Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसरकारलाई ५ सय ६० अक्सिजन सिलिन्डर हस्तान्तरण

सरकारलाई ५ सय ६० अक्सिजन सिलिन्डर हस्तान्तरण


काठमाडौं ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत नेपाल ल्याइएका पाँच सय ६० अक्सिजन सिलिन्डर सरकारलाई हस्तान्तरण गरिएको छ ।

मध्यपूर्वमा रहेका नेपालीहरू एवं ओमानस्थित नेपाली दूतावासको सहयोग तथा सहकार्यमा शनिबार नेपाल ल्याइएका ७५ लाख रूपैयाँभन्दा बढीको अक्सिजन सिलिन्डर आइतबार एक कार्यक्रमका बीच सरकारलाई हस्तान्तरण गरिएको हो ।

उक्त सामग्री संघका अध्यक्ष कुमार पन्त र संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् । ओमानदेखि काठमाडौँसम्म ल्याइएको अक्सिजन सिलिन्डर ढुवानीको खर्च भने नेपाल सरकारले व्यहोरेको हो । सिलिन्डर हस्तान्तरण गर्दै अध्यक्ष पन्तले सबै प्रदेशमा वितरण गर्न अनुरोध गरे ।

नेपालका विभिन्न स्थानहरूमा वितरण गर्न दाताहरूको अनुरोधसहितको पत्र समेत मन्त्री त्रिपाठीलाई हस्तान्तरण गरिएको थियो । अध्यक्ष पन्तले कोभिड–१९ संक्रमणले हाल नेपालमा ज्यादै कठिन र दुखदायी अवस्था सिर्जना हुँदै गइरहेको र संक्रमणका कारण मानवीय क्षति पनि बढ्दो रहेको भन्दै विदेशमा रहेका नेपालीहरूले यस संकटको घडीमा मानवीय सहायताको लागि हात अघि बढाएको बताए ।

संघले विदेशस्थित राजदूतावास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समितिलगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीहरूसँग सहकार्य गरिरहेको जानकारी समेत गराए । संघका संस्थपक अध्यक्ष डां महतोले आफ्नो मुलुकमा आपत परेको बेलामा जहिले पनि गैरआवासीय नेपालीहरूले सहयोग गरेको र भविष्यमा पनि गरिरहने बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री त्रिपाठीले उक्त सिलिन्डर आवश्यकताअनुसार लुम्बिनी प्रदेशमा दुई सय थान, सुदूरपश्चिम प्रदेशमा एक सय थान, कर्णाली प्रदेश एक सय थान, प्रदेश नं २ मा ८५ थान र गण्डकी प्रदेशलाई ७५ थान वितरण गर्ने जानकारी दिए ।

कार्यक्रममा मध्यपूर्वका क्षेत्रीय उपसंयोजक मनोज कुमार श्रेष्ठ, मध्यपूर्वका क्षेत्रीय युवा संयोजक राजु रेग्मी, एनसीसी बहराइनका पूर्वअध्यक्ष श्याम तामाङ, एनआरएनए खेलकुद प्रतिष्ठानका सदस्य सचिव धर्मराज गिरीलगायत मध्यपूर्व क्षेत्रका दाता तथा सहयोगीहरूको सहभागिता रहेको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया