Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईसीटी अवार्ड २०२० मा पब्लिक भोटिङ सुरु

आईसीटी अवार्ड २०२० मा पब्लिक भोटिङ सुरु


काठमाडौं ।
आईसीटी अवार्ड २०२० को लागि पब्लिक भोटिङ सुरु भएको छ । आईसीटी अवार्डअन्तर्गतका विभिन्न चार विधामा छनौट भएका उत्कृष्ट ५ को लागि पब्लिक भोटिङ सञ्चालन गरिएको आयोजकले जनाएको छ । नोभेम्बर ३० तारिखसम्म सञ्चालन हुने पब्लिक भोटिङमा इ–सेवा, एसएमएस र इमेलमार्फत विश्वभरबाट भोट गर्न सकिनेछ ।

इ–सेवाबाट भोट गर्नको लागि मोबाइलमा इ–सेवा एप्लिकेसन डाउनलोड गरी आईसीटी अवार्डमा गएपछि विभिन्न चार विधा खुल्नेछन् । आफूले भोट गर्न चाहेको विधामा गएर उत्कृष्ट ५ मध्ये कसलाई भोट गर्ने छनौट गरी भोट बुझाउन सकिनेछ । एसएमएसबाट भोट गर्नको लागि मोबाइल म्यासेज बक्समा आईसीटी लेखेर प्रतिस्पर्धीको भोटिङ कोड उल्लेख गरी ३३००१ मा म्यासेज पठाउन सकिनेछ । यसैरी इमेल तथा फेसबुकबाट भोट गर्नको लागि भोटिङ डट आईसीटी अवार्ड डट ओआरजीमा गएर आफूले चाहेको प्रतिस्पर्धीलाई भोट गर्न सकिनेछ ।

सबै प्लाटफर्ममा एउटा प्रतिस्पर्धीलाई एक दिनमा एउटामात्र भोट गर्न सकिनेछ । भोटिङ मंसिर १५ गतेसम्म सञ्चालन हुनेछ । गत कात्तिक ६ गते भर्चुअल कार्यक्रममार्फत जुरी र जुरी सल्लाहकारको उपस्थितिमा आयोजकले विभिन्न चार विधाका उत्कृष्ट ५ को घोषणा गरेको थियो । १४ जनाको जुरी समितिले तेस्रो चरणको छनौट प्रक्रियाबाट स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आईसीटी अवार्ड र राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड २०२० विधाहरूमा उत्कृष्ट ५ को छनौट गरिएको हो ।

उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप आईसीटी अवार्ड २०२० अन्तर्गत स्टार्टअप कम्पनीहरूमा बिजहब आइटी सर्भिसेस प्रालि, क्रिप्टोजेन नेपाल प्रालि, जेनियस सिस्टम प्रालि, जीबी हेल्थ प्रालि र नेपमेड्स प्रालि छन् । यसैगरी प्रडक्ट आईसीटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ पर्न सफल प्रडक्टहरूमा सीपीएसडीएस, फ्युज क्लासरूम, जेनियस आईपीटीभी, जीबी र न्यानो नानी रहेका छन् ।

यसैगरी इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आईसीटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल इन्नोभेसनहरूमा कोभिड–१९ निमोनिया डिटेक्सन युजिङ डिप लर्निङ एण्ड न्युरल नेटवर्क, गो कोरोना नर्स रोबोट, पाइला इमर्जेन्सी रेसुसिटेटर, सिस्टर राबोट र थर्मोग्राफिक क्यामेरा फर मेजरिङ फिवर रहेका छन् । राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ प्रोजेक्टहरूमा थ्रिडी प्रिन्टिङ विथ रिसाइकल्ड प्लास्टिक, बाला फ्रम वेस्ट टु हेल्थ, सन्चैछौ, स्मार्ट ब्लाइन्ड मेनस्टिक र स्मार्टघर रहेका छन् ।

यस वर्ष विभिन्न ११ विधामा आईसीटी अवार्डका लागि अनलाइन नोमिनेसन खुला गरिएको थियो । तीन सय ५० बढीको अनलाइन आवेदन प्राप्त भएको आईसीटी अवार्ड २०२० को छनौट प्रक्रिया विगत दुई महिनादेखि जारी छ । अन्य विभिन्न सात विधामा दोस्रो चरणको छनौट प्रक्रिया सञ्चालन भइरहेको प्रमुख जुरी संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए ।

आईसीटी अवार्ड २०२० को ग्राण्ड फिनाले मंसिर २१ गते आयोजना हुनेछ । उक्त कार्यक्रम विभिन्न टेलिभिजन र अनलाइनहरुमा प्रत्यक्ष प्रसारण समेत आयोजकले जनाएको छ । लिभिङ विथ आईसीटीले आयोजना गरेको कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरण, नाष्ट, जिनस सोलुसन, फोन पे, एनआईटीसी, राष्ट्रिय वाणिज्य बैंक, इ–सेवा, डिस होम, इमिनेन्स वेज, टेक्नोरियो, आइडियाजार लगायतको सहकार्य र सहयोग रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बिबिध

तपाईको प्रतिक्रिया