Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपालको अर्थतन्त्र सुध्रिँदै गएको विश्व बैंकको प्रक्षेपण

नेपालको अर्थतन्त्र सुध्रिँदै गएको विश्व बैंकको प्रक्षेपण


काठमाडौं । विश्व बैंकले नेपालको अर्थतन्त्रको विस्तार सन्तोषजनक रहेको प्रक्षेपण गरेको छ । विश्व अर्थतन्त्रबारे जारी गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ अनुसार चालू आर्थिक वर्ष २०८०/८१मा नेपालको आर्थिक वृद्धि तीन दशमलव नौ प्रतिशत हुने प्रक्षेपण गरेको छ । यस्तै आगामी आर्थिक वर्ष पाँच प्रतिशत आर्थिक वृद्धि हुने उल्लेख गरेको छ ।

गतवर्ष आयातमा गरेको प्रतिबन्ध र मौद्रिक नीतिमा गरिएको कडाइका कारण आर्थिक वृद्धिदरमा असर परेको विश्व बैंकले उल्लेख गरेको छ । तर, अहिले आयात सहज रहेको र मौद्रिक नीतिमा लिइएको खुकुलो नीतिका कारण अर्थतन्त्रले गति लिने अनुमान गरेको हो । यस्तै औद्योगिक र सेवा क्षेत्रमा सुधार हुँदै गएकोले पनि आगामी वर्ष आर्थिक वृद्धिदर अहिलेको भन्दा उच्च रहने प्रक्षेपण गरेको विश्व बैंकले जनाएको छ ।

गत आर्थिक वर्ष २०७९/८०मा नेपालको आर्थिक वृद्धि एक दशमलव नौ प्रतिशत थियो । जब कि आर्थिक वर्ष २०७८/७९मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव छ प्रतिशत थियो ।

प्रतिवेदनअनुसार नेपालको अर्थतन्त्रको विस्तार विश्व अर्थतन्त्रको वृद्धिको तुलनामा राम्रो छ । विश्व बैंकले सन् २०२४मा विश्वको औसत आर्थिक वृद्धिदर दुई दशमलव चार प्रतिशत रहने प्रक्षेपण गरेको छ । सन् २०२५मा पनि विश्व अर्थतन्त्र सुस्त रहने अनुमान विश्व बैंकको छ । आगामी वर्ष विश्व अर्थतन्त्र दुई दशमलव सात प्रतिशतले बढ्ने प्रक्षेपण विश्व बैंकले गरेको हो ।

ठूला अर्थतन्त्र भएका मुलुकहरूमध्ये भारतको अर्थतन्त्र निकै बलियो देखिएको छ । यसवर्ष भारतको आर्थिक वृद्धि छ दशमलव चार प्रतिशत र आगामी वर्ष छ दशमलव पाँच प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । भारतले गत आर्थिक वर्षमा सात दशमलव दुई प्रतिशत आर्थिक वृद्धि हासिल गरेको थियो ।

चीनको आर्थिक वृद्धिदर पनि यसवर्ष चार दशमलव पाँच प्रतिशत र आगामी वर्ष चार दशमलव तीन प्रतिशतले विस्तार हुने अनुमान छ । अमेरिका, जापानलगायत विशाल अर्थतन्त्र भएका मुुलुकको आर्थिक वृद्धिदर भने निकै कम हुने अनुमान विश्व बैंकको छ ।

ठूला अर्थतन्त्र भएका मुलुकका केन्द्रीय बैंकले अवलम्बन गरेको कडा खालका मौद्रिक नीति, सहज अवस्थामा फर्किन नसक्ने विश्व व्यापार र लगानीको अवस्थाका कारण ती मुलुकको आर्थिक वृद्धिदर न्यून रहने प्रक्षेपण गरेको हो । अमेरिकी अर्थतन्त्र यसवर्ष एक दशमलव छ प्रतिशत र आगामी वर्ष एक दशमलव सात प्रतिशतले मात्रै विस्तार हुने प्रक्षेपण गरेको छ । यस्तै जापानी अर्थतन्त्र यसवर्ष शून्य दशमलव नौ प्रतिशत र आगामी वर्ष शून्य दशमलव आठ प्रतिशतले विस्तार हुने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।

दक्षिण एसियामा भारतपछि बंगलादेशको आर्थिक वृद्धिदर उच्च रहनेछ । सन् २०२४मा बंगलादेशको आर्थिक वृद्धि पाँच दशमलव छ प्रतिशत र सन् २०२५मा पाँच दशमलव आठ प्रतिशत रहनेछ । माल्दिभ्सको यसवर्ष पाँच दशमलव दुई प्रतिशत र आगामी वर्ष पाँच दशमलव पाँच प्रतिशत पुग्ने अनुमान छ ।

दक्षिण एसियामा सबैभन्दा कम आर्थिक वृद्धिदर पाकिस्तान र श्रीलंकाको रहने अनुमान छ । यस वर्ष यी दुवै देशको आर्थिक वृद्धि एक दशमलव सात प्रतिशत र आगामी वर्ष दुई दशमलव चार प्रतिशत हुने प्रक्षेपण छ ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया