Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसूचना पाटीविनै सम्पन्न हुन्छन् आयोजना

सूचना पाटीविनै सम्पन्न हुन्छन् आयोजना


भजनी ।
विकास आयोजनाको काम सुरुआत भएपछि आयोजनाको विवरणसहित सार्वजानिक सूचना पाटी अनिवार्यरूपमा राख्नुपर्ने हुन्छ । यसका लागि विकास आयोजनाको लागत बाँडफाँड गर्दा सूचना पाटीका लागि दुई हजारभन्दा माथि रुपैयाँ विनियोजन समेत गरिएको हुन्छ । कैयौँ आयोजनाको काम सम्पन्न भइसक्दासम्म पनि आयोजनाको सूचना पाटी देखिँदैन । कतिपयले बिल, भरपाइ गर्दा सूचना पाटीको फोटो चाहिने भएकोले काम सम्पन्न भएपछि फोटोको लागि सूचना पाटी लगाउने गरेका छन् । अहिले आयोजनाको जानकारी पाउने अधिकारलाई नै वञ्चित गर्ने काम भएको जनाउँदै अहिले विरोध हुनथालेको छ ।

टीकापुर नगरपालिकामा सुदूरपश्चिम प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत नारी शिल्पकलाको भवन निर्माणको काम सकिन लागेको छ । एउटै भवनमा दुईवटा आयोजना छन् । १० लाख रुपैयाँको लागतमा भवनको माथिल्लो तलाको निर्माण भइरहेको छ भने टीकापुरको करिब चार लाख ६५ हजारमा तल्लो तलामा रङरोगन जारी छ ।

निषेधाज्ञा सुरु भएपछि थालिएको भएको आयोजनाको काम सम्पन्न हुनै लाग्दा पनि सूचना पाटी टाँसिएको छैन । नारी शिल्पकलाकी अध्यक्ष कृष्णा भण्डारीले आयोजनाको सुरुदेखि नै सूचना पाटी राख्नुपर्छ भन्ने आफूलाई जानकारी नै नभएको बताइन् । ‘हामीले काम सम्पन्न भएपछि सूचना पाटी राख्ने भनेर तयारी गरेका थियौँ । पहिले नै सूचना पाटी राख्नुपर्छ भन्ने हामीलाई जानकारी नै भएन’, उनले भनिन्, ‘त्यसो भए एक/दुई दिनमै हामी सूचना पाटी राख्छौँ ।’

त्यस्तै टीकापुरमै खप्तड सांस्कृतिक परिवारको भवन पनि निर्माण भइरहेको छ । प्रदेश पूर्वाधार विकास कार्यक्रमको १० लाख बजेटबाट निर्माण हुनलागेको भवनको काम पनि निषेधाज्ञा सुरु भएपछि काम थालिएको हो । आयोजनाको काम अन्तिम चरणमा पुगिसक्दासमेत सूचना पाटी टाँसिएको छैन । संस्थाका अध्यक्ष भक्तराज देवकोटाले सूचना पाटी नराखेर सिधै शिलालेख राखिने बताए । उनले सूचना पाटी निर्माणको चरणमा त्यति महत्वपूर्ण नरहेको जनाउँदै काम सम्पन्न भएपछि राख्ने बताए । ‘सूचना पाटीमा गरेको खर्च फजुल हो त्यही भएर पनि हामीले फजुल खर्च गर्न चाहेनौँ’, उनले भने, ‘राख्नैपर्ने बाध्यकारी नियम भए काम सम्पन्न भएको छैन राखौँला ।’

साना आयोजनाहरूमा मात्रै नभई ठूला आयोजनामा पनि आयोजनाको सूचना पाटी देखिँदैन । टीकापुर १ को ब्लक नं. ‘ए’ मा करिब नौ करोड ४६ लाखको आयोजना सुरु भएको दुई वर्ष बितिसक्दा पनि निर्माण कम्पनीले सूचना पाटी टाँसेको छैन । नगरपालिकाका इन्जिनियर नवीन ओझाले नगरपालिकाले आयोजनाको लागत अनुमान बनाउँदा दुई लाखभन्दा माथिका आयोजनामा सूचना पाटीका लागि रकम छुट्याउने गरेको बताए ।

‘आयोजनाको बारेमा जानकारी लिन सजिलो होस् भन्ने उद्देश्यले सूचना पाटी लगाउने व्यवस्था गरिएको हो’, उनले भने, ‘सूचना पाटी लगाउन त सबैले लगाउँछन् तर आयोजनाको काम सुरु हुनुभन्दा पहिले लगाउनुपर्ने भए पनि सम्पन्न भएपछि लगाउँछन् ।’ उनले अनुगमनमा जाँदा र सम्झौता गर्दा पनि सूचना पाटीको बारेमा जानकारी गराउँदा पनि यसको कार्यान्वयन फितलो भएको जनाउँदै धेरै आयोजनाको काम हेर्नुपर्ने हुँदा पनि त्यस्मा त्यति ध्यान आफूहरूको पनि जान नसकेको बताए ।

त्यस्तै सुदूरपश्चिम प्रदेश सभासदस्य रणबहादुर रावलले सुन्दा सामान्य लाग्ने तर महत्वपूर्ण कुरामा आफूहरूको ध्यान पुग्न नसकेको बताए । ‘नागरिकहरूले सूचना पाउनु उनीहरूको अधिकार हो । अधिकारबाट कसैलाई वञ्चित गर्नु राम्रो होइन’, उनले भने, ‘हामीले पनि त्यसतर्फ सोच्नै सकेका रहेनछौँ । अब यसलाई कडाइ गर्छौँ । सरकारलाई पनि कडाइ गर्न निर्देशन दिन्छौं ।’ 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया