Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा लगानी गर्न दक्षिण कोरियालाई चेम्बरको आग्रह

नेपालमा लगानी गर्न दक्षिण कोरियालाई चेम्बरको आग्रह


काठमाडौं । नेपालमा लगानी गर्न दक्षिण कोरियासँग नेपाल चेम्बर अफ कमर्सले आग्रह गरेको छ । नेपालका लागि दक्षिण कोरियाली राजदूत थेयङ् पार्कसँगको भेटमा चेम्बरका पदाधिकारीहरूले यस्तो आग्रह गरेका हुन् । चेम्बर भवनमा भएको भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले औद्योगिक एवं व्यापारिक सहकार्य अभिवृद्धि गर्न आग्रह गरेका हुन् ।

‘दुई मुलकबीचको कूटनीतिक सम्बन्ध ५० वर्ष पुग्न लागेको छ । लगानी वृद्धि र व्यापारिक साझेदारीमार्फत आपसी सहकार्यलाई थप बलियो बनाउन आवश्यक छ’, उनले भने । नेपालको जलविद्युत्, पूर्वाधार क्षेत्र, पर्यटन एवं प्रविधिको क्षेत्रमा लगानीको वातावरण बनाउन नवनियुक्त राजदूत पार्कसँग उनले आग्रह गरे । भारत, बंगलादेशजस्ता देशमा नेपालको विद्युत्को उच्च माग रहेको भन्दै उनले लगानी प्रतिफलको सुनिश्चितता समेत गरेका थिए ।

दुई मुलुकबीच हवाई सञ्जाल विस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लले राजदूत पार्कको ध्यानाकर्षण गराए । उनले भने, ‘हवाई सञ्जाल विस्तार गरेर दुवै देशमा पर्यटकीय गतिविधि बढाउन सकिन्छ, यसले गर्दा कोरियामा रहेका नेपाली कामदारलाई पनि थप लाभ मिल्नेछ ।’ अध्यक्ष मल्लले घरेलु, हस्तकलालगायत साना र मध्यमखाले उद्योगमा लगानी गर्न राजदूत पार्कलाई आग्रह गरे । सेवा क्षेत्र, पर्यटन, कृषिलगायत नेपालका विभिन्न आयोजनामा दक्षिण कोरियाले हाल १२ अर्ब ८१ करोड रुपैयाँ लगानी गरेको छ । जसबाट १२ हजारभन्दा बढीले रोजगारी पाएका छन् । यस्तै, कोरियाबाट यो वर्ष ११ हजार पर्यटक भित्रिएका छन् ।

नवनियुक्त राजदूत पार्कले आफ्नो कार्यकालमा नेपालसँगको कूटनीतिक र आर्थिक सम्बन्धलाई थप बलियो बनाउने प्रतिबद्धता जनाए । उनले भने, ‘नेपाल र कोरियाको सम्बन्ध ५० औँ वर्षमा पुग्दैछ ।’ नागरिक नागरिकबीचको सम्बन्धलाई अझ दिगो बनाउन आफूले भूमिका निर्वाह गर्ने पार्कले बताए । नेपालमा उत्पादन हुने सबै वस्तुहरू वातावरणमैत्री भएको भन्दै उनले यहाँ उत्पादित बस्तुहरू आफ्नो मुलुक भित्र्याउनका लागि पहल गर्ने समेत बताए । दुई मुलुकबीच एक अर्कालाई थप चिन्नका लागि ५० औँ वर्षगाँठका अवसरमा संयुक्त सांस्कृतिक कार्यक्रम गर्न आफूले पहल गर्ने राजदूत पार्कले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया