Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयचौतर्फी समस्या

चौतर्फी समस्या


नेपाल अहिले चौतर्फी समस्याको चपेटामा परेको छ । आर्थिक, सामाजिक, धार्मिक र भौगोलिक समस्याले नेपाल आक्रान्त बनेको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ को त्रासको कारण नेपालको आर्थिक बजार दिनहुँ खस्किएको अवस्थामा छ । सोमबारसम्म विश्वमा कोरोना भाइरसको महामारीबाट छ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाइसकेका छन् । तर, भाग्यवश नेपालले कोभिड १९ को सामना गर्नुपरेको छैन ।

विश्वका लगभग एक सय ६० मुलुकमा यो फैलिसकेको छ । कोभिड १९ का कारण विश्व उत्पादन बजार ढप्प छ । नेपालजस्तो भूपरिवेष्ठित र परनिर्भर मुलुक अरुकै उत्पादनको मुख ताकेर बस्नुपर्ने अवस्था हुन्छ । एक दिन नाकामा समस्या हुँदा हाहाकार मच्चिने नेपाली बजारमा अत्यावश्यक दैनिक उपभोग्य वस्तुबाहेकका सामानको बजारको कारोबार ठप्प प्रायः हुुनपुगेको छ भने अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरूको कालोबजारी सुरु भइसकेको छ । कोरोना भाइरसको संक्रमणका कारण विश्व अर्थ व्यवस्थामा मन्दी आएको छ । यसबाट नेपाल नराम्रो मारमा पर्ने संकेत देखिएको छ ।

नेपालमा दैनिक उपभोग्य वस्तुहरू खाद्यान्न दाल, चामल, नुन, तेल, तरकारी, मसला, माछा, मासु सबै भारतमा भर पर्नुपर्ने अवस्था छ । युवाहरू वैदेशिक रोजगारीमा विदेशिएका कारण धेरै जमीन बाँझो रहेका छन् । वैदेशिक रोजगारीमा गएका मात्रा पनि घट्दै जाने देखिएको छ भने वैदेशिक रोजगारीमा जान पनि अस्थायी प्रतिबन्ध लगाइएको छ । विदेशबाट पैसा पठाइए पनि नरहने संकेत देखिन थालेको छ । यसले नेपालमा २०२८ सालको महामारीपछि आएको जस्तो भोकमरीको अवस्था आइपर्ने सम्भावना बढ्दै गएको छ । हरेक क्षेत्रमा समस्या चुलिँदै गएको छ । सामाजिकरूपमा अराजकता बढ्दै गएको छ । विधिको शासन समाप्त भएको जस्तो देखिन थालेको छ । दलाल, बिचौलिया, तस्कर, कालाबजारी र भूइँफुट्टा वर्गको दबदबा रहन थालेको छ । धार्मिक समस्या रूप अझ फरक शैलीमा थपिँदै गएको अवस्था छ । किनबेचका रूपमा धर्म परिर्वतन हुन थालेको छ । त्यसैगरी भौगोलिकरूपमा पनि समस्या चर्किँदै गएको छ । भारतले नेपालको लिम्पीयाधुरा क्षेत्र कब्जा गरेर राजनितिक नक्सा जारी गरे पनि नेपाल सरकारले त्यसको डटेर सामना गर्न खुट्टा कमाएको छ ।

यथार्थमा नेपाल अहिले चौतर्फी समस्याले घेरिएको छ र यसबाट बाहिर निस्कन सुझबुझपूूर्ण निर्णय गर्ने राजनीतिक नेतृत्वको अभावमा समस्या झन् गहिरिँदै गएको छ । बेलैमा यसलाई सामना गर्नतर्फ लाग्नुभन्दा सरकारका मन्त्रीहरूले ठट्टा मजाक गरेरै उम्कने प्रयास गदै आएका छन् । मन्त्रीहरूले यो ठट्टा मजाक गर्ने बानी छाड्नु पर्दछ र आफूलाई जिम्मेवारपूर्ण रूपमा प्रस्तुत गर्नुपर्दछ । अन्यथा ठूलो दुर्घटना व्यहोर्नु पर्ने हुन्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

ताजा अपडेट