बिजुली बिक्री होइन, आन्तरिक खपतको योजना बनाऊ
काठमाडौं । पेट्रोलियम पदार्थको ऊर्जा प्रयोगका कारण अहिले पृथ्वीको तापमान क्रमशः बढ्दै गएको वैज्ञानिकहरूले दाबी गरेका छन् । औद्योगिक विकास र जनसंख्याको वृद्धिका कारण घनाबस्ती र वनजंगल नाशजस्ता कारण पनि तापमान बढिरहेको छ । तर सबैभन्दा ठूलो कारक भने पेट्रोलियम ऊर्जाको अत्यधिक प्रयोग/खपत नै भएको वैज्ञानिकहरूको तर्क छ । त्यही भएर अहिले विश्वभर पेट्रोलियम ऊर्जा खपत कम गर्ने वा त्यसलाई निरुत्साहित गर्ने योजनाहरू बन्दै गएका छन् । नेपालमा पनि पेट्रोलियम ऊर्जा खपत कम गर्नका लागि पहल सुरु भएको छ । पछिल्लो समयमा नेपालमा विद्युत्बाट चल्ने साना सवारीको संख्या बढ्दो छ । सरकारले पनि पेट्रोलियम पदार्थभन्दा विद्युत्बाट चल्ने सवारी खरिदमा छुट दिने नीति लिएको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेटले विद्युत्बाट चल्ने साना सवारीमा कर बढाए पनि पेट्रोलियम पदार्थबाट चल्ने सवारीको तुलनामा धेरै नै कम छ । विश्व नै नवीकरणीय ऊर्जाको प्रयोग बढाउने अभियानमा लागेका बेला नेपालले पनि साना सवारी खरिदमा सहुलियत, विद्युत्बाट खाना पकाउने अभियान, विभिन्न ठाउँमा सोलार विद्युत् उत्पादनजस्ता कार्यक्रम गर्नाले नेपाल पनि विद्युतीय ऊर्जा खपतमा विस्तारै अगाडि बढिरहेको देखिन्छ ।
विश्व तापमान घटाउने मात्र होइन नेपालजस्तो जलविद्युत्को अथाह सम्भावना भएको देशमा जलविद्युत् जस्तो स्वच्छ ऊर्जा उत्पादनमा जोड दिनु भनेको यहाँको व्यापार घाटा कम गर्नु हो । नेपालले विभिन्न तरिकारले गरेको वैदेशिक मुद्रा आम्दानीको आधाजति पेट्रोलियम पदार्थ खरिदमै खर्च गर्ने गरेको छ । नेपाली युवा जनशक्तिलाई विदेश पठाएर त्यहाँबाट आएको रेमिट्यान्सबाट जम्मा भईरहेको विदेशी मुद्रालाई पेट्रोलियम पदार्थ खरिदमा खर्च गर्नुभन्दा यहाँ नै पानी, सोलार तथा हावाबाट बिजुली उत्पादन गरेर खपत गर्ने हो भने हामीलाई पुगेर विदेश पनि निर्यात गर्न सक्छौं । तर नेपाल भने आफूले उत्पादन गरेको बिजुली भारतलाई बिक्री गर्न तम्सिएको छ । लामो समयका लागि सम्झौता गरी भारतमा बिजुली बिक्री गरेर आम्दानी गर्छु भन्ने सरकारी सोच ऊर्जा खपतको वर्तमान विश्वलाई नचिन्नुको परिणाम हो ।
विश्वका अधिकांश मुलुकहरू नवीकरणीय ऊर्जा प्रयोगमा अहिले दैनिक नयाँनयाँ तरिकाले योजना बनाएर अगाडि बढिरहेका छन् । तर नेपाल भने भारतीय सहयोग लिएर पेट्रोलियम पाइपलाइन, डिजेल, पेट्रोलजस्ता पेट्रोलियम भण्डारणको क्षमता वृद्धि गर्ने काम गरिरहेको छ । हालै भारत भ्रमण गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको बिजुली बिक्री गर्ने र भारतबाट पेट्रोलियम पाइपलाइन बनाउने विषयमा सहमति गरेका छन् । भारत नेपालबाट लामो समयका लागि बिजुली खरिद गरेर आफ्ना सवारीलाई विद्युतीय बनाउँदै छ, नेपाल भने उत्पादित बिजुली भारतलाई बिक्री गरेर नेपाललाई पेट्रोलियम पदार्थ बढी खपत गर्ने मुलुकको रूपमा स्थापित गर्दै छ । अहिले विश्वका शक्तिशाली देशहरू, अमेरिका, चीन, जापान तथा युरोपका अधिकांश मुलुकहरू पेट्रोलियम पदार्थका खपत कम गर्नेतर्फ लागेका छन् । विद्युत्को खपत बढाउँदै लगेका शक्तिशाली राष्ट्रहरू सडकमा गुड्ने मात्र होइन आकाशमा उड्ने सवारी (हवाई जहाज) पनि हाइड्रोजनबाट चल्ने बनाउने अन्तिम प्रयासमा छन् । शक्तिशाली देशहरूले त विद्युत् र हाइड्रोजनबाट चल्ने हवाई जहाज करिब डेढ दशकभित्रमै निर्माण गरिसक्ने दाबी गरेका छन् । भारतले पनि विश्वमा बढिरहेको विद्युतीय सवारीलाई छिटोभन्दा छिटो विकास गरेर पेट्रोलियम ऊर्जाबाट चल्ने सवारीलाई विस्थापित गर्ने योजना सार्वजनिक गरेको छ । त्यसैले भारतले नेपालजस्ता देशबाट अधिकतम बिजुली खरिद गर्ने र त्यसबाट हाइड्रोजन बनाउनेसमेत योजना बनाएको छ । नेपालले अब बिजुली उत्पादन गरेर भारतमा बिक्री गरेर आम्दानी गर्नुभन्दा नेपालभित्रै सबैतिर विद्युत् खपतका कार्यक्रम धेरै बनाउनु पर्छ । विद्युत् निर्यात गरेर आम्दानी गर्नुभन्दा यहाँ नै खपत गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ । बिजुली बिक्री गर्नका लागि भारत र बंगलादेश खोज्नुभन्दा बिजुली खपतको योजना ल्याउनु वातावरणका लागि मात्र होइन आर्थिक उन्नतिका एवम् बिजुलीको आन्तरिक खपतका लागि समेत योजना बनाउनु उपयुक्त हुनेछ ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- इन्धनमा करमाथिको करले उपभोक्ता मर्कामा
- सरकारी कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुखलाई करसम्बन्धी तालिम
- दोलखामा थप चार केजी अवैध सुन बरामद
- रुपन्देहीका घरेलु तथा साना उद्योगमा ४१ अर्ब लगानी
- जी फोर्सविरुद्धको उजुरी अलपत्र
- पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता
- कर्जामा सधैं पहुँचवालाकै रजगज
- यही हो त प्रहरीको जनसेवा ?
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया