Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशनदी कटान : जग्गा छैन तर कर तिर्दैछन् स्थानीयवासी

नदी कटान : जग्गा छैन तर कर तिर्दैछन् स्थानीयवासी


गलेश्वर (म्याग्दी) । म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिँदै गएको छ । म्याग्दीको बेनी नगरपालिका–२ मा पर्ने यो गाउँको ३६ रोपनी जग्गा म्याग्दी नदी कटानका कारण बगरमा परिणत भएको छ । नदी गाउँ भएको क्षेत्रबाट बगेको छ तर स्थानीयले नदी बगेको जग्गाको कर तिरिरहेका छन् ।

बगरफाँटवासीले विसं २०५७ देखि हुँदै नभएको जग्गाको कर तिर्न बाध्य हुनुपरेको हो । २०५७ सालमा म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको अझैसम्म पनि कर तिर्दै आएको स्थानीय ओमबहादुर थापाले बताए । बगरफाँटस्थित ढलेबगरको बिरौटा भन्ने ठाउँमा अहिले म्याग्दी नदी बगिरहेको छ । नदी बगेको ठाउँभन्दा पारिपट्टि बेनी–६ को डम्मरासम्म फैलिएको विरौटाको अहिले नामोनिसान छैन । जग्गा नभए पनि जग्गाधनी पुर्जा कामयमै रहेकाले हुँदै नभएको जग्गा र आफूले उपभोग गर्नै नमिल्ने ठाउँको समेत कर तिर्न बाध्य हुनुपरेको बेनी–२ का ओमबहादुर थापाले बताए । उनका अनुसार स्थानीयवासी हीराबहादुर घिमिरे, भक्तबहादुर घिमिरे, ओमबहादुर थापा, कृष्णबहादुर थापालगायत आठ व्यक्तिले मालपोत कर तिर्दै आएका छन् ।

पहिला जग्गा (खेत, बारी र घर) भएको ठाउँमा अहिले नदी बगेको र आफ्नो जग्गा भएको ठाउँ बेनी–६ डम्मरामा नदीको बगरमा परिणत भएको स्थानीयवासी थापाको भनाइ छ । ‘हाम्रो जग्गा अहिले डम्मरामा पर्छ, नदीको बगरमा परिणत भएको छ’, उनले भने, ‘जग्गाधनी प्रमाण पुर्जामा हाम्रो नाम छ, वर्षेनि मालपोत कर तिर्दै आएका छौं तर हाम्रै जग्गाको नदीजन्य पदार्थ हामीले प्रयोग गर्न पाउँदैनौं, हामीमाथि अन्याय भएको छ ।’ विसं २०५७ मा सो नदीमा आएको भीषण बाढीले जग्गा बगाएको थियो । यसयताका २१ वर्षसम्म जग्गाधनीले नियमितरूपमा मालपोत कर तिर्दै आएका जिल्ला मालपोत कार्यालय म्याग्दीले जनाएको छ । बगरफाँटगाउँ पहिरा र नदी कटानको जोखिममा पर्दै गएको छ । विसं २०५७ देखि म्याग्दी नदीले कटान गर्न सुरु गरेको बगरफाँटमा रहेका दुई सय घरधुरी वर्षाको समयमा गाउँको शिरानबाट खस्ने पहिरा र गाउँको पुछारमा नदीको कटानबाट वर्षेनि त्रसित हुने गरेका छन् ।

नदीको कटान नियन्त्रणका लागि नदी किनारमा ग्याबियन जाली भर्ने गरिएको भए पनि वर्षामा ढुङ्गा र लेदोसहित उर्लिएर आउने बाढी नियन्त्रण हुन नसकेको स्थानीयवासीले बताएका छन् ।


क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया