काठमाडौँ । नेपाल कृषिप्रधान देश हो । जनसंख्याको ठूलो प्रतिशतको गुजाराको माध्यम कृषि नै हो । तर राज्यको आँखा भने यो क्षेत्रमा परेको पाइँदैन । यो क्षेत्रका लागि वा यसको विकासका लागि राज्य कहिल्यै पनि तयार भएन । भन्नेबेलामा चाहिँ कृषि विकासका लागि धेरै कुरा प्राथमिकतामा राखिएको भनिन्छ । तर आवश्यकता परेको बेला ती वस्तु उपलब्ध हुँदैनन् । न सिँचाइ छ, न चाहिएको बेला बीउबिजन र मलखाद पाइन्छ । यस्तो कठिन परिस्थिति पार गर्दै उत्पादन भइहालेका वस्तुले बजार पाउँदैनन् पाए भने मूल्य पाइँदैन ।
यो कुनै एउटा वस्तुको मात्र होइन हरेकमा त्यस्तै छ । किसानले उत्पादन गरेको उखुको बिक्रीको रकम प्राप्त गर्न वर्षैपिच्छे आन्दोलन गर्नुपरेको अवस्था प्रत्येक वर्षका नियमित कामजस्तै भइसकेका छन् । त्यही क्रममा अहिले चितनवनका तरकारी उत्पादक किसानले बाटोमा तरकारी फालेर देशको ध्यानाकर्षण गरेका कुरा आयो । यस्ता दुःखद दृश्य सामान्य भइसकेका छन् ।
चितनवनका किसानको यो आक्रोशपूर्ण र दुःखद सन्देश दिने कामलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका माग सम्बोधन गर्न भन्दै एउटा निर्देशन दिए । आफ्ना उत्पादनले उचित मूल्य नपाएको भन्ने तरकारी उत्पादक किसानको माग हो । यसबारेमा भेरै पटक गुनासो गर्दा पनि सुनुवाइ नभएपछि चितवनका किसान आफ्ना उत्पादन सडकमा फालेर यो रूपमा आन्दोलनमा उत्रिएका हुन् । त्यसपछि बल्ल प्रधानमन्त्रीले कृषि तथा पशुपन्छी मन्त्रालयको ध्यानाकर्षण गराए ।
यो मन्त्रालय आफैँले पनि यी दृश्यहरू देखिरहेको थियो तर आफैँ केही सम्बोधन गर्ने पक्षमा देखिएन । गएको शुक्रबार चितवनका किसानले यो रूपमा तरकारी र अन्य कृषिजन्य उत्पादले उचित मूल्य नपाएको भन्दै सडकमा फालिरहँदा कृषि तथा पशुपन्छी विकासमन्त्री संयोगवश चिवतनमै रहेको पाइयो । तर उनले ती किसानसँग सम्पर्क समेत गरेको भन्ने कतै जानकारी आएन । त्यसपछि प्रधानमन्त्रीले सरोकारवाला किसानहरूसँग छलफल गरी त्यसको जानकारी आफूलाई गराउन कडा निर्देशन दिएको भन्ने प्रधानमन्त्रीको सचिवालयले नै जनाएको हो ।
टेलिभिजनमा आएका दृश्यहरूअनुसार त्यसबेला धेरै ठूलो मात्रामा तरकारीहरू सडकमा फालेर नष्ट गरिएका थिए । तयारी भइसकेका वस्तु यसरी नष्ट गर्नु आफैँमा एउटा ठूलो नोक्सानी हो । आफ्ना पीरमर्का सरकारलाई सुनाउन यस्तो नोक्सानी व्यहोर्न किसान तयार भएको अवस्थाले पनि उनका पीडाको मात्रा निर्धारण गर्छ । दुध सडकमा पोखिन्छ । ‘मिल्क होलिडे’ त नियमितजस्तै भइहाल्यो । धानको भाउ नपाएर किसानहरूले अर्को वर्ष यो बाली नलगाउने भनेर प्रत्येक वर्ष भन्दै आउनुपरेको छ ।
किसानका नामको अनुदान सहुलियत समेत पहुँचवालाले पचाइदिने गरेका समाचार आइरहेका हुन्छन् । यी सबै दृश्यहरूलाई एक ठाउँमा राख्दा वास्तवमा नै कृषिक्षेत्र कति अपहेलित भइरहेछ भन्ने देखिन्छ । जुनबेला कृषकलाई सरकार चाहिने हो त्यो बेला ऊ आफैँ गायब हुन्छ । भैपरी आएर पशुपालक किसानले हारगुहार गर्दा त्यसको कतै सुनुवाइ हुँदैन । यस्तो क्रम बढ्दै जाँदाको परिणाम हो चितवनको तरकारी खबरदारी । आफूले बेचेको बालीको भुक्तानी माग्दामाग्दै उखुकिसानको ज्यानै गएको देश हो यो ।
चितवन किसानले सडकमा पोखेका तरकारीले चाहिँ के गर्छ हेर्न बाँकी छ । तर विगतका घटनाले नै बताइरहेका छन् यो घटना पनि अरुजस्तै केही दिनको चर्चापछि सेलाउनेछ । त्यस्तो नहोस् भन्ने कामना हो ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- फाइनल प्रवेशका लागि रियल र बार्यन भिड्दै
- बुढ्यौलीमा चोटसँग जुधेर खेलिरहेका धोनी
- प्रमुख प्रतिपक्षीले उठाएका विषयवस्तुप्रति सरकारले बेवास्ता गरिरहेको छ – प्रमुख सचेतक लेखक
- सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक :पूर्वअर्थमन्त्री खतिवडा
- मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व संकलन
- यी हुन आज शेयर बजारबाट सबैभन्दा धेरै कमाउने दश कम्पनी
- औद्योगिक विकासतर्फ अग्रसर हुन घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ: राष्ट्रपति पौडेल
- सिन्धुली चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण थालनी गर्न प्रधानमन्त्रीसँग माग
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया