Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबंगलादेशमा ‘नेपाल प्रवर्द्धन’

बंगलादेशमा ‘नेपाल प्रवर्द्धन’


काठमाडौँ । नेपालको पर्यटकीय सम्भावना उजागर गरी बढीभन्दा बढी बङ्गलादेशी नागरिकलाई आकर्षण गर्ने उद्देश्यले बङ्गलादेशमा ‘नेपाल प्रवर्द्धन’ कार्यक्रम गरिएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पाटा बङ्गलादेश च्याप्टरसँगको सहकार्यमा ‘क्रस बोर्डर टुरिजम विथ नेइबर’ नामक पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम गरेको हो ।

बङ्गलादेश टुरिज्म बोर्ड, बङ्गलादेश पर्यटन कर्पोरेसन र पर्यटनसँग सम्बन्धित सबै संघसंस्थाको सहकार्यमा यही भदौ नौदेखि १३ सम्म बङ्गलादेशको राजधानी ढाका र कोक्स बजारमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको पाटा नेपालले विज्ञप्तिमार्फत जनाएको छ । छिमेकी देशबीचको अन्तरदेशीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रममा नेपाल, भारत र बङ्गलादेशका सार्वजनिक र निजी पर्यटन क्षेत्रका सरोकारवाला गरी करिब दुई सय ५० को सहभागिता थियो । उक्त कार्यक्रम पाटा बङ्गलादेश च्याप्टरका अध्यक्ष शाहिद हमिदको निमन्त्रणामा पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरको नेतृत्वमा १३ नेपाली पर्यटन प्रतिनिधि र भारतको सिलिगुरी अवस्थित हिमालयन हस्पिटालिटी एन्ड टुरिजम डेभलपमेन्ट नेटवर्क (एचएचटीडीएन)का महासचिव सम्राट सन्यालको नेतृत्वमा १६ जना भारतीय पर्यटन व्यवसायीले विदेशी प्रतिनिधिको रूपमा सहभागिता जनाएका थिए ।

यस पाँच दिने परिचयात्मक भ्रमण एवम् पर्यटन व्यापार आदानप्रदान कार्यक्रमको उद्घाटन बङ्गलादेशका नागरिक उड्ययन तथा पर्यटनमन्त्री एवम् महबुब अलीले गरेका थिए । कार्यक्रममा विदेशी प्रतिनिधिका लागि बंगलादेशको रमणीय एवम् आकर्षक पर्यटकीय गन्तव्य तथा प्रोडक्टको परिचयात्मक भ्रमणसहित विदेशी प्रतिनिधि र स्थानीय पर्यटन उद्यमी तथा सरोकारवालाबीच बङ्गलादेशको ढाका र कक्स बजारमा बीटुबी आदानप्रदान सत्रसमेत आयोजना गरिएको थियो । क्रसबोर्डर तथा क्षेत्रीय पर्यटन प्रवर्द्धन गर्नका लागि आवश्यक यात्रा औपचारिकतालाई सरल बनाउनुपर्ने र अन्तरदेशीय पर्यटक प्रवर्द्धनका उपायलाई आ–आफ्नो व्यवसायमा एकीकृत यात्रा प्याकेजको रूपमा प्रवर्द्धन गर्नेजस्ता अन्य महत्वपूर्ण विषयमा छलफल भएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया