्ट्रिय मुद्राकोषले यसअघि नै धेरै मानिसले सन् २०२३ मा मन्दीको अनुभव गर्ने बताएको छ । उसले विश्व आर्थिक वृद्धिदर अनुमान पनि ३.२ प्रतिशतबाट घटाएर २.७ प्रतिशतमा झारेको छ । साउदी अरेबिया र अन्य मुख्य तेल उत्पादकले आपूर्ति कटौती गर्दा विश्वमा तेलको सञ्चिति घट्ने र मूल्य बढ्नेछ । त्यसले ऊर्जा सुरक्षामा जोखिम निम्त्याउने आईईएको भनाइ छ ।

ओपेक प्लसले तेल उत्पादन प्रतिदिन २० लाख ब्यारेलको दरले कटौती गर्ने निर्णय गरेको छ । त्यो भनेको विश्व तेल मागको दुई प्रतिशतजति हो । यसले साउदी अरेबिया र अमेरिकाबीच दूरी बढाउनेछ । अमेरिका ओपेक प्लसको सदस्य रुससँग साउदीले साँठगाँठ गरेको यसअघि नै आरोप लगाइरहेको छ ।

गत हप्ता अमेरिकी राष्ट्रपति जो बाइडेनले त यही अवस्थामा साउदीसँगको सम्बन्धबारे पुनर्विचार गर्ने बताइसकेका छन् । तर ओपेक प्लसले भने बजार स्थिरताका लागि उत्पादन कटौतीको निर्णय लिएको उल्लेख गरेको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया