Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंक १८औँ वर्षमा आकर्षक सुविधाको अफर

सिटिजन्स बैंक १८औँ वर्षमा आकर्षक सुविधाको अफर


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १७ वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको छ । मिति २०६४ साल वैशाख ७ गते २०औं वाणिज्य बैंकको रूपमा स्थापना भई अनवरतरूपमा ग्राहकहरूमाझ उत्कृष्ट सेवा पु¥याउँदै आएको सिटिजन्स बैंक आज वैशाख ७ गतेदेखि १८औं वर्षमा प्रवेश गरेको हो ।

यस १७ वर्षको अवधि पार गरिसक्दा बैंकले करिब १७ लाख २४ हजार ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सात वटै प्रदेशमा फैलिएको एक सय ९० वटा शाखाहरूमार्फत चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कुल निक्षेप करिब एक खर्ब ८४ अर्ब रहेकोमा कर्जातर्फ एक खर्ब ५६ अर्ब रुपैयाँ रहेको छ र यसै अवधिमा बैंकले करिब एक अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले १७औं वार्षिकोत्सवको अवसरमा शुक्रबार सात वटै प्रदेशमा करिब एक हजार ५३ कर्मचारीहरूको सहभागितामा प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ । जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखीकरण हुने अपेक्षा बैंकले लिएको छ । साथै, संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले ‘रक्तदान नै जीवनदान’ भन्ने नारालाई सार्थक बनाउँदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केही हदसम्म भए पनि पूरा होस् भन्ने अभिप्रायका साथ नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सातवटै प्रदेशका कुल २५ शाखाहरूबाट करिब छ सय ८४ जना रक्तदाताको सहभागितामा रक्तदान कार्यक्रम भव्यरूपमा सम्पन्न गरेको छ । साथै, यसै अवसरमा मधेश प्रदेशअन्तर्गत वीरगञ्ज शाखा र लुम्बिनी प्रदेशअन्तर्गत बुटवल शाखाले निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेका छन् । शिविरमा करिब तीन सय जना सेवाग्राहीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथसाथै आवश्यक औषधीहरू समेत निःशुल्क प्राप्त गरेका छन् ।

बैंकले आफ्नो १७औं वार्षिकोत्सवको उपलक्ष्यमा सिटिजन्स स्मार्ट बचत खातालाई १७ थरि आकर्षक सुविधाहरू थप गरेर ग्राहकमाझ ल्याएको छ । अब ग्राहकले यो योजनाअन्तर्गत खाता खोल्दा आकर्षक थप १७ सुविधाहरू निश्चित समयका लागि प्राप्त गर्न सक्ने बताइएको छ । सिटिजन्स बैंकले बचतसम्बन्धी विषयलाई ध्यानमा राख्दै वित्तीय साक्षरतासम्बन्धी एक भिडियो सामग्री समेत आफ्नो १७औं वार्षिकोत्सवको दिन सार्वजनिक गरेको छ । ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै यसै दिनदेखि बैंकले आफ्नो थप छ वटा शाखाबाट प्रिभिलेज काउन्टरको समेत सुरुवात गरेको छ । काठमाडौं उपत्यकाभित्र कुमारीपाटी, बौद्ध, कोटेश्वर र न्युरोड शाखामा र उपत्यकाबाहिर बुटवल र हस्पिटललाइन शाखामा वैशाख सात गतेबाट प्रिभिलेज काउन्टर सुचारु भएको छ । साथै, १७औं वार्षिकोत्सवको उपलक्ष्यमा सिटिजन्स बैंकको मुख्य प्रायोजनमा १०औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता यही वैशाख नौदेखि १५ गतेसम्म दशरथ रंगशालामा हुन गइरहेको छ ।

बैंकले देशैभर रहेका आफ्ना एक सय ९० वटा शाखा, एक सय ५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग इकाइहरूबाट १७ लाख २४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप सात शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया