Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबाढीपीडित महिलाद्वारा सांसदलाई थप्पड !

बाढीपीडित महिलाद्वारा सांसदलाई थप्पड !


कैथल (हरियाणा) । हरियाणाको कैथल जिल्लाका एक जना बाढीपीडित महिलाले बुधबार जननायक जनता पार्टी (जेजेए)का सांसद ईश्वर सिंहलाई थप्पड हानेकी छन् ।

सांसद सिंह कैथलको गुहला क्षेत्रमा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा रहेका बेला एक जना बाढीपीडित महिलाले ‘तिमी अहिले किन आयौ ?’ भन्दै भिडबाट निस्केर थप्पड हानेकी हुन् । पानीको सुमचित व्यवस्था नहुँदा बाढी आएकामा क्रुद्ध उनले सांसदलाई पिटेकी हुन् ।

उक्त घटनाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा महिला र अन्य स्थानीयले ‘तिमी अहिले किन आयौ ?’ भनेको सुनिन्छ । सांसद सिंहलाई उनका निजी सुरक्षा अधिकारीले उद्धार गरेका थिए । घटनापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले महिलालाई माफ गरिदिएको र उनीविरुद्ध कुनै कानुनी कारबाही नगर्ने बताए ।

हरियाणामा अविरल वर्षाका कारण आएको बाढीका कारण १० जनाको ज्यान गएको छ र मुख्यमन्त्री मनोहर लाल खट्टरले बुधबार ज्यान गुमाउनेको संख्या बढ्न सक्ने बताएका छन् । मुख्यमन्त्रीले बाढीमा परी ज्यान गुमाएकाका परिवारलाई चार लाख रुपैयाँ राहतस्वरुप प्रदान गरिने घोषणा पनि गरेका छन् ।

विगत चार दिनदेखि हरियाणामा मात्र नभई हिमाचल प्रदेश, उत्तराखण्ड र पञ्जाबमा लगातारको वर्षाले राज्यका केही जिल्लामा जनजीवन अस्तव्यस्त भएको छ । हालसम्म ९१ जनाले ज्यान गुमाएका सरकारी अधिकारीले बताएका छन् । हिमाचलको सिप्तीमा अलपत्र परेका तीन सय पर्यटकको उद्धारको प्रयास भइरहेको छ । प्रतिकूल मौसमका कारण हेलिकोप्टर अवतरण गर्न कठिनाइ भएको छ । (रासस/एएनआई)


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया