Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालढाका कपडा तथा वस्तु उत्पादनहरुको प्रदर्शनी पुसमा

ढाका कपडा तथा वस्तु उत्पादनहरुको प्रदर्शनी पुसमा


काठमाडौं । ढाका कपडा र यसबाट बनेका वस्तुहरुको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले व्यवसायीहरुको राष्ट्रिय सम्मेलन तथा दोस्रो ढाका वस्तु प्रदर्शनी आगामी पुस पहिलो साता आयोजना हुने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा आगामी पुस २, ३ र ४ गते काठमाडौँको बानेश्वर थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा प्रर्दशनी र सम्मेलन हुने बताइएको छ । ढाका उद्यमी व्यवसायीहरुको छाता संस्थाको रुपमा नेपाल ढाका कपडा उद्योगी व्यवसायी संघलाई व्यवस्थित ढंगले अगाडि बढाउन सो संघलाई पुनर्गठन समेत गर्नेगरी पुस दुई गते देशभरका ढाका उद्योगी तथ व्यवसायीहरुको राजधानीमा भेला आयोजना गर्न लागिएको हो ।

यस्तै पुस २ र ३ गते दोस्रो ढाका वस्तु प्रदर्शनी पनि आयोजना गर्नेगरी तयारी भइरहेको संघले जनाएको छ । परापूर्वकालदेखि चलिआएको परम्परागत उद्योग व्यवसायहरुमध्ये नेपालको एक मौलिक उत्पादन ढाका कपडा थोरै पुँजी, परम्परागत प्रविधि र स्थानीय जनशक्तिमा आधारित रहेको छ । ढाका उद्योग व्यवसाय जुनकुनै स्थानमा पनि सजिलैसँग सञ्चालन गर्न सकिने भन्दै संघले देशको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म सबै ग्रामीण, अर्धसहरी तथा सहरी क्षेत्रहरुमा घरायसी एवं व्यावसायिक प्रयोजनका लागि ढाका कपडा तथा ढाका वस्तु उत्पादन र प्रयोग गर्ने कार्य हुँदै आएको जनाएको छ ।

ढाका उद्योगले ग्रामीण क्षेत्रमा स्वरोजगार तथा रोजगार एवं आय वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह भएको छ भने अमेरिका, जापान, जर्मनी, क्यानडा, स्वीजरल्याण्ड, नेदरल्याण्डलगायतका देशहरुमा निकासी भई वैदेशिक व्यापारघाटा न्यूनीकरण र वैदेशिक मुद्रा आर्जनमा समेत सहयोग पु-याउँदै आएको नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताए । उनका अनुसार यसले आयातित कपडाहरुलाई प्रतिस्थापन गर्न समेत सहयोग पु-याउँदै आएको छ । ढाका उद्योगको खास गरेर तीनवटा महत्वपूर्ण पाटाहरु रहेको उनले बताए । स्वदेशी बजारमा व्यापकता प्रदान गर्दैै विदेशबाट आयात हुने कपडाको मात्रा न्यूनीकरणमा सहयोग पु-याउनु, स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नु, ढाकाका वस्तु उत्पादन गरी बजारीकरण र त्यसको निकासीबाट उद्यमी तथा राष्ट्रलाई हुने लाभ र नेपाली मौलिक उत्पादनको विश्व बजारमा प्रचारप्रसार र पहिचान एवं प्रवद्र्धन हुनगई फेसन इन्डस्ट्रीमा परम्परागत र नवीन वस्तुको रुपमा स्थापित हुनु यसको महत्वपूर्ण पाटो भएको उनले बताए ।

अहिले ढाका तथा ढाकाजन्य वस्तुको उत्पादनको गुणस्तर कायम गरी तिनको निकासी गर्न सकिने अवस्था रहेको संघको भनाइ छ । अहिले पनि ढाका तथा ढाकाजन्य उत्पादनहरु निर्यात भइरहेका छन् तर यस्ता निर्यात भएका ढाका उत्पादनहरुको लेखाजोखा र तथ्यांक राख्ने कार्य भने भएको देखिँदैन । विभिन्न शीर्षकजस्तै हस्तकलाका वस्तु वा सुती कपडाअन्तर्गत ढाकाका वस्तुहरु निर्यात भइरहेका छन् । यसका देशभर पाँच हजारभन्दा बढी व्यवसायीहरु रहेका छन् । एक लाखभन्दा बढीलाई रोजगारी सिर्जना गरेको यस व्यवसायको प्रवद्र्धन र गुणस्तर अभिवृद्धिको क्षेत्रमा पनि प्रभावकारी प्रयास हुन नितान्त जरुरी रहेको संघका अध्यक्ष रमेश श्रेष्ठ बताउँछन् ।

श्रेष्ठका अनुसार हालसम्म ढाका कपडा उत्पादनमा परम्परागत सीप शैली डिजाइन प्याटर्नको मात्र प्रयोग भइरहेकोमा अहिले आएर यसका उत्पादनहरुमा बजारको माग तथा बदलिँदो परिवेशअनुसार उत्पादन विविधिकरण कार्यको थालनी भएको छ । यस्तै ढाका व्यवसायको वर्तमान स्थितिको विश्लेषण गरी यस व्यवसायमा देखापरेका समस्याहरु तथा समाधानका उपायहरुको पहिचान गरेर सम्बन्धित निकायमा रचनात्मक सुझाव दिन, ढाका बुन्न प्रयोग हुने सुतीको धागोमा भ्याट लगाउने कार्यका लागि विभिन्न स्वार्थसमूहबाट हुने र भइरहेको प्रयासलगायत ढाकासँग यावत विषयबारे गहन छलफल गर्न ढाका उद्यमीको राष्ट्रिय भेला बोलाउन लागिएको उनले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x