फौजी कीरा नियन्त्रण गर्न कृषकलाई विषादी
पाल्पा, जेठ २८
पाल्पाका विभिन्न क्षेत्रमा देखिएको अमेरिकी फौजी कीराको प्रकोप व्यवस्थापनका लागि स्थानीय पालिकाले कृषकलाई विषादी उपलब्ध गराएको छ । बगनासकाली गाउँपालिका मकैको बीउ उत्पादनको मुख्य क्षेत्र मानिन्छ । बीउ पकेट क्षेत्रमा महामारीका रुपमा फौजी कीराको प्रकोप देखिएपछि गाउँपालिकाले कृषकलाई विषादी उपलब्ध गराएको छ । यस क्षेत्रमा मकै बालीमा फौजी कीराका साथै गबारो र सेमीलोपरको प्रकोप पनि देखिएको छ ।
इमामेक्टिन बेन्जोयट ६०० थान, साइप्रमेथ्रिन क्लोरोपाइरिफस ४०० थान, इमामेक्टिन बेन्जोयट पाँच ग्रामको ६०० थान र साइप्रमेथ्रिन क्लोरोपाइरिफस १०० एमएलको ४०० थान कृषकलाई वितरण गरिएको कृषि शाखा प्रमुख राजेश बोहराले जानकारी दिए । आवश्यकतानुसार क्षतिको विवरण हेरी पुनः वितरण गरिने कृषि शाखाले जनाएको छ । प्राविधिकलाई मकै लगाइएको खेतबारी निरीक्षण गराई आवश्यकतानुसार निःशुल्क विषादी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए ।
गाउँपालिका वडा नं. १,२,४,७ मा कीराको प्रकोप बढी देखिएको छ । गाउँपालिकाभित्र करिब दुई हजार रोपनीभन्दा बढी क्षेत्रमा कीराले सताएको छ । बगनासकाली– २ पोखराथोकका कृषक लेखनाथ गैरेले पन्ध्र रोपनी क्षेत्रफलमा लगाइएको मकै बालीमा फौजी कीरा लागेपछि उत्पादन नै घट्ने चिन्तामा छन् । उनले वर्षेनी बीउ उत्पादनका लागि मकै लगाउँदै आएका छन् । यस्तै रामपुर नगरपालिकाका वडा नं २, ५, ६, ७ र १० मा पनि फौजी कीराले मकै बालीमा नोक्सान गरेको छ । कृषकसंँग नियमित सम्पर्कमा रहेको र विषादी प्रयोगका लागि एग्रोभेटसंँग समन्वय गरेर विषादी उपलब्ध गराउने कार्य भइरहेको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिए ।
नगरको वडा नं १० हेक्लाङ क्षेत्रमा कीराको बढी प्रकोप भेटिएको छ । यहाँ करिब एक हजार रोपनी क्षेत्रफलमा फौजी कीराले सताउन थालेपछि कृषक चिन्तित बनेको स्थानीयवासी दामोदर तिमिल्सिनाले बताए । आँख्ला लागेका मकैमा कीराले सताउन थालेको बराहदेवी स्मार्ट कृषि गाउँ कार्यक्रम संयोजक नोलराज भण्डारीले जानकारी दिए । बन्दाबन्दीले समयमा नै विषादी प्रयोग गर्न नपाउँदा मकैको उत्पादन घट्ने कृषकले बताएका छन् ।
यसअघि पनि यहाँ लगाइएको धान बालीमा फौजी कीराले सताएर नोक्सान पारेको थियो । जिल्लाका रामपुर, बगनासकाली, मदनपोखराको दमकडा, रैनादेवी छहरा, पूर्वखोलालगायत स्थानमा फौजी कीराको प्रकोप देखिएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिए । महामारीका रुपमा प्रकोप देखिएका ठाउँमा ज्ञानकेन्द्रका कर्मचारी, प्राविधिकसहितको टोली परिचालन गरी स्थलगत आकस्मिक बाली संरक्षण कार्यक्रम सञ्चालन गरेर कीराको नियन्त्रणबारे कृषकलाई जानकारी दिइएको प्रमुख अर्यालले बताए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया