Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयोगदानकर्ताले ८ प्रतिशत ब्याज पाउने

योगदानकर्ताले ८ प्रतिशत ब्याज पाउने


काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदान रकममा आठ प्रतिशत ब्याज दिने भएको छ । कोषमा संकलन भएको रकमलाई सुरक्षित लगानी गरी प्रतिफल निकाल्नेमा विश्वस्त रहेको भन्दै ब्याजदर तोकिएको बताएको छ ।

कोषबाट चालू आर्थिक वर्षको लागि योगदान रकममा आठ प्रतिशत ब्याजदर स्वीकृत गरिएको कोषका प्रवक्ता विवेक पन्थीले बताए । ‘कोषले सुरक्षित लगानीमार्फत दिगो प्रतिफल दिने नीतिअनुरुप रहेर निर्माण गरेको लगानी कार्यविधि स्वीकृति भई कार्यान्वयनमा आएको छ’, उनले भने, ‘सो कार्यविधिअनुरुप तोकिएको क्षेत्रमा तोकिएको सीमाभित्र रहेर लगानी गर्दा कोषले दायित्व वहन गर्न आर्जन गर्नुपर्ने न्यूनतम प्रतिफल प्राप्त हुने तथा योगदानकर्तालाई समेत आकर्षक प्रतिफल दिन सक्नेछौँ ।’

कोषमा यो सातासम्ममा योगदानकर्ताबाट २६ अर्ब रुपैयाँभन्दा बढी योगदान रकम संकलन भएको छ । उक्त रकम दुई लाख ७० हजार जना योगदानकर्ताबाट संकलन भएको उनले बताए । ‘पछिल्ला वर्षहरुमा कोषमा सूचीकृत हुने योगदानकर्ताहरुको संख्या उल्लेखनीय रुपमा वृद्धि हुँदा योगदान रकम पनि बढ्दै गएको कोषले जनाएको छ ।

कोषमा प्रतिष्ठान, रोजगारदता, योगदानकर्ताको संख्या वृद्धि हुँदै जाँदा रकम समेत बढ्दै गएको पाइन्छ । अर्कोतर्फ सरकारले समेत कोषलाई रकम निकासा गरेको पाइन्छ । कोषमा आबद्ध योगदानकर्ता तथा रोजगारदाताबाट कोषमा जम्मा गर्नुपर्ने गत आर्थिक वर्षको जेठ र असारको योगदान रकम नेपाल सरकारबाट निकासा भई करिब एक अर्ब ३१ करोड रुपैयाँ रकम कोरोनाका कारणले बन्दाबन्दी रहेको अवधिको राहतस्वरुप योगदानकर्ताको सामाजिक सुरक्षा खतामा जम्मा गरिसकिएको छ । यसले कोषको रकम बढेको छ ।

यसैबीच २०७८ मंसिर दोस्रो सातामा कोषमा सूचीकृत हुने प्रतिष्ठानहरुको संख्या १६ हजार सात सय ८३ वटा रहेकोमा चालू वर्षको दोस्रो सातासम्म आइपुग्दा सूचीकृत हुने प्रतिष्ठानको संख्या १७ हजार पाँच सय छवटा पुगेको छ । समीक्षा अवधिमा अर्थात् २०७८ मंसिर दोस्रो सातासम्म सूचीकृत योगदानकर्ताहरुको संख्या दुई लाख ९१ हजार तीन सय तीन जना रहेकोमा चालू आवको मंसिर दोस्रो सातासम्म आइपुग्दा तीन लाख ७५ हजार नौ सय १४ जना योगदानकर्ता सूचीकृत भएका छन् ।

यस्तै कोषले सञ्चालन गर्ने स्वास्थ्य उपचार तथा मातृत्व सुरक्षा योजना र दुर्घटना योजनाअन्तर्गतका सुविधाहरु चालू आर्थिक वर्षदेखि योगदानकर्ताले कोषको प्रणालीसँग आवद्ध स्वास्थ्य संस्थामार्फत सोझै नगदरहित रुपमा नै प्राप्त गर्ने व्यवस्था गरिएको छ । काल कोषको सुविधा प्रदान गर्ने अस्पतालको संख्या २८ रहेकोमा सो संख्यामा क्रमशः वृद्धि गर्दै लैजाने नीति कोषले अघि सारेको छ ।

कोषमा संकलन भएको रकम नियमसंगतमा रही वितरण समेत गर्दै आएको पाउन सक्छौँ । चालू आर्थिक वर्षदेखि कोषले लगानी कार्यविधिबमोजिम योगदानकर्तालाई प्रदान गरिने सापटी रकम प्रदान गर्न सुरु गरेको छ । योगदानकर्तालाई यस किसिमको कर्जा तथा सापटीबापत करिब ४० करोड रुपैयाँ कोषले उपलब्ध गराइसकेको छ । योगदानकर्ताहरुले कोषबाट घरमै बसेर रकम सापटी लिनसक्ने बताएको छ । यसका लागि कोषले ‘एसएसएफ एप्प’ सार्वजनिक गरेको छ । उक्त एपमार्फत योगदानकर्ताले १३ वटा सेवाहरु लिन सक्नेछन् ।

सरकारले बजेट वक्तव्यमार्फत वैदेशिक रोजगारी वा पेसामा रहेका नागरिकहरुलाई समेत कोषमा आबद्ध गर्ने व्यवस्था गरेबमोजिम छुट्टै कार्यविधि तर्जुमा गरेको छ । यसका साथै अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिहरुका लागि समेत कार्यविधि तर्जुमा गरेको कोषले जनाएको छ ।

असल श्रम सम्बन्धको आधार समािजक सुरक्षा र रोजगार भन्ने मूलनाराका साथ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ गरेको थियो । कोषमा प्रतिष्ठान, रोजगारदाता, योगदानकर्ता, संकलित रकम बढेको पाइन्छ । यति हुँदाहुँदै पनि मुलुकमा रहेका धेरै प्रतिष्ठान, रोजगारदाता, योगदानकर्ताहरु कोषमा आबद्ध हुन सकेको पाउदैनौँ । यसलाई सुधार गर्न आवश्यक रहेको देखिन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया