Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालअक्सिजनको अभाव चुलिँदै : आपूर्ति नभए भयावह हुने

अक्सिजनको अभाव चुलिँदै : आपूर्ति नभए भयावह हुने


कञ्चनपुर ।
कञ्चनपुरको महाकाली अस्पतालमा अक्सिजनको अभाव हुनथालेको छ । जिल्लाको एक मात्र कोभिड अस्पतालमा दिनप्रतिदिन कोरोना संक्रमित बिरामीहरूको चाप बढ्दै गएपछि अक्सिजनको चरमा अभाव भएको हो । महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेड डाक्टर हरिकुमार श्रेष्ठका अनुसार अस्पतालमा बितेका केही दिनयता अस्पतालले अक्सिजनको अभाव खट्किरहेको छ ।

‘महाकाली अस्पतालको स्वास्थ्य प्रणालीको सबैतिर समस्या आउन थालेको छ, इमरेजेन्सी, कोभिड वार्डलगायत क्षेत्रमा अस्पताललाई निकै गाह्रो भएको छ’, श्रेष्ठले भने, ‘अस्पतालसँग ९३ वटा कोभिडको संक्रमित बिरामीको रनिङ बेड रहेको छ, तर पनि सबै भरिएको अवस्था छ, अस्पतालमा अक्सिजन दिनुपर्ने बिरामीलाई मात्रै भर्ना गर्ने अवस्थामा अस्पताल पुगेको छ ।’

अस्पतालमा सानो अक्सिजन पलान्ट निर्माण गरिएको छ । अस्पताल परिसरमै निर्माण गरिएको पलान्टले दैनिकरूपमा १२ वटा सिलिन्डर मात्रै भर्ने गर्दछ । अहिले अस्पताललाई दैनिक एक सयको हाराहारीमा अक्सिजन सिलिन्डर आवश्यक हुनेगरेको छ ।

अस्पतालमा अक्सिजन नहुँदा दैनिकरूपमा मृत्यु हुने बिरामीको संख्यामा भने बढोत्तरी हुँदै गएको छ । ‘अस्पतालले दैनिक सय सिलिन्डर अक्सिजन खपत गर्ने भए पनि अस्पताले सिलिन्डर सप्लाइ गर्न नसकेका कारणले अक्सिजनको धेरै अभाव खट्केको छ’, उनले भने ‘अक्सिजन ढुवानी गर्नको लागि धनगढी र नेपालगञ्ज जानुपर्ने बाध्यता छ, अस्पतालसँग निश्चित स्रोतसाधन पनि नभएको अवस्था छ, यसले गर्दा अस्पताललाई चाहेजति अक्सिजनको उपलब्धता नहुँदा दैनिकरूपमा अक्सिजनको अभावमा बिरामीले ज्यान गुमाउनुपरेको साँचो कुरा हो ।’

अस्पताललाई विभिन्न सहयोगी संस्था र सहयोगी समूहहरूले प्रत्येक दिन अक्सिजन उपलब्ध गराइरहेका छन् । तर पनि अस्पताललाई दैनिकरूपमै अक्सिजन अभाव भइरहेको डाक्टर श्रेष्ठको भनाइ छ ।

अस्पताललाई अक्सिजनको अभाव तत्काल टार्नको लागि विभिन्न तयारी भए पनि तयारीले सार्थकता भने पाएको अवस्था छैन । जिल्लाका विभिन्न स्थानिय तहले अक्सिजन आपूर्तिका लागि विभिन्न छलफल गरे पनि अक्सिजन पर्याप्त मात्रामा आपूर्ति हुन सकेको छैन ।

डाक्टर श्रेष्ठका अनुसार अस्पतालमा तत्काल अक्सिजनको आपूर्ति पर्याप्त गर्नको लागि लिक्युट अक्सिजन आपूर्ति गनुपर्ने आवश्यकता रहेको छ । ‘लिक्युट अक्सिजन आपूर्तिको लागि प्रदेश सरकार वा संघीय सरकारले टेन्डर ग-यो भने तत्कालै अक्सिजन आपूर्ति हुने सम्भवना हुन्छ’ डाक्टर श्रेष्ठले भने, ‘लिक्युट अक्सिजन आपूर्तिपछि अस्पताललाई एक ट्र्याक्टर अक्सिजन प्राप्त भयो भने पनि धेरै राहात हुन्छ ।

बिरामीको मृत्युदर बढ्दै गएको कारणले पनि अबको केही दिनमै लिक्युट अक्सिजन आपूर्ति गनुपर्दछ ।’ यसैबीच जिल्लाका विभिन्न स्थानीय तहले मिलेर अक्सिजन पलान्ट निर्माण गर्ने कुरा पनि अगाडि सारिएको छ । अक्सिजन पलान्ट निर्माणको कुरा अगाडि सारिए पनि पलान्ट निर्माणमा तीन÷चार महिना लामो समय लाग्ने भएकोले जतिसक्दो चाँडो लिक्युट अक्सिजन आपूर्ति गरिनुपर्ने डाक्टर श्रेष्ठको भनाइ छ ।

कोरोना समुदायमा फैलिसक्यो : नयाँ भेरियन्टको कोरोनाले नेपालमा निकै प्रभाव पार्दै गएको छ । यहाँका स्वास्थ्यकर्मीले जिल्लाको समुदाय स्थरमा भाइरस प्रवेश गरिसकेको भनेर चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले कोरोना महामारीको दोस्रो लहरको प्रभाव समुदायस्तरसम्म फैलिसकेको बताए । उनले दोस्रो लहरमा आएको कोरोनाको सिम्टोम तथा लक्षण पनि देखिने नदेखिने भएको भन्दै समुदायस्तरमा कोरोनाले प्रवेश गरिसकेको अवस्था भएकोले स्वास्थ्य अवस्था नाजुक हुँदै गएको बताए ।

‘भारतसँग खुल्ला सिमाना जोडिएको जिल्लामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको अवस्था छ, भारतबाट नेपाल प्रवेश गर्ने नेपाली नागरिकको संख्यामा पनि कुनै कमी भएको अवस्था छैन’, सुनारले भने, ‘संक्रमण कम गर्न प्रयास गरिएको भए पनि समस्या एकदमै जटिल बन्दै गएको छ, गाउँघरमा लगभग सबैजसो बिरामी भएको अवस्था एकातिर छ भने अर्कोतिर अस्पतालमा बेड अभाव अक्सिजन अभाव अर्कोतिर छ ।’

विगतमा कोरोना महामारी प्रवेश गर्नेबेला विभिन्न किसिमका धेरै तयारी तथा पूर्वतयारी भए पनि दोस्रो लहरको प्रवेशमा भने संक्रमण रोक्न उल्लिखित तयारी भएको अवस्था छैन । यसले गर्दा दैनिक संक्रमण हुने बिरामीको संख्या समुदायस्तरमा बढ्दै गएको छ भने अस्पतालमा मृत्यु हुनेको संख्या बढ्दै गएको उनको भनाइ छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया