Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेक र स्थानीय सडक पुल एकाइबीच समझदारीपत्रमा हस्ताक्षर

नेक र स्थानीय सडक पुल एकाइबीच समझदारीपत्रमा हस्ताक्षर


काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) र स्थानीय सडक पुल एकाइबीच पुलको डिजाइनसम्बन्धी पाठ्यक्रम विकास तथा लागू गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा नेकको तर्फबाट कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठ र स्थानीय सडक पुल इकाइको तर्फबाट एकाइका टिम लिडर इन्जिनियर सकिल मानन्धरले हस्ताक्षर गरेका थिए ।

समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा स्थानीय सडक पुल एकाइका इन्जिनियर चुमनबाबु श्रेष्ठ र नेक स्नातकोत्तर कार्यक्रमका निर्देशक डा. तुसिता चाँदनी शाहीको पनि उपस्थिति थियो । उक्त समझदारीअनुसार दुवै संस्था मिली नेपालका स्थानीय सडकहरूमा दिगो र टिकाउ पुल बनाउन के–कस्ता प्राविधिक पक्षहरूलाई ध्यान दिने र कसरी चुस्त पुलहरू डिजाइन गर्ने भन्ने विषयको पाठ्यक्रम तयार गरी स्नातक तहका इन्जिनियरिङ विद्यार्थीहरूलाई अध्यापन गराइने छ ।

साथै विद्यार्थीहरूले सोही विषयमा प्रोजेक्ट गर्न चाहेमा तथ्यांक तथा फिल्डमा जाने बस्ने खर्च समेत उपलब्ध गराउने प्रावधानहरू छन् । डिजाइन तथा सुपरभिजनको कमजोरीले हरेक वर्ष मनसुनमा दर्जनौँ पुलहरू भत्किरहेको नेपालमा उक्त समझदारी कार्यान्वयनपश्चात पुल निर्माण प्रविधिमा उल्लेख्य सुधार हुने तथा सक्षम इन्जिनियरहरू उत्पादन हुने अपेक्षा गरिएको छ ।

नेक नेपालमा १० हजारभन्दा बढी इन्जिनियरहरू उत्पादन गरिसकेको गैरनाफामूलक संस्था हो भने स्थानीय सडक पुल एकाइ नेपालमै स्थानीय सडकहरूमा वर्षेनी सयभन्दा बढी पुल निर्माण गर्दा डिजाइन र सुपरभिजनमा प्राविधिक सहयोग गर्दै आएको संस्था हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया