Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसबै दललाई समेटेर सरकारलाई पूर्णता दिने : मुख्यमन्त्री शाह

सबै दललाई समेटेर सरकारलाई पूर्णता दिने : मुख्यमन्त्री शाह


धनगढी । शुक्रबार सरकारले पूर्णता पाउने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन् । शाहले सत्तारुढ गठबन्धनमा आवद्ध सबै दललाई समेटेर सरकारलाई पूर्णता दिने बताए । शुक्रबार प्रदेश सरकार गठन भएको सय दिन पुगेको सन्दर्भमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले पूर्णता पाउन लागेको जानकारी दिएका हुन् ।

“सत्ता गठबन्धनमा रहेका सबै दल सरकारमा सहभागी हुने विश्वास मलाई छ”, उनले भने, “आज साँझसम्म मन्त्रिपरिषद्ले पूर्णता पाइसक्छ ।” यो अवधिमा राजनीतिक एवं शासकीय दृष्टि र दिशानिर्देशको दृष्टिबाट सफल रहनुलाई सरकारले मुख्य उपलब्धि मानेको छ ।

सरकार प्रणाली सुधार गर्नमा केन्द्रित भएको र विकासको प्रत्याभूति दिलाउन क्रियाशील रहेको बताएका शाहले पहिलो चौमासिकमा १४ प्रतिशतमा न्यून रहेको बजेट खर्चको दर बढाएर ३३ प्रतिशत पुगाइएको उल्लेख गरे । भौतिक पूर्वाधार विकासतर्फ २२ किलोमिटर सडक कालोपत्रे, ७५ किलोमिटर ग्राभेल, ३ वटा पुल, एउटा झोलुंगे पुल निर्माण र ३६ वटा खानेपानी योजना सम्पन्न गरिएको उनले उपलब्धि प्रतिवेदनमा उल्लेख गरेका छन् ।

पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा र आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले पनि पत्रकारका जिज्ञासाको जवाफ दिएका थिए । प्रदेशसभामा सत्ता गठबन्धन नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता खगराज भट्टले सरकारका सय दिन उपलब्धिपूर्ण रहेको बताए । उनले भने, “सानातिना समस्याले गठबन्धनलाई कुनै असर पर्दैन, यो गठबन्धन लामो समयसम्म जानेछ ।”

शाह नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । संविधानबमोजिम एक महिनाभित्र प्रदेशसभाबाट उनले सजिलैसँग विश्वासको मत पाएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया