Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी ऐन ल्याउन आग्रह

सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी ऐन ल्याउन आग्रह


काठमाडौं । सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी ऐन ल्याउन सुनचाँदी व्यवसायीहरूले सरकारसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरूको एक प्रतिनिधिमण्डलले सोमबार प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटी सुनचाँदी व्यवसाय सञ्चालनसम्बन्धी प्रस्ट ऐन ल्याउन आग्रह गरेका हुन् ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त प्रधानमन्त्री देउवासँग प्रस्ट ऐन तथा नीति निर्देशिकाको अभावमा व्यवसाय सञ्चालनमा कठिनाइ उत्पन्न भएको भन्दै यथाशीघ्र ऐन निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएको हो । भेटमा प्रधानमन्त्री देउवाले सुनचाँदी व्यवसायी महासंघले राखेका माग सम्बोधन गर्न पहल गर्ने आश्वासन दिएका छन् । उनले व्यवसायीमाथि परेका समस्या समाधान गर्न सरकार सदैव तयार रहेको बताए ।

त्यसक्रममा नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले व्यवसायीका लागि आवश्यक पर्ने ऐन निर्माणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले सुनचाँदीको कारोबारसम्बन्धी ऐन नहुँदा सुनचाँदी व्यवसाय सञ्चालनमा समस्या आएको विषयमा आफू जानकार रहेको उल्लेख गर्दै यो समस्या शीघ्र समाधान हुनुपर्ने आवश्यकता औँल्याए ।

प्रधानमन्त्री देउवासँगको भेटका क्रममा महासंघका अध्यक्ष शाक्यले सुनचाँदी व्यवसायमा देखिएका समस्याका विषयमा जानकारी गराएका थिए । भेटका क्रममा महासंघका तर्फबाट उपाध्यक्षहरू विपिन रामुदामु, शिव सर्राफ, महेन्द्ररत्न शाक्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सचिव किरणभाई बज्राचार्य, सदस्य सुविन बज्राचार्यलगायतको सहभागिता रहेको थियो । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x