Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधआन्तरिक पर्यटकको रोजाइमा गाईखुरा महादेव

आन्तरिक पर्यटकको रोजाइमा गाईखुरा महादेव


काठमाडौं । दोलखा जिल्लाको मेलुङ गाउँपालिका वडा नं. २ सुकाठोकरमा प्रसिद्ध श्री गाईखुरा महादेवको मूर्ति हेर्नका लागि आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यो मन्दिर दर्शन गरे आपतविपत, दुर्घटनाबाट जोगाउने, अकालमा मृत्यु हुनबाट बचाउने, रोगव्याधि ठीक हुने, निःसन्तान जोडी सोमबार आएर रुद्री, चण्डी, सवा लाख बत्ती बालेर पूजा आराधाना गर्दा चाहेको सन्तान प्राप्त हुने तथा परिवारमा कुनै संकट नपर्ने जनविश्वास छ ।

गाईखुरा महादेवको मूर्तिमा गाईको पाइला, थुन र खुर बाघको पञ्जा, शिवलिंग प्रस्ट देख्न सकिन्छ । दुई जीवित पहेंला नाग बेला–बेलामा शिलालाई बेरेर बस्छन् । यो शिला कसैले बनाएर राखेको भने हैन, गाईले आफैँ दूध झारिरहेको अवस्थामा गोठालाले देखेर खनेर हेर्दा यो शिला पत्ता लागेको स्थानीयको भनाइ छ । गाईखुरा महादेवको पूजा आराधना गर्न काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाबाट दर्शनार्थीहरु आउने गरेको मेलुङ गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष रामकृष्ण भण्डारीले बताए । कतिपय सदरमुकाम चरीकोटमा बसेर भोलिपल्ट गाईखुरा महादेव मन्दिरमा दर्शन गर्न जाने गरेका छन् । सडक सञ्जाल जोडिएसँगै दैनिक यो मन्दिरमा रुद्री, वेद, सवालाख बत्ती बाल्न र घुम्नका लागि आउने गरेको वडा अध्यक्ष भण्डारीले जानकारी दिए ।

सदरमुकाम चरीकोटदेखि १७ कि.मि. तामाकोशी र तामाकोशीबाट १३ किलोमिटर यात्रा गरेर गाईखुरा मन्दिर पुग्न सकिन्छ । अहिले मन्दिरमा दर्शन गर्ने र घुम्न आउने आन्तरिक धार्मिक पर्यटकको संख्या बढेको छ । विकटता तथा प्रचारप्रसारको कमीका कारण छायाँमा परेको स्वयम् उत्पन्न गाईखुरा महादेव मन्दिरको विकासको लागि मेलुङ गाउँपालिकाले पहल गरिरहेको छ । पालिकाले मन्दिरमा घेराबार गर्नुका साथै विभिन्न पूर्वाधार निमार्णको काम गर्दै आइरहेको गाउँपालिकाका प्रमुख हिरा थोकरले बताए ।

गाईखुरा महादेव मन्दिरलाई धार्मिक पर्यटकीय स्थानकोे रुपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरुको वृद्धि गर्ने उद्देश्यले आवश्यक पूर्वाधार निर्माणका लागि डीपीआर तयार गर्ने थोकरले जानकारी दिए । साथै संघीय सांसद गंगा कार्की, प्रदेश सांसद कुन्दनराज काफ्लेले गाईखुरा महादेवलाई नमूना धार्मिक पर्यटकीय तीर्थस्थल बनाउन आवश्यक पहल गर्ने बताएका छन्् । दोलखा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन संस्थाले धार्मिक पर्यटकलाई आकर्षित गर्नुका साथै पर्यटन प्रवर्द्धनमा थप टेवा पु¥याउने काम गर्दै आएको छ । यस्तै संस्थाले १० वटा होम स्टेको व्यवस्था गर्न समेत माग गरेको छ । मन्दिरमा भक्तजनले चढाएको भेटी दुई लाख ३१ हजार जम्मा भएको संस्थाका कोषाध्यक्ष कृष्ण बहादुर कार्कीले जानकारी दिए ।

कालिञ्चोक भगवती र दोलखा भीमेश्वर मन्दिर दर्शन गरी गाईखुरा महादेव मन्दिर पनि दर्शन गरेर फर्किने धार्मिक पर्यटक हाल बढेका छन् । काठमाडौं कोटेश्वरबाट सिधै गाईखुरा मन्दिरसम्म जाने बसको व्यवस्था छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया