Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारलाई गम्भीर बन्न मोरङ व्यापार संघको आग्रह

सरकारलाई गम्भीर बन्न मोरङ व्यापार संघको आग्रह


विराटनगर । कोभिडपश्चात् विस्तारै लयमा फर्किनलागेको नेपालको अर्थतन्त्र बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदरमा वृद्धि गरेपछि फेरि समस्यामा पर्न थालेको पूर्वी क्षेत्रका उद्योगी तथा व्यवसायीहरुले बताएका छन् ।

मोरङ व्यापार संघले केही महिनादेखि चर्किँदै गएको बैंक ब्याजदर, तरलता अभाव तथा आयातमा गरिएका कडाइले औद्योगिक व्यवसायको आर्थिक चक्र नराम्ररी प्रभावित भएको भन्दै लगानीयोग्य पुँजीको अभावमा उद्योग व्यवसायहरु आ–आफ्ना क्षमताअनुरुप कार्य गर्न असमर्थ हुँदै गएको जनाएको छ । विगत छ महिनामै एकल अंकको बैंक ब्याजदर दोब्बर हुन गएको र छोटो अवधिमै भद्र सहमति भंग गर्दै बैंकहरुले आफूखुसी चार प्रतिशतसम्म स्पे्रड दर कायम गरेको मोरङ व्यापार संघको भनाइ छ । संघका अध्यक्ष नवीन रिजालले बैंकहरुको करोडौँका नाफा गर्दा पनि उद्योग व्यवसाय र उपभोक्ताहरुको अवस्था भने नाजुक रहेको बताए । यसप्रति सरकार र राष्ट्र बैंकले खासै चासो नदिएको उनको आरोप छ ।

राष्ट्र बैंकले हाल जारी गरेको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ का केही प्रावधानहरु समेत औद्योगिक व्यावसायिक वातावरण खलबल्याएको उनको भनाइ छ । त्यसलाई तत्कालै सुधार गर्न तथा चालू पुँजी कर्जालाई पारदर्शी एवं एकरुपता कायम गर्न उनले माग गरे । साथै, एकल अंकको ब्याजदर कायम गर्नुपर्ने, औद्योगिक व्यावसायिक प्रयोजनका कर्जाको ब्याजदर फरक गर्नुपर्ने, संस्थागत व्याज दर कम गरिनुपर्नेजस्ता विभिन्न मागहरु राष्ट्र बैंकसमक्ष राख्दै आए पनि सुनुवाइ नभएको उनको दुःखेसो छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि तय गरेको सात प्रतिशतको वार्षिक उपभोक्ता मूल्य वृद्धिदर गत साउनमै औसत ८.२६ प्रतिशत हुनपुगेको देखिन्छ । चाडवाड अगावै घ्यू, तेल, फलफूल, माछामासु, गेडागुडी लगायतका खाद्य तथा दैनिक उपभोग्य वस्तुहरुको मूल्य आकाशिएको संघको भनाइ छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत साउनमा खाद्य तथा पेय पदार्थअन्तर्गत घ्यू तथा तेलमा १९.५८ प्रतिशत, फलफूलमा १८.७९ प्रतिशत, रेस्टुरेन्ट तथा होटलमा ११.८४ प्रतिशत, मदिराजन्य पेय पदार्थमा १०.२४ प्रतिशत र दुग्ध पदार्थ तथा अन्डाको मूल्य १०.१९ प्रतिशतले बृद्धि भई सकेको छ । यातायातमा २३.८८ प्रतिशत, स्वास्थ सेवामा १०.५४ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणमा ९.०४, शिक्षामा ८.११ र घरायसी उपभोगका वस्तुहरुमा ७.८६ प्रतिशत मूल्यवृद्धि भएको तथ्यांक संघले सार्वजनिक गरेको छ ।

संघले यो अवस्थालाई नियन्त्रण गर्न नसके उद्यमी व्यवसायीहरु पलायन हुने खतरा रहनुका साथै मुलुकको आर्थिक गतिविधिहरु सञ्चालन गर्न कठिन हुन गई अर्थतन्त्रमा प्रतिकूल असर पर्ने उल्लेख गरेको छ । यस्तै कर्जाको व्याजदर वृद्धि हुँदा तत्काल लगानीकर्तालाई असर परे पनि अन्ततः यसको मार उपभोक्ता मै पर्ने संघको भनाइ छ । छिमेकी राष्ट्र बंगलादेश र भारतले अर्थतन्त्र सुदृढीकरणका लागि उद्योगी व्यवसायीहरुलाई प्रोत्साहित गरिरहेको अवस्थामा नेपालमा त्यसको ठीक विपरीत नीतिहरु देखिनु दुःखदायी भएको संघको गुनासो छ । खुल्ला सीमाबाट चोरी निकासी पैठारी समेत हुने गरेकाले स्वदेशी उद्योग व्यवसाय थप प्रताडित भएको भनाइ मोरङ व्यापार संघको छ । स्वदेशी बजारको सुरक्षा एवं सुव्यवस्थापनका लागि समेत सरकारको कुनै ठोस नीति नलिनु दुःखको कुरा भएको संघले जनाएको छ ।

संघले सरकार, राष्ट्र बैंक र सम्बन्धित निकायहरुलाई मुलुकको विद्यमान अवस्थाहरुप्रति गम्भीर भई नेपाली उद्यमी, व्यवसायी र उपभोक्ताहरुको हक, हित एवं सुरक्षार्थ आ–आफ्नो स्तरबाट जिम्मेवारीपूर्वक तात्कालिक कदमहरु चाल्न माग समेत गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया