Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमाथिल्लो तामाकोशी आयोजना परीक्षण उत्पादन लक्ष्यको नजिक

माथिल्लो तामाकोशी आयोजना परीक्षण उत्पादन लक्ष्यको नजिक


दोलखा ।
दोलखाको विगु गाउँपालिका–१ लामाबगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाले २०६७ साल भदौदेखि निर्माण सुरु गरेको थियो । आयोजनाले निर्माण सुरु गरेको १० पछि २०७८ साल वैशाखदेखि पहिलो परीक्षणको उत्पादन सुरु गर्ने तयारी गरेर गरिरहेको छ ।

स्वदेशी लगानीमा निर्माण भइरहेको चार सय ५६ मेगावाटको आयोजनाको आंशिकबाहेक सबै निर्माण सम्पन्न भएको छ । यो आयोजनाको कठिन मानिएका संरचनाअन्तर्गत तेर्सो पेनिस्टक पाइप ‘हाइ प्रेसर’मा परीक्षण सफल भइसकेको छ । मुख्य संरचना ड्याम र सुरुङमा पानी भरेर परीक्षण गर्ने अन्तिम तयारीमा जुटिरहेको आयोजना प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए । उनका अनुसार पूर्ण क्षमतामा सुरुङ र ड्याममा पानी भरेर परीक्षण गर्ने कार्य चैतदेखि सुरु हुनेछ । वेट टेस्ट भनिने यो परीक्षणमा आयोजनाले सबै सुरुङको ड्याममा भरेर परीक्षण गर्ने तयारीमा लागेको उनले जानकारी दिए ।

करिब १५ दिन लाग्ने सो परीक्षणपछि सबै टर्बाइनमा क्रमिकरूपमा पानी खसालेर विद्युत् निकाल्ने तयारी रहेको छ । अहिले विद्युत्गृह निर्माण टर्बाइन, ट्रान्सफर्मरको जडान सकिएको छ । आयोजनाको सुरुङमार्गमा पानी भरेर उत्पादनको परीक्षण गरिने तयारी भएको प्रवक्ता न्यौपानेले बताए । आयोजनाले चैत मसान्तभित्र एउटा टर्बाइनबाट भए पनि विद्युत् उत्पादन गर्ने समयसीमा तोकिएको उनले बताए । यद्यपि समयसीमाभन्दा पनि चुस्त परीक्षण र निर्माणमा कुनै सम्झौता नगर्ने गरी आयोजनाका अधिकारी तथा प्राविधिकहरूले सक्रियता देखाइरहेको उनको दाबी छ ।

२०६७ भदौदेखि मुख्य निर्माणको काम थालिएको आयोजना विभिन्न खाले राजनीतिक तथा सामाजिक अवरोध, भूकम्प, भारतीय नाकाबन्दीदेखि ठेकेदार कम्पनीको कमजोरी र कोरोना भाइरसले निर्माण कार्य पछाडि धकेलिँदै आइरहेको छ । निर्माणका क्रममा आएका अनपेक्षित भौगर्भिक समस्याले पनि आयोजना निर्माणको गतिलाई ढिला बनाएको थियो । पेनिस्टक पाइप जडान गर्नुपर्ने ठेकेदारले दक्षतापूर्ण कार्य गर्न नसक्दा पनि ढिला भएको आयोजनाको भनाइ छ । निर्माण सक्न १० वर्ष लागे पनि पछिल्लो पटक निर्माण गरिएका महत्वपूर्ण र कठिन धेरै संरचना परीक्षण सफल हुँदै गएकाले दोलखा आसपासका लगानीकर्तामा छुट्टै खालको आस जगाएको छ ।

यो आयोजनाबाट वार्षिक औसत दुई हजार दुई सय ८१ गिगावाट आवर बिजुली उत्पादन गर्ने लक्ष्य छ । कुल ६६ घनमिटर प्रतिसेकेन्ड बहावमा डिजाइन गरिएको यो आयोजनाको बाँधक्षेत्र मात्र एक हजार सात सय ४५ वर्गमिटर छ । जहाँ १२ लाख घनमिटरसम्म पानी जम्मा गर्न सकिन्छ । भूमिगत विद्युत्गृह रहेको यो आयोजनामा मुख्य सुरुङ मात्रै आठ दशमलव ८६ किलोमिटर छ । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत यो आयोजना निर्माण गर्दा निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड रुपैयाँ निर्धारण गरिएको थियो तर निर्माण अवधि लम्बिँदै जाने, अमेरिकी डलर पनि महँगिँदै जाँदा आयोजनाको लागत भने बढेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया