Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधठेकेदारको लापरबाहीले भवन निर्माणमा ढिलाइ

ठेकेदारको लापरबाहीले भवन निर्माणमा ढिलाइ


खोटाङ ।
निर्माण व्यवसायी (ठेकेदार) कम्पनीको ढिलासुस्तीका कारण दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको नौवटा वडा कार्यालय भवन निर्माणमा ढिलाइ भएको छ । नगरपालिकाभित्र निर्माण गरिने भनिएको ११ वटा सुविधा सम्पन्न भवनमध्ये दुईवटा बाहेक अरु निर्माण हुन सकेको छैन । तत्कालीन गाविसको पुरानो भवनबाट सञ्चालन हुँदै आएका वडा कार्यालयलाई पक्की भवनमा सार्ने लक्ष्यका साथ नगरपालिकाले विसं २०७७ पुस मसान्तमा सक्नेगरी नगरपालिकाको ११ वडामा ‘एकै बजेट र एकै किसिम’का भवन निर्माण सुरु गरिएको थियो ।

यसअन्तर्गत वडा नम्बर– १३ नुनथला र वडा नं– १२ जालपाबाहेक अन्य वडाको भवन तोकिएको समयमा कसैले निर्माण सम्पन्न गरेका छैनन् । करिब एक जना अट्ने सभाहल, वडाध्यक्ष, वडासचिव र वडा कार्यसमितिका सदस्य बस्ने चार कोठे भवन बनाउन नगरपालिकाले जिम्मा दिएको निर्माण कम्पनीले निर्माणमा ढिलाइ गर्दा समयमा हस्तान्तरण हुन नसकेको जनाइएको छ ।

नुनथला र जालपामा भने सम्झौता गरेको मितिभन्दा अगावै सजिव निर्माण सेवाका प्रतिनिधि प्रकाश नाछिरिङले सम्पन्न गरेर हस्तान्तरण गरेका थिए । प्रोपाइटर प्रकाश थापा रहेको सजिव निर्माण सेवाले सम्झौता गरेको नगरपालिका–१५ विजयखर्कको भवनसमेत अन्तिम चरणमा पुगेको नगरपालिकाको योजना शाखा प्रमुख सीताराम आचार्यले बताए । यस्तै, केशव तमोटको इन्द्रलक्ष्मी कन्ट्रक्सन र दिनेश पौडेलको पीआर कन्ट्रक्सनको संयुक्त फर्मबाट ठेक्का सम्झौता भएको वडा नं–१ दिक्तेलको कार्यालय भवन भर्खर पिलर हालिएको छ ।

वडा नं–२ सोल्माको भवन भने अन्तिमचरणमा पुगेको नगर कार्यपालिका सदस्य गङ्गाबहादुर विश्वकर्माले जानकारी दिए । वडा नं ४ खाल्लेमा भर्खर घडेरी मात्र सम्याएर छाडिएको जनाइएको छ । स्थान विवादका कारण भवन निर्माण कार्यमा ढिला भएको स्थानीयवासीले जानकारी दिएका छन् । यता कर्ण खत्रीको रुजन निर्माण सेवा र दिलचक्र राईको दोर्पा निर्माण सेवाको संयुक्त ठेक्का सम्झौता भएको वडा नं ७ दोर्पा, वडा नं ८ बुबासुङ तथा वडा नं ९ निर्मलीडाडाँको भवनको समेत अवस्था उस्तै रहेको छ । वडा नं ७ दोर्पाको भवन अन्तिमचरणमा पुगेको नगरपालिका स्रोतले जनाएको छ ।

वडा नं ८ बुवालुुङको भवन भने एक तला ढलान सकिएको जनाइएको छ । वडा नं ९ निर्मलीडाँडामा भने भर्खरै डीपीसी मात्र गरिएको वडा सचिव सञ्जीव मुग्रातिले बताए । उक्त भवन निर्माणका लागि सुरुमा दिलचक्र राईले काम हेरे पनि अहिले रमाहाङ राईले काम गरिरहेको उनले जानकारी दिए । यसैगरी, जोसेफ रिजालको मोहोन एण्ड ब्यासीगाउँ निर्माण सेवाले ठेक्का लिएको वडा नं १० पाथेका र वडा नं ११ खार्मीको भवन भने अलपत्र अवस्थामा छ । पाथेकामा बन्ने भनिएको भवनको पिलरसम्म उठाइएको छ भने, खार्मीको भवनको डीपीसी लेबलसमेत नउठेको त्यहाँका स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

पुस मसान्तसम्ममा सबै वडाको कार्यालय भवन निर्माण पूरा गरिसक्नुपर्नेमा केही वडा सकिएको तथा केही अन्तिमचरणमा र केहीमा भने अति सुस्तगतिमा निर्माणको काम भएको नगरप्रमुख दीपनारायण रिजालले बताए । ‘वडा कार्यालय निर्माण गर्न गरिएको सम्झौता मिति सकिए पनि कानुन त अब तीन महिना थपिनेछ’ उनले भने, ‘थपिएको समयमासमेत काम सम्पन्न नभएमा कानुनअनुसार कारबाही गर्दै निर्माण कम्पनीलाई कालोसूचीमा राखिने छ ।’ वडा कार्यालय भवन निर्माणका लागि नगरपालिकाले प्रत्येक वडामा ६५ लाखका दरले बजेट विनियोजन गरेको थियो ।

जालपाको भवन ठेकेदार कम्पनीले ४७ लाखमै निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको वडाध्यक्ष विकास राईले बताए । पन्ध्र वडा रहेको यस नगरपालिकाको वडा नं ३ बाम्राङ, वडा नं ५ लफ्याङ, वडा नं ६ नेर्पा र वडा नं १४ बुइपामा भने पहिल्यै सुविधासम्पन्न भवन सञ्चालनमा छन् । जिल्लाकै सबैभन्दा ठूलो यस नगरपालिकामा ‘एकै बजेट र एकै किसिम’का भवन निर्माण अभियान सुरु गरिएको हो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया