Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपर्यटकका लागि फर्पिङमा पहिलोपटक हेल्थ साइकलिङ सेन्टर

पर्यटकका लागि फर्पिङमा पहिलोपटक हेल्थ साइकलिङ सेन्टर

एक सातामा करिब एक हजारले सेन्टर भिजिट गरे : निर्देशक आचार्य


काठमाडौं ।
काठमाडौंको दक्षिणी क्षेत्रमा पहिलोपटक पर्यटकका लागि फर्पिङ हेल्थ साइकलिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । व्यवसायी तथा सेन्टरका प्रबन्धनिर्देशक राजेन्द्र आचार्यले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी दक्षिणकाली नगरपालिका, ६ फर्पिङमा पहिलो पटक हेल्थ साइकलिङ सेन्टर सञ्चालनमा ल्याएको बताएका छन् । ‘मैले आफ्नै व्यक्तिगत प्रयासमा आन्तरिक, स्वदेशी तथा विदेशी सबैको लागि काठमाडौंको दक्षिण क्षेत्र फर्पिङमा हेल्थ साइकलिङ सेन्टर स्थापना गरेको छु’, निर्देशक आचार्यले भने,

‘करिब ५० लाख लगानीमा पर्यटक लक्षित गरी हेल्थ साइकलिङ सेन्टर सञ्चालनमा ल्याएको छु । यसको माग भएकै कारण सेन्टर स्थापना तथा सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रमा आउने विभिन्न पर्यटकहरुले साइकलिङको माग गरेसँगै सेन्टर सञ्चालनमा ल्याइएको हो ।’ उनले व्यवसायसँगै पर्यटकको स्वास्थ्य समेत राम्रो होस् भन्ने उद्देश्य रहेको बताए । योसँगै काठमाडौं दक्षिण क्षेत्रको विभिन्न मनोरम दृश्यहरु साइकलिङमार्फत अवलोकन गर्न सकिनेछ ।

दक्षिण क्षेत्रमा रहेका मनोरम दृश्यहरु हेर्नको लागि पर्यटकहरुले करिब ४ देखि ३० किलोमिटर समेत तय गर्न सकिनेछ । ‘हाम्रा क्षेत्रमा दक्षिणकाली, गोपालेश्वर, छैमले (नास्पातीका लागि प्रख्यात ठाउँ), चम्पादेवी, कुलेखानी तथा जलविद्युत् गृहलगायतका विभिन्न पर्यटकीय स्थल छ’, निर्देशक आचार्यले भने, ‘त्यो अवलोकन गर्नका लागि पर्यटकहरुले आफ्नो समयअनुरुप थोरै दूरीदेखि लिएर लामो दूरीमा साइकलिङ गर्न सक्नेछन् ।’

सेन्टरबाट छोटो दूरी साइकलिङ गरेर दक्षिणकाली, गोपालेश्वर, हात्तीवन तथा लामो दूरीमा साइकलिङ गर्ने हो भने कुुलेखानी, चम्पादेवीलगायतका मनोरम स्थानमा पुग्न सकिन्छ । करिब १५ मिनेट साइकलिङ गरेर पर्यटकहरु दक्षिणकाली, गोपालेश्वर, मनकामना, छैमलेलगायतका स्थानमा पुग्न सक्ने उनले बताए ।

लामो दूरी अर्थात् कुलेखानी, चम्पादेवी, काठमाडौं निजगढ (फास्ट ट्रयाक) लगायतका लामो दूरीमा समेत उनीहरु साइकलिङ गर्न सक्नेछन् । सेन्टरले हालका लागि भने एकल र समूहमा आउने दुवै थरी पर्यटकका लागि छुटको समेत व्यवस्था गरेको छ । उनीहरुलाई खाना, बस्नेलगायतको बन्दोबस्तीको आकर्षक प्याकेज समेत प्रदान गर्ने आचार्यको भनाइ छ । ‘भर्खर सञ्चालनमा ल्याएकोले हामीले एकल र समूह जसरी आए पनि छुटको व्यवस्था गरेका छौँ’, उनले भने, ‘यसका साथै साइकलिङ गर्दा समस्या आउला भनेर प्राविधिकहरु समेतको व्यवस्था गरेका छौँ जसले गर्दा बाटोमा समस्या आएमा तुरुन्त प्राविधिकहरु पुग्ने गर्छन् ।’

निर्देशक आचार्यले सेन्टर सञ्चालनमा आएको एक साता नपुग्दै एक हजारभन्दा बढी पर्यटक आएको बताएका छन् भने सेन्टरमा साइकल किन्ने समेत व्यवस्था रहेको बताए । सेन्टरमा मुलुकमै बनेकोदेखि आयात गरिएको महँगो मूल्यका साइकल समेत उपलब्ध छ । यस्तै घरजग्गा व्यवसायी शिव खड्काले फर्पिङ क्षेत्रमा हेल्थ साइकलिङ सेन्टर सञ्चालनमा आउनु खुसीको कुरा भएको बताए । अहिलेको सहरीया जीवनशैलीमा साइकलिङ अत्यन्त आवश्यक रहेको व्यवसायी खड्काको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया