Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनागरिकता र राष्ट्रिय परिचयपत्रका आधारमा मतदान गर्न सकिने

नागरिकता र राष्ट्रिय परिचयपत्रका आधारमा मतदान गर्न सकिने


काठमाडौं ।
निर्वाचन आयोगले वाग्मती प्रदेशमा बिहीबार हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायतका कागजात देखाएर मतदान गर्नसकिने व्यवस्था गरेको छ ।

निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा पनि मतदान गर्न सक्नेछन् । स्थानीय तह निर्वाचन, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन र उपनिर्वाचन, २०७६ मा आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्रका आधारमा मतदान गर्न सकिने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन पनि दिएको छ ।

मौनअवधि पूर्ण पालना गर्न निर्देशन : उपनिर्वाचन प्रयोजनका लागि गएराति १२ बजेदेखि निर्वाचन मौन अवधि सुरु भएको छ । आयोगले सो अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने मात्र होइन मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटरवरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्नेबारे राजनीतिक दल र उम्मेदवारको ध्यानाकर्षण गराएको छ ।

एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने तथा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुनेगरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएकाले आचरण पालना गर्न गराउन आयोगले सबैसँग अनुरोध पनि गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया