Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमौसम प्रतिकूल हुँदा सलह प्रवेशमा रोक, ढुक्क हुने अवस्था छैन

मौसम प्रतिकूल हुँदा सलह प्रवेशमा रोक, ढुक्क हुने अवस्था छैन


प्रवीण राउत
काठमाडौँ, असार २४
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मौसम प्रतिकूल अर्थात् हावा प्रतिकूल हुँदा सलहको जोखिम हालका दिनमा कम रहेको बताएको छ । सलह प्रवेशको लागि भारतबाट उत्तर पश्चिम हावा वहनुपर्नेमा सो अवस्था नरहेको हुँदा सलहको जोखिम हाललाई कम रहेको मन्त्रालयले बताएको हो ।

प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ संरक्षण अधिकृत रामकृष्ण सुवेदीले नेपालमा रहेका सलह भने मरेको तथा छरिन पुग्दा बालीमा नोक्सानी पु¥याउने सम्भावना समेत नरहेको बताए । यसैबीच भारतमा रहेको सलहको बारेमा अध्ययन भइरहेको बताइएको छ । ‘हामीकहाँ सलह आउने भनेको भारतबाट हो, त्यसैले भारतमा रहेको सलहलाई नजिकबाट नियालेका छौँ’, उनले भने, ‘भारत, पाकिस्तानमा समस्या भइरहँदा हामी ढुक्क भएर बस्नसक्ने अवस्था छैन ।’

यस्तै थोरै संख्यामा नेपाल प्रवेश, झुण्ड छरिन पुगेकोलगायतका कारणले गर्दा बालीमा क्षति गर्ने सम्भावना नरहेको उनले बताए । अधिकृत सुवेदीले भने, ‘झुण्ड सानो हुनु, विभिन्न जिल्लामा फैलिनु, चिसो वातावरणको कारण सलह बाँच्न नसक्नु आदिले गर्दा बाली विनाश हुनुबाट जोगियो । विशेष गरी चिसोको कारणले तथा पछिल्लो समयमा भारी वर्षाका कारण सलह मर्न पुगेको हो ।’

हावाको वेगअनुसार हिँड्ने हुनाले नेपाल प्रवेश गरेको सलहलाई हावाले दक्षिणतर्फ लगेको उनले बताए । ‘सोही कारण चिसो खप्न सकेनन्, कति फर्के, कति मरे । यसो हुँदा नेपालमा सलह सक्रिय हुन नसकेको हो । पानी परेका कारण पनि निष्क्रिय भई बसे’, उनले भने, ‘पखेटा भिज्ने चिसोले गर्दा सक्रिय हुन नसक्दा हराउँदै गएको छ ।’

सुरुवाती दिनमा भने भारतबाट आएको हावाको वेगसँगै सलह भैरहवा, कपिलवस्तु, सर्लाही, बारा तथा पश्चिमका केही जिल्लाहरुमा समेत प्रवेश गरेका हुन् । हावाको वेगकै कारणले गर्दा उनीहरु सो स्थानमा लामो समय नबस्नुको साथै पहाडी क्षेत्रतर्फ उक्लिए । जसले गर्दा सलहको क्षति हुनुपुग्यो । बाग्लुङ, कालीकोटतिर समेत सलह पुगेका छन् । यिनीहरु जंगलतर्फ प्रवेश गरेको हुँदा पनि सक्रिय हुनसकेनन् । जसले गर्दा बाली जोगिनुपुग्यो भने जंगलमा चिसो हुने र मर्ने आदि कारणले त्यतै हराएका छन् ।

‘सलह बाग्लुङ, कालीकोटजस्ता पहाडी भेगमा उक्लेको हुँदा हाम्रा खाद्यबालीमा नदेखिएको हो’, अधिकृत सुवेदीले भने, ‘जसले गर्दा किसानहरुले क्षति व्यहोर्नुपरेन । जुन सकारात्मक कुरा हो ।’ करिब ७०/८० लाख सलह नेपाल प्रवेश गरेको मन्त्रालयको अनुमान छ । असारको दोस्रो साता अर्थात् १३, १४, १५ र १६ गते भारत हुँदै सलह नेपाल प्रवेश गरेको थियो । वायुको वेगसँगै वहने सलह भारतको राजस्थान, नयाँ दिल्ली हुँदै नेपाल प्रवेश गरेको हो भने १६ गते भने थोरै संख्यामा प्रवेश गरेको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया