Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेबन अध्यक्षमा क–कसले गर्दै छन् प्रतिस्पर्धा ?

सेबन अध्यक्षमा क–कसले गर्दै छन् प्रतिस्पर्धा ?


काठमाडौं । नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्षका लागि दर्जनभन्दा बढी व्यक्तिहरूले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर शिवराज श्रेष्ठ, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, धितोपत्र बोर्डका निमित्त प्रमुख डा. नवराज अधिकारीलगायत १९ जनाले आवेदन दिएका छन् ।

मन्त्रालयका अनुसार बुधबार मात्रै १५ जनाले आवेदन दिएका थिए । आवेदन दिनेहरूमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक कृष्णराज पोखरेल, बोर्डकै पूर्वकार्यकारी निर्देशक नीरज गिरी, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल बैंकका पूर्वसीईओ कृष्णबहादुर अधिकारी, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की, नेप्सेका पूर्वसीईओ सिताराम थपलिया छन् । त्यस्तै नेप्सेका कर्मचारी उपप्रबन्धक प्रविण पन्दाक, बजार विश्लेषक डा. केशवप्रसाद श्रेष्ठ, लगानीकर्ता तथा विश्लेषक मुक्ति अर्याल, राष्ट्रिय बीमा संस्थानका पूर्वप्रमुख प्रशासक शिवराम श्रेष्ठ, सेयरबजारका जानकार रघु काफ्ले, प्रोभिडेन्ट मर्चेन्ट बैंकिङका सीईओ विमल तिवारीलगायत छन् । मंगलबार चार जनाको आवेदन परेकोमा बुधबार मात्रै १५ जनाको आवेदन परेको हो । यी आवेदकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य खामबन्दी आवेदन दिएका हुन् ।

बोर्डको अध्यक्ष चयनका लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थसचिव र शंकरदेव क्यापसका प्राध्यापक विज्ञ सदस्य रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । सिफारिस समितिले बोर्डको रिक्त अध्यक्ष पदमा पदपूर्तिका लागि फागुन १६ गते दरखास्त आह्वान गरेको थियो । बोर्डले १५ दिनको समय राखेर दरखास्त आह्वान गरेको थियो । यसैबीच सिफारिस समितिले आवेदन दिएका १९ मध्येबाट पाँच जनाको नाम छनौट गरी पठाउनेछ । पाँचमध्ये तीन जना उम्मेदवार छनौट गरी अध्यक्षमा नियुक्तिका लागि मन्त्रिपरिषद्मा पठाउनेछ ।

सर्टलिस्टमा परेका तीन जनामध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ । रमेशकुमार हमालको कार्यकाल गत पुस २० गते सकिएपछि विगत साढे दुई महिनादेखि धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त छ ।

अध्यक्ष नियुक्तिमा ‘पावर सेयरिङ’ निश्चित
अध्यक्ष नियुक्तमा भने ‘पावर सेयरिङ’ खुलारूपमा देखिने मन्त्रालयका अधिकारीहरू नै स्वीकार गर्छन् । नयाँ स्टक एक्सचेन्ज र कमोडिटीको लाइसेन्सको अनुमति दिने भएकोले अध्यक्ष पदका प्रत्यासीहरूले नियुक्तका लागि उच्च नेतृत्वसँग भेटघाटलाई बाक्लो बनाउने निश्चित छ । नयाँ स्टक एक्सचेन्जका लागि व्यापारिक घरानाहरूले यसअघि हमाललाई नियुक्त गराएका थिए । तर, जुन कार्यका लागि अध्यक्ष नियुक्त गरे पनि व्यापारिक घरानाको स्वर्थ पूरा गर्न भने हमालले गर्न सकेनन् ।

नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि शंकर समूह र इन्फिनिटी समूह निरन्तर लागि पर्यो । उनीहरूले यसका लागि बोर्ड अध्यक्षमा हमाललाई नियुक्त दिलाउन सफल भएका थिए । नयाँ स्टक एक्सचेन्ज र कमोडिटीको लाइसेन्सका लागि व्यापारिक घरानाले उच्च तहको नेतृत्व सँगको साथ चाहेका छन् । उनीहरूले प्रधानमन्त्रीदेखि अर्थमन्त्रीको समेत साथ खोज्दै आएका छन् ।

सरकारी लगानीमा सबल रहेको नेपाल स्टक एक्सचेन्जलाई विस्थापित गरी निजी क्षेत्रलाई नयाँ स्टक एकसचेन्ज चलाउन दिने निर्णय गरिएको थियो । करिब १५ वर्षअघि गरिएको उक्त निर्णय भए पनि नयाँ स्टक एक्सचेन्ज चलाउन दिने निर्णय गरी नीतिगत भ्रष्टाचार गरेको आरोप लाग्र्दै आएको छ । सांसदहरूले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने नाममा ९÷१० अर्ब रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै आएका छन् ।

गत वैशाख संसद् बैठकमा नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले नयाँ स्टक एक्सेचन्जलाई लाइसेन्स दिने नाममा ९÷१० अर्ब रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेका थिए । उनले सकारी स्वामित्वमा रहेको तथा निरन्तर नाफामा रहेको नेपाल स्टक एक्सचेन्जलाई विस्थापित गरी नयाँ स्टक आवश्यक नरहेको भन्दै नयाँ स्टकका लागि अर्बौँ रकममको खेल भएको बताएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्ले, सांसद सोविता गौतम, सांसद अमेरशकुमार सिंहलगायतले नयाँ स्टक एक्सचेन्ज आवश्यक नरहेको बताउँदै आएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया