Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभूकम्पले ध्वस्त विद्यालय भवन नबन्दा जस्ताको टहरामा विद्यार्थी

भूकम्पले ध्वस्त विद्यालय भवन नबन्दा जस्ताको टहरामा विद्यार्थी


दोलखा । सात वर्षअघि गएको विनाशकारी भूकम्पले ध्वस्त पारेको जिल्लाको जिरी नगरपालिकास्थित जिरी माध्यमिक विद्यालयको भवन अझै निर्माण सुरु हुनसकेको छैन । विद्यालयको भवन निर्माण हुन नसक्दा सो विद्यालयका साढे छ सय विद्यार्थी अस्थायी जस्ताको टहरामा बसेर पढ्दै आएका छन् ।

२०७२ सालको भूकम्पले सो विद्यालयका करिब आधा दर्जन संरचना भत्काएको थियो । भूकम्पपछि तत्कालीन अवस्थामा पठनपाठन सुचारू गर्न विद्यालयले करिब एक दर्जन जस्ताको अस्थायी टहरा निर्माण गरेको थियो । सो विद्यालयका सयौँ जना कलिला विद्यार्थी मनभरी त्रास बोकेर अझै पनि तिनै अस्थायी पानी चुहिने टहरामा बसेर पढिरहेका छन् । भूकम्पले विद्यालयको भवन भत्काएको सात वर्ष बितिसकेको छ । स्थानीय सरकारका जनप्रतिनिधि पनि आफ्नो पाँच वर्षको पहिलो कार्यकाल सकेर विदा भइसकेका छन् भने नयाँ जनप्रतिनिधि आएको पनि करिब छ महिना बितिसकेको छ । तर यस विद्यालय निर्माण न त अघिल्लो स्थानीय सरकारका जनप्रतिनिधिले चासो दिए न त हालकाले नै दिएका छन् ।

जिरी नगरपालिकाभित्रकै पुरानो यस विद्यालय जिरी नगरपालिकाको मुख्य कार्यालयदेखि करिब तीन सय मिटरको दूरी नजिक जिरी नगरपालिका वडा नम्बर ६ हाटडामा बजारमा रहेकोे छ । नगरपालिका र बजारनजिकको विद्यालय भए पनि हालसम्म विद्यालय निर्माणमा कुनै निकायले चासो नदेखाएको जिरी नगरपालिकाका स्थानीय ढाल बहादुर जिरेल बताए ।

चीन सरकारको अनुदानमा बन्ने भनिए पनि विद्यालयको भवन निर्माण गर्न कसैले चासो नदिँदा अलपत्र परेको जिरेलले बताए । २०१७ सालमा स्थापना भएको यस विद्यालयमा कक्षा १ देखी १२ सम्म पढाइ हुँदै आएको छ । विद्यालयमा अहिले पनि छ सय ६५ जना विद्यार्थी अध्ययनरत छन् । नयाँ भवन नबन्दा पढाइमा बाधा पुगिरहेको विद्यालय प्रशासनले जनाएको छ । भूकम्पपछि विद्यालयमा अतिरिक्त क्रियाकलाप हुन छाडेको छ भने व्यवस्थित शौचालय नहुँदा छात्रा विद्यार्थीलाई महिनावारीको समयमा विद्यालय जान समस्या हुने गरेको छ । चीन सरकारले दुई वर्षअघि भवन निर्माण गर्ने सम्झौता गरे पनि हालसम्म भवन निर्माणका लागि जगसमेत खन्ने काम सुरु नभएको विद्यालयका प्रधानाध्यापक कुमार जिरेलले जानकारी दिए ।

सम्झौताअनुसार विद्यालयको तर्फबाट गर्ने विद्युत् जडान, खानेपानी योजना निर्माण र निर्माणस्थलमा बाँकी रहेका केही भवन हटाउने काम गरिसके पनि निर्माण कम्पनीले अझै काम सुरु नगरेको प्रअ जिरेलले बताए । उनका अनुसार हिजोआज पानी पर्दा जस्ता बजेर दिनहुँ कक्षा अवरुद्ध हुने गरेको छ । ‘विद्यार्थीका लागि खेल मैदान छैन । वर्षायाममा दिनहुुँ विद्यार्थी विद्यालय आइपुग्दा हिलाम्मे भएर आइपुग्छन्’, उनले भने । जस्ताका टहरामा पठनपाठन गर्दा चिसो मौसममा विद्यार्थीलाई जस्ताको चिसो र गर्मीमा जस्ता तात्ने र हावाहुरी लागेर पठनपाठन प्रभावित हुँदै आएको उनले बताए । उता दातृनिकाय चिनियाँ पक्षले भने कोरोना महामारीको कारण देखाउँदै भवन निर्माण सुरु गर्न नसकेको भनेर पन्छिँदै आएको छ । पछिल्लो पटक सम्पर्क गर्दा एक महिनाभित्र निर्माण सुरु गर्ने आश्वासन दिएको विद्यालयले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया