Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयविज्ञप्तिबाट अभियुक्त पक्राउ पर्दैनन्

विज्ञप्तिबाट अभियुक्त पक्राउ पर्दैनन्


काठमाडौं । संसद्मा अहिले एउटा नयाँ विषयले प्रवेश पाएको छ, त्यो हो अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले निकालेको विज्ञप्ति । गएको शुक्रबार गृहले आफ्नै मातहतको प्रहरीलाई अभियुक्त पक्राउ गर्न निर्देशन दिएको भनेर प्रवक्तामार्फत प्रेस विज्ञप्ति नै जारी भयो । त्यसलाई विषय बनाएर संसद्मा अक्रोश व्यक्त भयो । एउटा त अभियुक्त पक्राउ गर्न आदेश दिएको भन्ने कुरा आफैँमा आपत्तिको थियो । यो सूचनाले अभियुक्त पक्राउ होइन भगाउन मद्दत गरेको आरोप लाग्यो भने गृहमन्त्री र मातहतको निकायबीच यस्तो बेमेलले देशको सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठेको भन्दै सांसदहरूले आरोप लगाए । गृहले प्रहरी प्रधान कार्यालयमा अभियुक्त पक्राउ गर्न गरेको पत्राचार विज्ञप्तिमार्फत सार्वजनिक गरिनु सस्तो लोकप्रियता कमाउन खोजेको भन्नेमा परिणत हुनगयो जो गृहप्रशासनकै लागि पनि राम्रो होइन ।

चर्चामा आएका अभियुक्त सामान्य होइनन् । अहिलेको सरकारको प्रमुख घटक एमालेका सांसद हुन् । उनले अभियोगको यो अवस्थामा नै सांसदपदको शपथ लिए भने प्रधानमन्त्रीलाई विश्वासको मत समेत दिए । यसको अर्थ उनी संसद्कै वरिपरि छन् तर पनि पक्राउ परेनन् । उनको अभियोग पनि सामान्य छैन । सुरक्षाकर्मीको हत्या अभियोगमा फरार सांसद हुन् उनी । संसद्मा बताइएअनुसार उनी निर्धक्क संसद् बैठकमा उपस्थित भइरहेका छन् । त्यसमाथि गृहमन्त्रीसँगै उभिएर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कुरा संसद्को रेकर्डमा चढेको छ । सांसदका भनाइमा अभियुक्तलाई पक्राउ गर्ने जिम्मेवारी पाएको प्रहरी रमिते भएको छ । गृह मन्त्रालयको अभियुक्त पक्राउ गर्न भनी विज्ञप्ति जारी गरेर अभियुक्तलाई भगाउन खोजिएको अवस्थाले सांसदलाई आक्रोशित बनाएको बुझ्न सकिन्छ  ।

यो घटना २०७२ भदौको हो । यो घटनाले यी अभियुक्तको मनस्थिति कति क्रूर थियो भने प्रदर्शनकारीको आक्रमणमा घाइते भएका सशस्त्र प्रहरीका असईलाई उपचारका लागि अस्पताल लागिँदै गरेको अवस्थामा एम्बुलेन्सबाट बाहिर निकालेर कुटपिट गरी हत्या गरिएको थियो । यही अभियोगमा अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन् उनी । उनलाई पक्राउ गर्न अदालतले पनि थप आदेश दिएको अवस्था छ । छलछामले नै उनले चुनाव जिते । तर अदालतको पक्राउ आदेश भने यथावत् नै छ ।

यहीबीचमा उनले सांसद पदको शपथ खाए र संसद्का अन्य कारबाहीमा पनि सरिक भइरहे । सरकारको समर्थक दल भएर उनीमाथि कारबाही नभएको भनेर संसद्मा समेत प्रश्न उठ्न थालेपछि गृह मन्त्रालयले विवादास्पद विज्ञप्ति जारी गरेको हो । त्यसमा भनिएको छ, ‘अभियुक्तलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशनमा प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको छ ।’

नेपालको इतिहासमा अपराधीलाई प्रेस विज्ञप्ति निकालेर खोज्दै जाने परम्पराको सुरुवात भएको छ, गृह मन्त्रालयजस्तो संवेदनशील मन्त्रालयमा प्रेस विज्ञप्तिबाट अपराधी खोज्ने परिपाटीको विकास भयो भने मुलुक कहाँ जाने हो ? गृहमन्त्रीले बालापनको, केटाकेटीपनको प्रदर्शन त्यहाँ गर्नु भएन । के देशको गृहमन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छोडेको हो ? मौखिक सूचना दिँदा कोही अपराधीलाई पक्राउ नगर्ने परम्परा सिर्जना भएको हो ? यस्तो प्रश्नका बारे गृह मन्त्रालयले जवाफ दिएको छैन । आमबुझाइ के हो भने गृहको यो विज्ञप्तिले अभियुक्तलाई पक्राउ पर्नबाट सतर्क गराएको छ । त्यसकारण पनि यो गम्भीर आपत्तिको विषय मानिएको हो ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया