Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुई देशमा श्रमस्वीकृति स्थगन

दुई देशमा श्रमस्वीकृति स्थगन


काठमाडौं । रसिया र युक्रेनमा जारी द्वन्द्वका कारण सरकारले श्रम स्वीकृति स्थगन गरेको छ । सरकारले वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत वा व्यक्तिगतरूपमा रसिया जाँदा हुनसक्ने थप क्षतिलाई न्यूनीकरण गर्न श्रम स्वीकृति स्थगन गरेको वैदेशिक रोजगार विभागले जनाएको छ । रसियासँगै युक्रेनमा पनि रोजगारीमा जान विभागले श्रम स्वीकृति नदिने भएको छ ।

रसिया र युक्रेनबीच युद्ध भइरहेको अवस्थामा नेपाली नागरिकहरू रुसी सैनिकमा भर्ना भई युद्धमा सहभागी भएपछि सरकारमाथि नैतिक दबाब परेको थियो । विभागले नेपाली नागरिक युद्धमा बन्धनमा परेको र ज्यान गुमाउन परेका कारण हालका लागि श्रम स्वीकृति रोक्ने निर्णय भएको जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार रसिया–यक्रुेन युद्धमा नौ जना नेपालीले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरी छन्  । यस्तै रुसी सेनामा भर्ती भएका गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगंगाका रूपक कार्की, पोखरा कास्कीका देवान राई, स्याङ्जा पुतलीबजारका पितम कार्की, दोलखा मेलुङका राजकुमार रोका, इलामका गंगाराज मोक्तान तथा कुन्दन सिंह नागलको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार रसियाको सेनामा भर्ती भएका चार जना नेपाली युक्रेनी सेनाको कब्जामा छन् । बर्दियाका विवेक खत्री, काभ्रेका सिदार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुन युक्रेनी सेनाको कब्जामा छन् । उनीहरूलाई छुटाउनका लागि मन्त्रालयले अन्तर्राष्ट्रिय संघ, संस्था र कूटनीतिक पहल जारी राखेको जनाएको छ ।

विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै रसिया यक्रुेन युद्धका कारण वैदेशिक रोजगारीको सिलसिलामा ती मुलुक जाँदा थप क्षति नहोस् भन्ने उद्देश्यले हालका लागि श्रम स्वीकृति स्थगन गरिएको बताएको छ । ‘रसिया तथा युक्रेनबीच युद्ध भइरहेको तथा नेपाली नागरिकहरू रुसी सेनामा भर्ना भई युद्धमा दुःखद निधन भएको समाचारहरू आइरहेको सन्दर्भमा र यस विषयमा अध्ययन तथा छानबिन समेत भइरहेकोले वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत वा व्यक्तिगतरूपमा नेपाली नागरिकहरू रसिया जाँदा हुनसक्ने थप क्षतिलाई न्यूनीकरण गर्न र यस विषयलाई मध्यनजर गरी हाललाई अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको छ’, सूचनामा भनिएको छ ।

विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको मंसिरसम्म रसियामा श्रम गर्न जान पाँच महिलासहित तीन सय ४४ जनाले श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार साउनमा ५३ जना पुरुष, भदौमा एक सय ६० जना पुरुष र एक जना महिला, असोजमा ४७ जना पुरुष, कात्तिकमा ४० जना पुरुष र तीन जना महिला र मंसिरमा ३९ जना पुरुष र एक जना महिलाले श्रम स्वीकृति लिएका छन् ।

सरकारले यसअघि द्वन्द्वरत मुलुकमा जान लागेका नेपालीहरूलाई रोक्नुको साटो श्रम स्वीकृति प्रदान गरी जान सहजीकरण गरेको थियो । मुलुकमा रोजगारीको अभावले गर्दा नेपालीहरू वैदेशिक रोजगारीमा गएको पाइन्छ भने द्वन्द्वरत तथा द्वन्द्वग्रस्त मुलुकमा उनीहरू कामका लागि जाँदा ज्यानको जोखिम हुन्छ । तर, आकर्षक आम्दानीको प्रलोभनमा परी द्वन्द्वरत मुलुकमा उनीहरू जानेगरेको पाइन्छ भने राज्यले पनि त्यसलाई समयमै नियन्त्रण गरेको पाइँदैन । नेपाली युवाहरू द्वन्द्वरत मुलुकका साथै सरकारले रोक लगाएका मुलुकमा समेत श्रम स्वीकृतिविना नेपालीहरू रोजगारीका लागि पुगेका छन् । वैदेशिक रोजगारीको लागि द्वन्द्वरत मुलुकमा गएको र हाल देखिएको समस्या भने पहिलो पटक होइन । यसअघि इराक, अफगानिस्तान, लिबियालगायतका मुलुकमा नेपाली नागरिकहरू काम गर्न गएको देखिन्छ । यसरी द्वन्द्वरत मुलुकमा नेपाली युवाहरू जाँदा समस्यामा पर्नेगरेका छन् भने उनीहरूलाई द्वन्द्वरत अवस्थामा जान नदिने, उद्धार गर्नेलगायतका सरकारी प्रयासहरू भने निकै ढिलासुस्ती भएको पाइन्छ ।

वैदेशिक रोजगारीको नाममा मानव तस्करीहरूले समेत ती मुलुकहरूमा पठाउने गरेको विभागका अधिकारीहरू बताउँछन् । उनीहरूका अनुसार भारतसँग खुला सीमानाका कारण मानव तस्करहरूले वैदेशिक रोजागरीको नाममा द्वन्द्वरत मुलुक, रोक्का गरिएको मुलुकहरूमा नेपालीहरू कामको लागि पुग्ने गरेका छन् । यसैबीच द्वन्द्वरत मुलुक, रोक्का गरिएको मुलुकमा समस्यामा परेका नेपालीहरूको ढिलै भए पनि सरकारले उद्धार गर्नेगरेको छ । यसअघि सरकारले द्वन्द्वग्रस्त मुलुक इजरायल, अफगानस्तिानलगायतका मुलुकमा समस्या तथा युद्धमा फसेका नेपालीलाई उद्धार गरी स्वदेश ल्याएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया