Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालतिलोत्तमाका स्थानीयद्वारा सडकमै रोपाइँ

तिलोत्तमाका स्थानीयद्वारा सडकमै रोपाइँ


पोसकान्त पोखरेल
बुटवल, असार २६
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १३ र १४ का स्थानीय बासिन्दाहरुले पत्थरडाँडा तिनाउ सडक खण्डअन्तर्गत तीनधुरेमा रोपाइँ गरेका छन् । रोपाइँको समयमा गाइने मौलिक गीत (बाली) गाएर गरिएको रोपाइँलाई सडकमा यात्रा गर्ने यात्रीहरुले निकै कौतूहलताका साथ हेरेका थिए । बिहान ८ बजेबाट सुरु भएको रोपाइँ सडकको तीन स्थानमा भएको थियो ।

क्रसर र सिमेण्ट उद्योगमा चल्ने टिप्परहरुका कारण धूवाँ–धूलो र ध्वनि प्रदूषणमा बाह्रै महिना बाच्न बाध्य भएका स्थानीयहरुले वर्षायामको हिलोको कारण आवजावतमा समस्या परेपछि सडकमा रोपाइँ गरेर स्थानीय सरकारलाई सडक मर्मतका लागि दबाब दिएको स्थानीय अभिषेक न्यौपानेले बताए । न्यौपानेले पटक–पटक आग्रह गर्दा पनि जनप्रतिनिधिहरुबाट गुनासो सुनुवाइ तथा समस्या समाधानको लागि कुनै कदम नचालिएपछि रोपाइँ गर्न बाध्य भएको बताए ।

सडकबाट नगरपालिकाले वर्षेनी सडक करको नाममा लाखौं रुपैयाँ संकलन गरे पनि सडक मर्मतमा खासै चासो नदिँदा सरकारप्रति स्थानीयहरु आक्रोशित बनेका छन् । अन्य वडाहरुबाट भन्दा तिलोत्तमा–१३ र १४ बाट नगरपालिकाको नदीजन्य पदार्थ उत्खननबाट वार्षिक करोडौं आन्तरिक आम्दानी हुने गरेता पनि भोट बैंक विकासे नीतिले समस्यामा पार्ने गरेको अर्का स्थानीय निम बहादुर क्षेत्रीले बताए । यस क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन गरेबापत केही प्रतिशत स्थानीय क्षेत्रको विकासको लागि लगाउने भन्ने नीति भए पनि उक्त नीति कार्यान्वयनमा नआएको उनको भनाइ छ ।

तिलोत्तमाका भित्री सडकहरुमा सबैभन्दा बढी व्यस्त सडकको रुपमा चिनिने उक्त सडक तीनधुरे चोकदेखि तिनाउ खोलासम्म समस्याग्रस्त छ । प्रदेश नं. ५ का पूर्वप्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस संसदीय दलका नेता स्वर्गीय बलदेव शर्मा पोखरेल, प्रदेश सभा सदस्य रमा अर्याल, तिलोत्तमा १३ का वडा अध्यक्ष गणेश न्यौपानेको घर पनि सोही सडकखण्डअर्न्तगत पर्दछ । वडा अध्यक्ष न्यौपानेको घरसम्मको सडक ठीक भएको र सडकका कारण १४ का वडा अध्यक्ष सोहन थारुलाई समेत समस्या नपर्ने हुँदा सडक मर्मतमा उदासीनता देखाएको स्थानीयको आरोप छ ।

सडकमा पटक–पटक दुर्घटना हुने गरेको स्मरण गर्दै स्थानीयले सडककै कारण सोही क्षेत्रमा बस्ने नापी कार्यालय बुटवलका सर्भेक्षक हेमन्त पौडेल गम्भीर घाइते भएर उचारको लागि काठमाडौं लगेको सुनाए । यस विषयमा सम्पर्क गर्न खोज्दा वडा अध्यक्षसँग सम्पर्क हुनसकेन ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया