Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदोलखामा पनि अक्सिजन प्लान्ट निर्माण गरिने

दोलखामा पनि अक्सिजन प्लान्ट निर्माण गरिने


दोलखा ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमितको संख्या बढ्दै गएपछि अक्सिजनको अभाव हुन नदिन जिल्लामै अक्सिजन प्लान्ट निर्माण गरिने भएको छ । जिल्लाका नौवटै स्थानीय तहहरूको संयुक्त लगानीमा चरीकोट अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरिनेभएको हो । शनिबार जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैंठकले तत्कालै अक्सिजन प्लान्ट निर्माण गर्ने र त्यसका लागि सबै स्थानीय तहले १२/१२ लाख रुपैयाँ रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले आइसोलेसन सेन्टर व्यवस्थापन गर्न बनाइएको संयुक्त कोषमा नै पालिकाहरूले उक्त रकम जम्मा गर्ने र चरीकोट अस्पतालले छिटो र छोटो प्रक्रियाद्वारा अक्सिजन प्लान्ट खरिद गरी स्थापना गर्ने निर्णय गरेको छ । विगत केही समयदेखि देशव्यापीरूपमा अक्सिजनको चरम अभाव देखिएकोले दोलखामा पनि अक्सिजनको सहयोगमा राख्नुपर्ने बिरामी उल्लेख्य वृद्धि भइरहेको हुँदा अक्सिजनको अभावका कारण बिरामीको जीवन जोखिममा पर्नसक्ने देखिएको हुनाले चरीकोट अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए । यस्तै आइसोलेसन सेन्टर व्यवस्थापनका लागि केही पालिकाहरूबाट रकम जम्मा नभएकोले छिटो उक्त रकम जम्मा गर्न आग्रह पनि गरिएको छ ।

यस्तै कालिञ्चोक, विगु र गौरीशंकर गाउँपालिकाले आफूसँग भएका स्वास्थ्य जनशक्ति र स्रोत साधन प्रयोग गरी सिंगटिस्थित अस्पतालमा संयुक्त आइसोलेसन केन्द्र सञ्चालनमा ल्याउने भएका छन् । यसको स्थापना तथा सञ्चालन तीनवटै गाउँपालिका अध्यक्ष रहने संयुक्त समितिले गर्नेछ । अन्य पालिकाहरूका हकमा मेडिकल अधिकृत रहेको पालिकाले सामान्य तथा मध्यम लक्षण भएका बिरामी राख्न मिल्नेगरी कम्तीमा पाँच बेड क्षमताको आइसोलेसन केन्द्र स्थापना तथा सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

गत केही दिनयता जिल्लामा कोभिडको प्रकोप उच्च दरमा बढिरहेको र यसको व्यवस्थापनका लागि जिल्लाका स्थानीय तहहरूमा बजेट विनियोजन नभएको हुँदा पालिकामा हालसम्म बचत रहेका जुनसुकै बजेट शीर्षकहरूबाट कोभिड–१९ संकट व्यवस्थापनका लागि खर्च रकम जुटाउन सबै पालिकाहरूलाई सिफारिस साथ अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।

यस्तै बैठकले हालसम्म काठमाडौँ र अन्य जिल्लाबाट दोलखा प्रवेश गर्ने व्यक्तिहरूलाई होम क्वारेन्टाइनमा राख्ने गरिएकोमा अबउप्रान्त अनिवार्यरूपमा सामुदायिक क्वारेन्टाइनमा राख्ने, त्यस्तो क्वारेन्टाइहरूको आवश्यक संख्यामा सञ्चालन र व्यवस्थापन सम्बन्धित पालिकाले नै मिलाउने, कुनै व्यक्तिले क्वारेन्टाइनमा बस्न नमानेमा प्रहरीले आवश्यक कानुनी कारबाही गर्ने, निषेधाज्ञाको पूर्ण कार्यान्वयनमा व्यापक सुरक्षाकर्मी परिचालन गर्नुपर्ने देखिएकोले सुरक्षाकर्मीलाई आवश्यक पर्ने स्वास्थ्य सुरक्षाका सामग्रीहरू सबै पालिकाहरूले आवश्यकताअनुसार उपलब्ध गराउने निर्णय गरेको छ ।

बैकिङ तथा वित्तीय सेवा आंशिक मात्रै सञ्चालन गर्न निर्देशन : जिल्ला प्रशासन कार्यालय दोलखाले बैंक तथा वित्तीय संस्थालाई आंशिकरूपमा मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ । शुक्रबार बसेको डीसीसीएमसीको बैठकले सरकारी कार्यालय, वित्तीय संघसंस्था तथा अन्य भीड हुने ठाउँका कार्यालयले सातामा दुई दिन मात्र सेवा दिन पाउने निर्णय गरेको हो । अब जिल्लाका सम्पूर्ण बैंकहरू आइतबार र बिहीबार मात्रै खुल्नेछन् ।

त्यसैगरी बैठकले गत वैशाख २१ गतेदेखि लागू गरेको निषेधाज्ञाको समय बढाएर जेठ १५ गतेसम्म पु-याएको छ । कोरोना संक्रमितको संख्या अत्यधिक बढ्दै गएपछि यसको रोकथाम र न्यूनीकरणका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो । यस्तै विवाह, ब्रतबन्ध, कुल पूजालगायतको गतिविधि रोक्न नौवटै स्थानीय तहलाई निर्देशन दिइएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया