Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालखेलाडी तथा खेल पूर्वाधारको विकासका लागि बजेट बढाउन सुझाव

खेलाडी तथा खेल पूर्वाधारको विकासका लागि बजेट बढाउन सुझाव


काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई पूर्वखेलकुद मन्त्रीहरूले खेलाडी तथा खेल पूर्वाधारको विकासका लागि बजेट बढाउन सुझाव दिएका छन् । साथै उनीहरूले खेलकुद मन्त्रालय सधैँ उत्पीडनमा परेको गुनासो समेत गरेका छन् ।

युवा तथा खेलकुद मन्त्री गहतराजले पूर्वमन्त्री तथा राज्यमन्त्रीहरूसँग सुझाव लिनका लागि सोमबार सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा आयोजना गरेको राय परामर्श कार्यक्रममा उनीहरूले खेल क्षेत्रको समग्र विकासका लागि मन्त्रालयले अत्यधिक मात्रामा बजेटको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सहभागी पूर्वयुवा तथा खेलकुद सहमन्त्री चन्द्रा चौधरीले मन्त्रालयले युवा लक्षित कार्यक्रमहरूमा विशेष जोड दिनुपर्ने बताइन् । राज्यका अन्य निकायले समेत युवालक्षित कार्यक्रम गर्दै आएको भए पनि ती सबै कार्यक्रमहरूलाई मन्त्रालयकै मातहतमा ल्याउन उनले सुझाव दिइन् । त्यसैगरी खेलाडी तथा खेल क्षेत्रको समग्र विकासका लागि मन्त्रालयले अत्यधिक मात्रामा बजेटको व्यवस्थापन गर्नुपर्ने र खेलाडीहरूको जीवनस्तर उकास्ने खालका गतिविधिहरूमा जोड दिनुपर्ने चौधरीको भनाइ थियो ।

यस्तै पूर्वराज्यमन्त्री गोपी अछामीले जनशक्ति, पूर्वाधार र बजेटको स्थिति हेर्दा खेलकुद मन्त्रालय सधैँ उत्पीडनमा परेको आभाष हुने बताए । अछामीले मन्त्रालयलाई आर्थिक रूपमा सबल बनाउनुपर्नेमा जोड दिए । साथै खेलकुद क्षेत्रमा सक्रिय बिचौलीयाहरूलाई निरुत्साहित गर्दै लक्षित वर्गलाई समेट्ने खालका प्रभावकारी गतिविधिहरूलाई व्यापकता दिनुपर्ने बताउँदै अछामीले खेलाडीहरूलाई नियमित रूपमा अभ्यास तथा तालिमको व्यवस्था मिलाउन सुझाव दिए ।

उनले केन्द्र, प्रदेश र स्थानीयस्तरमा आयोजना गरिने खेलकुद प्रतियोगिताहरू खेल संरचाना निर्माणमा सहयोग पुग्ने भएकाले त्यस प्रकारका गतिविधिहरूलाई निरन्तता दिनुपर्नेमा जोड दिए । यस्तै पूर्वमन्त्री जगत बहादुर विश्वकर्माले धेरै लामो प्रयासपछि निर्माण भएको ‘खेलकुद विकास ऐन’ कार्यान्वयन प्रक्रियामा लैजान आग्रह गरे । बाहिरी रूपमा ऐनप्रति विभिन्न खालका टिकाटिप्पणी हुने गरेको भए पनि वर्तमान खेलकुद क्षेत्रको अवस्थालाई व्यवस्थापन गर्ने सामर्थ खेल विकास ऐनले राख्ने कुरामा आफू ढुक्क रहेको विश्वकर्माले बताए ।

अघिल्लो सरकारले राम्रा खालका योजनाहरू अगाडि बढाएको जिकिर गर्दै विश्वकर्माले विगतमा सुरु भएका खेल पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न गर्ने दायित्व मन्त्रालयको काँधमा रहेको पनि बताए । उनले सातवटै प्रदेशमा निर्माण गर्ने भनिएका अत्याधुनिक खालका प्रादेशिक रंगशाला निर्माणकार्यलाई पूर्णता दिनसके स्थानीयस्तरबाट ठूलो मात्रामा खेलाडीहरू उत्पादन हुनुका साथै खेल पर्यटनमा समेत यसले टेवा पु-याउने बताए ।

खेल पर्यटनका हिसाबले पनि नेपाल संसारकै उत्कृष्ट देश भएको उनको भनाइ थियो । उनले भने, ‘नेपाल मात्र एक यस्तो देश हो, जहाँ संसारमा खेलिने सबै प्रकारका खेलहरू खेल्न सक्ने खालको भौगोलिक बनावट छ ।’ खेलकुद मन्त्रालयअन्तर्गत रहेको युवा स्वरोजगार कोष बिचौलीयाहरूको कमाइ खाने भाँडो बनेको प्रति दुःख व्यक्त गर्दैै पूर्वमन्त्री विश्वकर्माले युवा स्वरोजगारको पैसा लक्षित वर्गसम्म पु-याउन नयाँ खालको नीति बनाउनुपर्नेमा जोड दिए ।

छलफल कार्यक्रममा युवा तथा खेलकुद मन्त्री गहतराजले सबै पक्षको सुझावका आधारमा नयाँ योजनाहरू तर्जुमा गरिने बताए । विगतमा भएका राम्रा कामको निरन्तरता र प्रभावकारी नयाँ कार्यको थालनीका लागि आफू निरन्तर छलफलमै रहेको उनको भनाइ थियो । साथै उनले मन्त्रालयको स्तर उठाउने कार्यमा आफू दिनरात लागि परेको बताए ।

छलफलबाट महत्वपूर्ण सुझाव संकलन भएको उल्लेख गर्दै उनले प्राप्त सुझावलाई मार्गनिर्देशका रूपमा ग्रहण गर्ने बताए । कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव कमलप्रसाद पोखरेलले मन्त्रालयको जिम्मेवारी र हालसम्म भएगरेका गतिविधिहरूका बारेमा जानकारी दिएका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x