Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवर्षमा एक अर्बभन्दा बढीको जडीबुटीको कारोबार

वर्षमा एक अर्बभन्दा बढीको जडीबुटीको कारोबार


बझाङ ।

सुदूरपश्चिम प्रदेशले एक वर्षमा अर्ब रुपैयाँभन्दा बढीको जडीबुटी निर्यात गर्नेगरेको एक अध्ययनले देखाएको छ । सुदूरपश्चिमका पाँचवटा नाका हुँदै जडीबुटीको निर्यात हुने गरेको छ । हिमाली क्षेत्रमा पाइने यार्सा, कटुकी, वन लसुन, सेतक चिनी, सतुवालगायतका अन्य जडीबुटी निर्यात भएको अध्ययनले देखाएको छ । सुदूरपश्चिम प्रदेशको निर्यात र सम्भाब्यता अध्यनको लागि कैलाश भू–परिधि संरक्षण तथा विकास कार्यक्रमले सुदूरपश्चिम प्रदेशको व्यापार र सम्भाव्यता अध्ययन गरेको थियो ।

उक्त अध्ययन सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले बिहीबार धनगढीमा एक कार्यक्रमको आयोजना गरी सार्वजानिक गरेको हो । यस प्रदेशको उतरतर्फ तिब्बत पर्छ भने पश्चिम र दक्षिणमा भारत पर्छ । यो प्रदेश कर्णाली प्रदेशपछि जडीबुटीको मुख्य व्यापार हुने क्षेत्रको रूप्मा पनि चिनिन्छ ।

अध्ययनका अनुसार हिमाली भेगमा पाइने जडीबुटीको संरक्षण र संवद्र्धन गर्नसके आर्थिकरूपमा हिमाली भेगका जनता सम्पन्न हुने भएकोले भारतलगायत खाडी मुलुकमा जान पर्दैन । तर अझै पनि यो प्रदेशमा रहेको कुल जनसंख्याको एक तिहाइभन्दा बढी गरिबीको रेखामुनि रहेको छ । हिमाली भेगमा पाइने लोक्ता, अल्लो, रिठा, चिउरालाई लोकल बजारमा उत्पादन र बिक्रीवितरण गर्न तीनवटै सरकारबाट नीति नियम बनाउन आवश्यक रहेको बझाङ साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशकी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले सरकारले ठोस नियम कानुन बनाई छिटोभन्दा छिटो प्रदेशमा भएका लोकल उत्पादनलाई प्रचारप्रसार गर्ने बताइन् । प्रदेशमा रहेका अति महत्वपूर्ण जडीबुटी खेर जानु दुःखद भएको भन्दै उनले यसलाई आगामी दिनमा खेर जान नदिनका लागि कैलाश भू–परिधि संरक्षण तथा विकास कार्यक्रमसँग सहकार्य गर्ने बताइन् ।

कैलाश भू–परिधिको अध्ययनले मन्त्रालयलाई पनि काम गर्न निकै सहयोग पुग्ने मन्त्रालयका सचिव योग्यनाथ दाहालले बताए । सुदूरपश्चिम प्रदेशको जीवनस्तर उकास्नलाई अध्ययन अनुसन्धान हुन पनि जरुरी रहेको भन्दै उनले मन्त्रालयबाट पनि प्रदेशमा भएका स्रोत्र र साधनको सही सदुपयोग गर्ने र उत्पादनमा जोड दिन लागिपरेको जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया