‘स्वास्थ्यका न्यूनतम मापदण्ड लागू नगर्दा कोभिड–१९ को संक्रमण बढ्यो’
काठमाडौं, साउन २८
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले लकडाउन खुलेसँगै मानिसले स्वास्थ्यका न्यूनतम मापदण्ड लागू नगर्दा कोभिड–१९ को संक्रमण बढेको बताएका छन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१औं वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै सरकारले प्रभावकारी कदम चालेको कारणले अन्य देशभन्दा नेपालमा संक्रमितको संख्या तथा मृत्युदर पनि कम रहेको दाबी गरे ।
‘मन्त्रालयले प्रक्षेपण गरेअनुसार यही साउन २५ गतेसम्म खराब अवस्थामा ९१ र अगामी भदौ २ गतेसम्म मध्यम अवस्थामा ३९ हजार पुग्ने अनुमान गरिएको थियो’, उनले भने, ‘तर सरकारको कोभिड–१९ नियन्त्रण तथा रोकथाममा खेलेको भूमिका र स्वास्थ्यकर्मीको प्रयासका बाबजुद हामीले त्यो अनुुमान गरेको संख्याभन्दा कम नै संक्रमित रहेका छन् ।’ भारतसँग खुला सिमाना भएका कारणले त्यहाँ कोभिड–१९ समाप्त नभएसम्म नेपालमा पनि जोखिम बढिरहने उनले बताए ।
मन्त्री ढकालले पहिले देखिएका स्थानमा पुनः संक्रमितदेखिन थालेको जनाउँदै लक्षण नदेखिएका संक्रमितलाई चिकित्सकको निगरानीमा घरमै रहेको आइसोलेसनमा राखिने जानकारी दिए । ‘अरू देशमा संक्रमित भएको ठाउँमा फेरि भयावह रुपमा संक्रमित देखिएका छैनन् तर यहाँ भने पहिले संक्रमित देखिएका ठाउँमा फेरि पनि संक्रमित देखिन थालेका छन्’, उनले भने, ‘वीरगञ्ज, बाँके, उदयपुर, कैलालीजस्ता ठाउँमा फेरि पनि संक्रमित देखिनथालेका छन् । त्यसैले अझ सतर्कता अपनाउन आवश्यक रहेको छ ।’
उनले सरकारले कोभिड–१९ नियन्त्रण गर्न सक्दो प्रयास गरिरहेको भन्दै जथाभावी आलोचना नगर्न आग्रह गरे । ‘हामीले अहिलेसम्म जे–जे उपाय अपनाएर नियन्त्रण र रोकथाम गर्न सकिन्छ । त्यो सबै गरेका छौं । अहिलेसम्म हामीले गरेको उपाय भएको छैन भने सुझाव गर्नुहोस्’, उनले भने, ‘हामीलाई त्यो सुझाव राम्रो लाग्यो भने रोकथाममा सहयोग पु¥याउनेछ । तर अनावश्यक आलोचना नगर्नुहोस् ।’ कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालको सेवालाई अझ प्रभावकारीरुपमा लैजानुपर्ने सुझाव दिए ।
मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहलगायतले अस्पतालले सेवालाई अझ छिटोछरितो बनाउनुपर्ने बताए । अस्पतालकी निर्देशक डा. सङीता कौशल मिश्राले अस्पतालको सेवा अझ विस्तार गर्न लागेको जानकारी दिइन् । उनले संविधानले नै स्वास्थ्य सेवालाई निःशुल्क प्राप्त गर्ने हक सुनिश्चित गरेको हुनाले गरिब, असहाय, विपन्नलाई आर्थिक अभावका कारण हुनै पनि बिरामी उपचार गर्नबाट वञ्चित हुन नदिने बताइन् ।
विसं २०१६ मा स्थापना भएको ४० शय्याबाट अस्पतालमा अहिले चार सय १५ शय्या रहेका छन् । अस्पतालमा अहिले प्रसूति रोगसम्बन्धी सबै उपचार, आमा सुरक्षा, नवजात शिशु उपचार कार्यक्रम, परिवार नियोजन तथा सुरक्षित गर्भपतन, निःसन्तान तथा बाँझोपन, क्यान्सर तथा युरो गाइनोकोलोजीका सेवा प्रदान गर्दै आइरहेको छ । गत आर्थिक वर्ष ०७६/०७७ मा ११ लाख १९ हजार छ सय २५ जनाको बहिरङ सेवा, २२ हजार चार सय ६१ गर्भवतीलाई सुत्केरी र १० हजार नौ सय ७७ जना शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
पीसीआर मेसिन जडान सोही अवसरमा काठमाडौं महानगरपालिकाले अस्पताललाई उपलब्ध गराएको पीसीआर मेसिन जडान गरिएको छ । महानगरपालिकाका प्रमुख डा. शाक्यले उक्त पीसीआर मेसिनको मंगलबार नै उदघाटन गरे । निर्देशक डा. मिश्राले भर्ना भएका र गर्भवतीलाई कोभिड–१० परीक्षण गर्न सजिलो हुने बताइन् । महानगरपालिकाले मेसिन र अस्पतालले कोभिड–१९ परीक्षण गर्नका लागि किटको व्यस्थापन गर्नेछ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया