Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालआमाबाबुको मृत्यु भएका चार टुहुरालाई सहयोग

आमाबाबुको मृत्यु भएका चार टुहुरालाई सहयोग


सुबास बस्नेत
दोलखा, भदौ ३०
सानैमा अभिभावक गुमाएर बिचल्ली बनेका दोलखाका चार जना टुहुरा बालबालिकालाई सहयोगको रकम जुट्न थालेको छ । एक वर्षअगाडि बैंकको ऋण तिर्न नसकेर बाबुले आत्महत्या गरेपछि आमासँग बस्दै आएका चार बालबालिकाहरु उपचारको क्रममा गत भदौ १७ गते आमाको पनि मृत्यु भएपछि बिचल्नीमा परेका छन् । उनीहरु बिचल्लीमा परेको समाचार प्रकाशित भएपछि विभिन्न क्षेत्रबाट सहयोग जुट्नथालेको छ ।

करिब १० लाख रुपैयाँ ऋण लागेपछि दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर १ कालिञ्चोकका गणेश थामीले एक वर्षअगाडि आत्महत्या गरेका थिए । श्रीमानको मृत्युपछि उनकी श्रीमती अमृति थामीले आफ्ना चार जना छोराछोरी चरीकोट सदरमुकामको एक होटलमा काम गरेर पालनपोषण गर्दै आएकी थिइन् । श्रीमती अमृतिको पनि गएको १७ गते सामुदायिक अस्पताल चरीकोटमा मृत्यु भएपछि पत्रकार गोकर्णप्रसाद भण्डारीले बालबालिकाको सहयोगका लागि सामाजिक सञ्जालमार्फत अपिल गरेका थिए ।

अपिलपछि विभिन्न व्यक्तिहरुले बालबालिकाको सहयोगका लागि रकमहरु पठाइरहेको भण्डारीले बताए । उनीहरुलाई सहयोगका लागि आएको रकम बालबालिका नै नाममा संयुक्त ग्लोबल आईएमई बैंक चरीकोट शाखामा खाता खोलेर जम्मा गरिदिएको उनले बताए । यसैक्रममा थामी परिवारले भूकम्पपीडितको घर निर्माणका लागि लिएको मेगा बैंक चरीकोट शाखाको एक लाख तीन हजार पाँच सय रुपैयाँ नेपाली कांग्रेसका युवा नेता तथा व्यवसायी प्रभुराम श्रेष्ठले भुक्तानी गरिदिएका छन् ।

श्रेष्ठले बालबालिकाको भविष्य हेरेर मेगा बैंकले थामी परिवारको जग्गा लिलाम नगरोस् भनी आमाबाबु गुमाएका बालबालिकालाई हौसला प्रदान गर्न पनि ऋण चुक्ता गरिदिएको बताए । बालबालिकाको पठनपाठनको जिम्मा एसओएस बालग्राम बनेपाले लिएको छ । बालबालिकालाई विभिन्न क्षेत्रका व्यक्तिहरुले समेत सहयोग गरिरहेका छन् ।

अमेरिकामा रहेका नेपाली कांग्रेस दोलखाका नेता सानु शेर्पाको अगुवाइमा पनि एक लाख ५१ हजार एक सय ९० रुपैयाँ उनीहरुलाई पठाइएको छ । त्यसैगरी राप्रपाका केन्द्रीय सदस्य सोभित उप्रेतीले पनि २५ हजार रकम सहयोग गरेका छन्् । बालबालिकालाई दोलखा भीनपा १ सुस्पाक्षमावतीका अन्नपूर्ण न्युरो अस्पतालमा कार्यरत उज्ज्वल शिवाकोटीले १० हजार सहयोग गरेका छन् ।

दोलखाका अन्य विभिन्न व्यक्तिहरुले पनि बालबालिकाको खातामा सहयोग गर्ने क्रम जारी रहेको छ । दोलखामा घर भई परदेशमा रोजगारीको सिलसिलामा गएका नेपालीहरुले पनि ७५ हजार सहयोग गरेका छन् । त्यसैगरी अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने वीरगञ्ज उपमहानगर पालिका वडा नम्बर १८ बिसुवाका अमित रिजालले २५ हजार, दोलखाका समाजसेवी कर्मा शेर्पाले पाँच हजार र अन्य विभिन्न व्यक्तिहरुले दिएको ५७ हजार पाँच सय रुपैयाँ ग्लोबल आईएमई चरीकोट शाखामा जम्मा गरिएको भण्डारीले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया