Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंकको वित्तीय परिसूचकहरू उत्साहजनक

एनआईसी एसिया बैंकको वित्तीय परिसूचकहरू उत्साहजनक


काठमाडौं ।
एनआईसी एसिया बैंक लिमिटेडले चालू आव २०७७÷७८ को तेस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकिङ क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् ।

कोभिड १९ को महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा आएको कमीजस्ता विषम परिस्थितिका बाबजुद पनि बैंकले तेस्रो त्रयमाससम्ममा व्यवसार्यतर्फको कर्जामा वार्षिक बिन्दुगत आधारमा ४८ प्रतिशत तथा स्वदेशी मुद्राको निक्षेपतर्फ वार्षिक बिन्दुगत आधारमा ५० प्रतिशतको उत्साहजनक वृद्धि गरी वार्षिक प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ८७ पैसा आर्जन गर्न सफल भएको जानकारी दिएको छ ।

बैंकले गत वर्षको सोही अवधिको तुलनामा २० दशमलव सात प्रतिशतले मुनाफा वृद्धि गर्न सफल भई तीन अर्ब खुद मुनाफा आर्जन गरेको छ । बैंकको स्वपुँजीमा प्रतिफल २१ दशमलव ५२ प्रतिशत रहेको छ । जुन मुलुकका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान गरिएको छ ।

चालू आवको तेस्रो त्रैमासमा बैंकले कर्जातर्फ ८६ अर्बले वृद्धि तथा वार्षिक बिन्दुगत आधारमा ४८ प्रतिशत अर्थात् ८५ अर्बले वृद्धि गरी कुल कर्जा रकम दुुई खर्ब ६० अर्ब पु¥याउन सफल भएको छ । जुन मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब छ खर्ब पाँच अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको १४ दशमलव २१ प्रतिशतको हिस्सा रहेको छ ।

साथै, बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ ७८ अर्बले वृद्धि तथा वार्षिक बिन्दुगत आधारमा ५० प्रतिशत अर्थात् ९५ अर्बले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप संकलन दुई खर्ब ८६ अर्ब पु-याउन बैंक सफल भएको छ । जुन मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब चार खर्ब २७ अर्बको कुल वृद्धिमा यस बैंकको हिस्सा १८ दशमलव १८ प्रतिशत रहेको छ ।

यस विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई गत वर्षको अन्त्यमा शून्य दशमलव ७५ प्रतिशत रहेको निष्कृय कर्जालाई यो तेस्रो त्रयमाससम्ममा शून्य दशमलव ४७ प्रतिशतमा घटाउन बैंक सफल भएको छ ।

बैंकले आफ्नो रणनीतिअनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्यले साना तथा मझौला कर्जा र रिटेल कर्जामा लगानी विस्तार गर्ने नीति अवलम्बन गर्दै आएको छ । सोहीअनुरूप गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ९२ प्रतिशत कर्जा यसप्रकारका रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ ।

बैंकले अवलम्बन गरेको सो रणनीतिको परिणाम स्वरूप बैंकका प्रमुख १० ग्राहक महानुभावहरूको कुल कर्जा अंश बैंकको कुल कर्जाको तीन दशमलव १५ प्रतिशत मात्रै रहेको छ, जुन समग्र बैंकिङ क्षेत्रकै सबैभन्दा उत्कृष्ट किसिमको र अत्यन्त न्यून जोखिम भएकोमध्ये पर्दछ । साथै बैंकको कुल कर्जामा पाँच करोडभन्दा कम सीमा भएका कर्जाहरूको अंश ९२ दशमलव ७१ प्रतिशत रहेको छ । जुन बैंकिङ क्षेत्रहरूमध्ये उत्कृष्टमा पर्छ । बैंकले निक्षेपतर्फ पनि स–साना निक्षेप एवं व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्बन गरी अगाडि बढिरहेको छ ।

बैंकिङ क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थानमा रहेको यो बैंक आव २०७७/७८ को दोस्रो त्रयमासमा कर्जा, निक्षेप, स्वपुँजीमा प्रतिफल, शाखा कार्यालय, र एटीएममा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान ओगट्न सफल भएको छ । साथै, खुद ब्याज आम्दानी र प्रतिसेयर आम्दानीतर्फ अन्य वाणिज्य बैंकहरूमध्ये दोस्रो स्थानमा रहेको छ भने खुद नाफा, चल्ती तथा बचत निक्षेप र निष्कृय कर्जा अनुपातमा तेस्रो स्थान ओगट्न सफल भएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका तीन सय ५२ शाखा कार्यालयहरू, चार सय ७१ एटीएम, ७५ वटा विस्तारित काउन्टर एवं ८० वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २२ लाखभन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब दुई अर्ब ६५ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया